बिहानको ठीक १० बज्छ । विद्यालयको घण्टीको टीटीनी आवाजसँगै सम्पूर्ण विद्यालय परिसर फुरुङ्ग भएर नाच्न थाल्छ । विद्यार्थीहरू पनि प्रार्थना सभामा नयाँ जोस, जाँगर र उत्साहका साथ उभिन्छन् । अचानक एउटा बच्चा निन्याउरो अनुहारका साथ विद्यालय नर्सको कोठामा आएर टक्क उभिन्छ । ऊ केही शान्त स्वभावको, तर भित्रभित्रै टुट्दै गइरहेको जस्तो देखिन्थ्यो । केही पीडा पोख्न खोजिरहेको जस्तो, तर शब्दका आवाजभन्दा पहिला आँखाले उसका सम्पूर्ण कथा पोखिरहेका थिए । मलिन स्वरमा ऊ भन्छ– “म्याम, मलाई कस्तो डर मात्र लाग्छ, केही गर्न पनि मन नै लाग्दैन ।”
म केही क्षण निशब्द भएँ, मौन बसें । मसँग औषधि र मलमपट्टी दुवै थिए, तर त्यो पीडा र नदेखिने घाउका लागि थिएनन् । त्यसैबखत मलाई महसुस भयो– “आजकलका बच्चाहरू रोगी रहेछन्, तर शरीरका नभएर मनका ।”
हो, म एक स्कुल हेल्थ नर्स हुँ । मलाई नेपाली बृहत् शब्दकोशमा “सेवाकी प्रतिमूर्ति” भनेर चिनिन्छ । तर यथार्थको कठोर धरातलमा, करारको क्षणिक छायाँमा विस्तारै आफ्नै अस्तित्व विलाइरहेको भान हुन्छ । हरेक दिन मेरो काम औषधि दिनु, तापक्रम मापन गर्नु, चोटपटकमा पट्टी बाँध्नु मात्र पक्कै पनि होइन– “म त हजारौँ निर्दोष र थाकेका बालमनहरूको मौनताभित्र लुकेको मौन चित्कार पनि सुन्छु ।”
कोही बच्चा “अँया, पेट दुख्यो” भन्दै पेट हातले निचोर्दै आउँछ, तर उसको असली दुखाइ पेटमा नभएर अव्यक्त डरमा हुन्छ । कोही बच्चा टाउको दुखाइले व्याकुल भएर टाउको र निधार सुम्सुम्याउँदै आउँछ, तर त्यो दुखाइ वास्तवमा टाउकोमा नभएर उसको अधुरो अपेक्षा, डर, त्रास र घरको दबाबले थिचिएको भारमा हुन्छ । कोही “रिंगटा लाग्यो, पृथ्वी नै घुमायो” भन्दै आउँछन्, तर त्यो संसार घुमेको भान नभएर अनिदो रात र थाकेको मनको संकेत हुन्छ ।
यी मेरा बच्चाहरूका बाहिर हेर्दा सामान्य लाग्ने अनगिन्ती गुनासाभित्र, वास्तविक जीवनकै आँधी र तुफानका अपत्यारिला वेगहरू लुकेका देखिन्छन् । उनीहरू मौन बस्छन् विनाआवाज, मुस्कुराउँछन् मन्द विनाकारण, तर भित्रभित्रै हरेक क्षण भत्किरहेका हुन्छन् ।
कहिलेकाहीँ मेरो मन–मस्तिष्कमा अझ गहिरो पीडाले घोच्छ– एउटा १०–१२ वर्षकी सानी नानी खाली पेट लिएर विद्यालय आउँछे । उसको आँखामा पढाइभन्दा बढी भोकको छायाँ देख्छु । कहिलेकाहीँ त १०–१५ रुपैयाँ हातमा थमाइदिन्छु, आफूलाई खान राखेको खानाले उसको पेट भर्ने कोसिस पनि गर्छु । यो सानो क्षणमा मलाई लाग्छ, म नर्सको भूमिकाभन्दा केही पर पुगेकी छु– म एउटा यस्तो माया दिन खोजिरहेकी हुन्छु, जुन सायद उसले आफ्नो घरबाट, अभिभावकबाट, सौतेनी आमा वा सौतेनी बाबाबाट पाउन सकेकी छैन । अनि अनायासै मभित्रको आमा बोल्न थाल्छ ।
पुनः अर्को दिनः
एउटी सानी नानीको कोमल नयनतिर गहिरो घाउ लागेको थियो । उनको नाजुक चोटबाट निरन्तर रगत बगिरहेको बेला मसँग भएका सीमित स्रोत र साधनले भ्याएसम्म उपचार दिने कोसिस गरें । घाउ सफा गरेर पट्टी बाँधिदिएँ, दुखाइ कम गर्ने औषधि पनि दिएँ । तर अत्यधिक रक्तस्राव र टाँका नै लगाउनुपर्ने अवस्था सिर्जना भएपछि अभिभावकलाई खबर गरें ।
केही समयमै हस्याङफस्याङ गर्दै उनकी आमा आउनुभयो । मैले हतारिँदै भनेँ, “छिट्टै अस्पताल लैजानुहोस्, घाउ गहिरो छ ।” तर उहाँले आफ्नो शिर निहुराउँदै भन्नुभयो– “सिस्टर, धेरै खर्च लाग्छ होला है ? मसँग त अहिले अस्पताल लैजान पुग्ने पैसा नै छैन...”
