कान्ति बाल अस्पताल नेपालकै प्रमुख तृतीय तहको बालरोग रेफरल अस्पताल हो, जहाँ आपत्कालीन तथा ओपिडी सेवामा दैनिक अत्यधिक बिरामीको चाप रहने गर्दछ। बाल स्वास्थ्य सेवामा छिटो, विश्वसनीय तथा गुणस्तरीय प्रयोगशाला परीक्षण अत्यन्त आवश्यक हुने भएकाले अस्पतालमा पहिलो पटक 'कस्ट पर रिपोर्टेबल रिजल्ट (सीपीआरआर)' आधारित आधुनिक प्रयोगशाला प्रणाली सफलतापूर्वक सञ्चालन गरिएको छ।
विगतको प्रयोगशालामा देखिएका प्रमुख चुनौतीहरू
अस्पतालको प्रयोगशालामा केही समयदेखि विभिन्न चुनौतीहरू देखिएका थिए। परीक्षण प्रतिवेदनहरू अपेक्षित नतिजासँग नमिल्दा रिपोर्टहरूको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको थियो। कतिपय अवस्थामा रिपोर्टका कारण शल्यक्रियात्मक प्रक्रिया समेत स्थगित गर्नुपरेको थियो।
त्यसैगरी, रिएजेन्ट आपूर्तिमा हुने ढिलाइले नियमित तथा आकस्मिक परीक्षण सेवा प्रभावित हुने गरेको थियो। नवजात शिशु (नियोनेट्स) का नमुनाको मात्रा पर्याप्त नहुँदा केही परीक्षणहरूको रिपोर्ट तयार गर्न कठिनाइ हुने गरेको थियो। केही परीक्षणहरू आपत्कालीन सेवामा उपलब्ध नहुँदा तथा सार्वजनिक बिदाका दिन ओपिडी बन्द हुने भएकाले बिरामीका नमुनाहरू निजी प्रयोगशालामा पठाउनुपर्ने अवस्था सिर्जना हुन्थ्यो, जसले बिरामीको आर्थिक भार तथा असहजता बढाएको थियो।
महालेखापरीक्षणका क्रममा खरिद गरिएका रिएजेन्टको मात्रा र गरिएको परीक्षण संख्याबीच असंगति भेटिएकाले अनुपालन तथा पारदर्शितासम्बन्धी प्रश्नहरू बारम्बार उठ्ने गरेका थिए।
अस्पताल प्रशासनद्वारा निर्धारण गरिएका मापदण्ड
नयाँ प्रणाली कार्यान्वयनका लागि अस्पताल प्रशासनले सीपीआरआर आधारित प्रणाली, उच्च क्षमता भएका यूएसएफडीए स्वीकृत उपकरण तथा रिएजेन्ट, सम्झौता अवधिभर मर्मतसम्भार र स्पेयर पार्ट्स आपूर्तिको जिम्मेवारी विक्रेताले नै वहन गर्ने लगायतका स्पष्ट प्राविधिक मापदण्ड निर्धारण गरेको थियो। उक्त मापदण्ड पब्लिक प्रोक्युरमेन्ट मोनिटरिङ अफिस (पीपीएमओ) बाट समेत स्वीकृत गरिएको थियो।
कार्यान्वयनका चुनौतीहरू
नेपालका सरकारी प्रयोगशालाहरूमा पहिलो पटक सीपीआरआर आधारित प्रणाली लागू गरिएकाले प्रारम्भिक अन्योल, परिवर्तनप्रतिको प्रतिरोध तथा विद्यमान उपकरण प्रतिस्थापनसम्बन्धी आपूर्तिकर्ताहरूबाट आएका आपत्तिजस्ता चुनौतीहरू सामना गर्नुपरेको थियो।
तर अस्पताल नेतृत्व, प्रशासन तथा प्रयोगशाला टोलीको समन्वय र प्रतिबद्धताका कारण प्रणाली २०८२ साल फागुन १ गतेदेखि सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ।
सञ्चालनपछिका उपलब्धिहरू
नयाँ प्रणालीमार्फत अत्याधुनिक एनालाइजरहरू जडान गरिएको छ, जसले परीक्षणको शुद्धता, विश्वसनीयता तथा सेवा क्षमतामा उल्लेखनीय सुधार ल्याएको छ।
नेपाल सरकारको गुणस्तर मापन मापदण्डअनुसार यूएसएफडीए स्वीकृत हेमाटोलोजी एनालाइजर (रेटिकुलोसाइट परीक्षणसहित), एउटै एनालाइजरबाट बायोकेमिस्ट्री तथा इम्युनोलोजी परीक्षण गर्न सकिने एनालाइजर, ८०–८० क्षमताको ब्लड कल्चर मेसिन तथा यूएसएफडीए स्वीकृत रिएजेन्टहरू टेन्डर प्रक्रिया पूरा गरी जडान गरिएको छ।
यसमा न्यूनतम नमुना मात्रा आवश्यक पर्ने तथा ३० मिनेटभित्र गुणस्तरीय रिपोर्ट उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसबाट बिरामीले सोही दिन नमुना संकलनपछि रिपोर्ट प्राप्त गरी उपचार प्रक्रिया छिटो सुरु गर्न सहज भएको छ।
बिरामीको बिलिङ तथा भेरिफाइ गरिएको परीक्षणका आधारमा मात्र भुक्तानी हुने भएकाले अडिटसम्बन्धी समस्या समाधान भई पारदर्शिता समेत सुनिश्चित भएको छ।
के हो 'कस्ट पर रिपोर्टेबल रिजल्ट (सीपीआरआर)' प्रणाली?
“कस्ट पर रिपोर्टेबल रिजल्ट (सीपीआरआर)” प्रणाली अन्तर्गत अस्पतालले मेसिन खरिद नगरी प्रति परीक्षणका आधारमा सेवा लिन्छ। विक्रेताले सम्पूर्ण मेसिन, रिएजेन्ट, मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउँछ भने अस्पतालले गरिएको परीक्षणको आधारमा मात्र भुक्तानी गर्छ।
साथै एएमसी (एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट) अर्थात् वार्षिक मर्मतसम्भार सम्झौता तथा सीएमसी (कम्प्रिहेन्सिभ मेन्टेनेन्स कन्ट्र्याक्ट) अर्थात् समग्र मर्मतसम्भार सम्झौता अलग्गै गर्नुपर्ने आवश्यकता पर्दैन।
यसले प्रारम्भिक लागत कम गर्नुका साथै गुणस्तरीय, पारदर्शी तथा निरन्तर सेवा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
(डा. सुबेदी कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन्)