ओपिडीमा बिरामीहरूको भीड सामान्यजस्तै थियो। एउटा कोठामा हामी चार जना चिकित्सक बिरामी हेरिरहेका थियौँ—एक जना सिनियर डाक्टर र तीन जना फरक–फरक वर्षका रेजिडेन्ट डाक्टर।
त्यही क्रममा हातमा हेल्मेट बोकेकी एकजना सानी कदकी महिला भित्र पस्नुभयो। मेरो अगाडि रहेको कुर्सी खाली भएपछि उहाँ त्यहाँ बस्नुभयो। उहाँसँग करिब बाइस–तेइस वर्षजस्तो देखिने एक युवक पनि थिए।
मैले नमस्कार गर्दै बस्न आग्रह गरेँ। उनी बस्न नपाउँदै महिलाले भनिन्, “डाक्टर साब, बिरामी छोरा ल्याएर आएकी हुँ।”
मैले अझै केही सोधेको पनि थिइनँ। त्यसपछि मैले युवकतर्फ हेरेर सोधेँ, “ल, के समस्या छ भाइ?”
तर जवाफ भने आमाले दिन थाल्नुभयो। उहाँले छोराको एक वर्षको उमेरमा जन्डिस भएको, आठ वर्षको हुँदा उपचारका लागि काठमाडौं ल्याएको लगायतका पुराना घटनाहरू सुनाउन थाल्नुभयो। मैले बीचमै रोकेर अहिलेको समस्या के हो भनेर सोधेँ।
छोराले भन्दा बढी आमाले नै उसको पीडा बयान गरिरहनुभएको थियो।
“एक महिना भयो खोकी लागेको, एक हप्तादेखि ज्वरो पनि छ। खोकी लाग्दा छाती दुख्छ,” उहाँले भन्नुभयो।
मैले आवश्यक प्रश्नहरू सोधेँ। पुर्जातिर नजर गएँ- उमेर १९ वर्ष ६ महिना रहेछ।
छाती सुन्न थालेँ। सास फेर्दा ध्यार–ध्यार आवाज आइरहेको थियो। फेरि ध्यान दिएर सुनेँ, उस्तै सुनियो।
मैले युवकलाई अलि नजिक बोलाएँ।
“भाइ, चुरोट खान्छौ?”
उसले एकछिन आमातिर हेर्यो अनि भन्यो, “खाँदिन।”
मैले फेरि भनेँ, “डाक्टरसँग झुट बोल्नु हुँदैन नि। चुरोट खाएको जस्तो सुनिन्छ।”
उसले बिस्तारै स्वीकार गर्यो, “हो डाक्टर, साथीहरूसँग हुँदा दिनमा तीन–चार खिल्ली खान्छु।”
त्यो वाक्य पूरा नहुँदै आमाको अनुहार फेरियो।
“बेटा, के भनिरहेको छौ?” उहाँको स्वर एक्कासि भारी भयो।
त्यसपछि उहाँले मलाई हेर्दै भन्नुभयो, “डाक्टर साब, म त आफ्ना सबै कुरा छोडेर उसकै लागि यहाँ आएको छु।”
मैले युवकलाई सोधेँ, “अहिले के पढ्छौ?”
“ब्याचलर,” उसले छोटो उत्तर दियो।
यता आमाका आँखामा भने आँसु भरिन थालेका थिए।
“बेटा, तिमीले मलाई दुख दियौ,” उहाँ बिस्तारै भन्दै हुनुहुन्थ्यो। “मैले तिमीबाट यस्तो कहिल्यै सोचेकी थिइनँ।”
उहाँले आँसु लुकाउने प्रयास गरिरहनुभएको थियो, तर आँखाको डिलबाट थोपाहरू झरिसकेका थिए।
त्यतिबेलासम्म मैले आवश्यक जाँचहरूको सूची तयार गरेर युवकको हातमा थमाइसकेको थिएँ।
मलाई लाग्यो, आमासँग अझै धेरै पीडा थिए, धेरै कुरा थिए, जुन उहाँ सुनाउन चाहनुहुन्थ्यो। तर ओपिडीमा समय कम थियो।
मैले सम्झाएँ, “आमा, धेरै चिन्ता नगर्नुस्। भाइले अब चुरोट छोड्छन्। पहिले यी जाँच गराएर आउनुस्, अनि रिपोर्ट हेरेर के गर्ने भन्ने निर्णय गरौँला।”
उहाँले टाउको हल्लाउनुभयो।
केहीबेरपछि छोरो अगाडि र हातमा हेल्मेट बोकेकी आमा पछिपछि कोठाबाट बाहिर निस्किनुभयो।
बिरामीसँगको भेटघाट सकियो। तर त्यो दृश्य भने मनमा अड्किरह्यो।
आफ्नो छोरामाथि अटुट विश्वास राखेकी आमा। अनि अनजानमै त्यो विश्वासमा चोट पुर्याएको छोरा।
अझ मनमा एउटा प्रश्न घुमिरह्यो,
हामी मानिसहरू किन आफ्ना गल्तीहरूको जिम्मेवारी लिन यति गाह्रो मान्छौँ? किन हरेक कमजोरीको कारण खोज्दा साथी, परिस्थिति वा अरू कसैलाई दोष दिन सजिलो लाग्छ?
सायद कथा फरक–फरक होलान्, पात्रहरू पनि फरक होलान्। तर आमाको माया, विश्वास र चोट लाग्दा दुख्ने मन भने सधैँ उस्तै हुन्छ।
उपाध्याय किष्ट शिक्षण अस्पताल, ललितपुरमा एमडीजीपी अध्ययनरत छन्