यो वाक्य भुइँमा खस्न नपाउँदै मेरो मन एकदमै भारी भयो । आँखासम्म आएका आँसुहरू रोक्न निकै प्रयास गरें, किनकि म त एक स्वास्थ्यकर्मी थिएँ । म नै उहाँको अगाडि यसरी कमजोर बनेँ भने उहाँको आत्मबल झन् घट्थ्यो । मैले तुरुन्त विद्यालयसँग समन्वय गरेर आफूले सकेको सानो सहयोग गर्दै अस्पताल लैजाने व्यवस्था मिलाएँ ।
मलाई यो क्षणले निन्द्राबाट झल्यास्स व्युँझायो– गरिबी केवल अभावमा मात्रै होइन रहेछ, आफ्नै बच्चाको पीडामा पनि केही गर्न नसकिने असहाय अवस्था रहेछ । र त्यो आमाको आँखामा झल्किएको असहायपन र बच्चाले चुपचाप सहिरहेको पीडा आजसम्म पनि मेरो मनबाट हट्न सकेको छैन । यीभन्दा पनि क्रूर क्षण मैले मेरै विद्यालयको बच्चाले पैसाको अभावमा उचित उपचार नपाएर मृत्युवरण गरेको देखेकी छु ।
हो, यस्ता हजारौँ पीडाभित्र धेरै कथाहरू लुकेका छन्– मेरै विद्यालयभित्र, अभिभावकभित्र, विद्यार्थीभित्र र हामीभित्र पनि । साँच्चै नै यस्ता पीडाहरू मलाई असह्य भए, र त्यही दिनबाट एउटा प्रण गरें– अब कुनै पनि बच्चा पैसाको अभावमा मर्न दिनेछैन, उपचार नपाएर छटपटाउन दिनेछैन, कुनै बच्चालाई पीडाको सिकार बन्न दिनेछैन । यही उद्देश्यले विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यालयसँग समन्वय गरी जुनियर रेडक्रस सोसाइटीका संयोजक सर, म विद्यालय नर्स, र रेडक्रसका पदाधिकारी भाइबहिनीहरू मिलेर गाउँ–गाउँ डुलेर सहयोग संकलन गरेर एउटा कोष खडा गर्यौँ, ताकि हाम्रो उद्देश्य पूरा होस् ।
यहाँ सुन्नै नसकिने थुप्रै कथाभित्र एउटा कथा सकिन नपाउँदै फेरि अर्को कथा सुरु हुन्छ । एकदिनको कुरा हो, म आफ्नो दैनिक कार्यमा व्यस्त थिएँ । एउटा विद्यार्थी मेरो टेबुलसम्म आयो र भन्यो– “म्याम, मलाई दुखेको ठाउँमा लगाउने औषधि दिनुस् न ।”
मैले सोधें, “कान्छा, कहाँ दुख्यो ? मलाई देखाऊ त ।”
तर उसले इन्कार गर्दै भन्यो– “ह्या म्याम, देखाउन मिल्दैन । के दिनु न, म आफैं लगाउँछु ।”
उसको आवाजमा धेरै पीडा र डर बसेको देखिन्थ्यो । मैले धेरै सम्झाइ–बुझाइ गरेपछि उसले विस्तारै आफ्नो ढाड देखायो । त्यो देखेपछि म साँच्चै यस्तो दुनियाँमा हराएँ, जहाँ मानवता भन्ने शब्द नै भेटिनँ । उसको ढाडमा फलाम जडिएको लौरोले हानेको कहालीलाग्दो दृष्य थियो ।
“म्याम, मेरो सौतेनी आमाले फलाम भएको लौरोले हान्नुहुन्छ । बाबाले पनि उहाँकै साथ दिनुहुन्छ । मलाई घर जान मन लाग्दैन, बरु स्कुलमै एउटा कोठा दिए यहीँ बस्थें ।”
त्यो क्षण मलाई मेरो नर्सिङ रुममा सजाएका सबै औषधि बेकार लागे । किनकि त्यो पीडा मेरो मलमपट्टी र औषधिले निको पार्न सक्ने थिएन । हो, बच्चाहरू बाहिरबाट हाँसिरहेका देखिन्छन्, तर त्यो हाँसो लुकाउने प्रयास मात्र हो ।
कोही–कोही अभिभावक हामीलाई प्रश्न गर्नुहुन्छ– “मेरो बच्चाले के गल्ती गर्यो ?”
तर सही प्रश्न त यो हो जस्तो लाग्छ– “मेरो बच्चाले कस्तो महसुस गरिरहेको छ ?”
साँच्चै नै मेरो कोठा सानो छ, तर त्यसभित्रका गीला आँसुहरू चुपचाप सुक्दै जान्छन् । यही सानो कोठाभित्र एउटा ठूलो मन छ, जसले हरेक दिन नयाँ–नयाँ कथाहरू सुन्छः कसैको भोक र प्यासको कथा, कसैको परिवारले दिएको पढाइको दबाबको कथा, कसैको आफ्नै भनिएका आफन्तबाट सिकार बनेको कथा, कसैको नदेखिने घाउको कथा त कसैको एक्लोपनको कथा ।
कहिलेकाहीँ त म आफैंलाई पनि प्रश्न गर्छु– के म केवल नर्स हुँ ? कि हजारौँ मौन पीडाहरूको साक्षी ?
हो, यथार्थमा भन्नुपर्दा यहाँ धेरै बच्चाहरू औषधिभन्दा बढी बुझ्ने मन र सुन्ने कान खोजिरहेका हुन्छन् । हामीले उनीहरूलाई राम्रो विद्यालय दियौँ, राम्रो किताब र राम्रो भविष्यको सपना पनि देखायौँ । तर के कहिल्यै हामीले उनीहरूको भावना बुझ्ने समय छुट्यायौँ ?
यहाँ कुनै बच्चा भोकभोकै भौंतारिरहेको छ, कुनै आमाको काख र स्पर्शविना छ, त कुनै बच्चा आफ्नै काका, बाबा वा मामाको सिकार बन्ने हो कि भन्ने डरले बाँचिरहेको छ । यदि अब पनि हामीले उनीहरूको मनोभावना बुझ्ने र सुन्ने कोसिस गरेनौँ भने, एकदिन उनीहरू सफल त अवश्य हुन सक्छन्, तर खुसी हुने ग्यारेन्टी नहुन सक्छ ।
अन्त्यमा, प्रिय सम्पूर्ण अभिभावकज्यूहरूमा दुवै हात जोडेर हार्दिक नमन तथा गहिरो अनुरोध गर्न चाहन्छु– कृपया आफ्ना बच्चाहरूलाई आफ्नो व्यस्त समयबाट केही समय दिनुहोस् । उनीहरूको अंक, पढाइ र सफलताको आधारमा मात्र होइन, कहिलेकाहीँ पढाइको कुरा गर्नुअघि उनीहरूलाई काखमा च्यापेर निधार मुसार्दै सोधिहेर्नुस् त– “नानु/बाबु, तिमी साँच्चै ठीक छौ नि ?”
एउटा विश्वास गर्नुहोस्– बच्चाहरूलाई सधैँ आकर्षक देखिने महँगा सामान, ठूलो र सुविधा सम्पन्न स्कुल, चिल्ला कारभन्दा बढी आवश्यक हुन्छ घर फर्किएपछि सुन्न पाइने मिठो बोली, न्यानो अँगालो, गल्ती हुँदा पिट्ने फलामको लठ्ठी होइन, बुझ्ने मन र पराजयमा पनि साथ नछोड्ने विश्वास ।
सायद यी तीता शब्दहरू म यति गहिराइमा डुबेर त्यसैले कोरिरहेकी छु, कि म स्वयं १४ वर्षको त्यो कहालीलाग्दो उमेरसम्म बाबा–मामुको न्यानो स्पर्श र मायाबाट टाढा भएर हुर्किनुको पीडा महसुस गरेकी छु । एउटा बालमन कति पटक चुँडियो, त्यो भुलेकी छैन मैले । सबैको सहारा, माया र स्नेहमा हुर्किने उमेरमा यिनै कुराको अभावमा तड्पिँदा कति भित्रभित्रै रोइरहेको हुन्छ भन्ने मैले जीवनमै बुझेकी छु ।
त्यसैले जब कुनै बच्चा मसँग “म्याम, मलाई घर जान मन लाग्दैन” भन्छ नि, म त्यो बेला नर्स भएर सुन्दिनँ, म त्यो बेलाकी सानी रचना भएर महसुस गर्छु, जुनबेला मेरो आफ्नै बाल्यकालको घाउ कताकता फेरि चर्किन थाल्छ ।
त्यसैले म फेरि त्यही बालमन चुँडिएकी रचना बनेर आग्रह गर्छुः– बच्चाहरूलाई ठूलो मान्छे बनाउने सपना सजाउनुअघि उनीहरूलाई भित्रैदेखि नटुट्ने गरी माया र विश्वास गर्नुहोस् । किनकि एउटा बालमन चुपचाप टुट्दा भविष्यको एउटा उज्यालो सम्भावना पनि विस्तारै निभ्दै जान्छ ।