ह्याम्बर्ग, जर्मनी- जर्मनीमा रहेका नेपाली बालबालिका तथा अभिभावकहरूका लागि दन्त स्वास्थ्यसम्बन्धी सचेतनामूलक दन्त स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। नेपालिज थिंक ट्यांक इन जर्मनी र नेपाली पाठशालाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दन्त स्वास्थ्य, मुखको सरसफाइ तथा दाँतमा किरा लाग्ने समस्याबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा दन्त चिकित्सक डा. झलक पौडेलले बालबालिकालाई दाँत कसरी सही तरिकाले माझ्ने, दाँतमा किरा किन लाग्छ, फ्लोराइडको महत्व, स्वस्थ खानपान तथा नियमित दन्त परीक्षणको आवश्यकताबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाउँदै प्रश्नोत्तर तथा दन्त स्वास्थ्यसम्बन्धी क्वीजमा भाग लिएका थिए।
त्यसैगरी, नेपालिज थिंक ट्यांक इन जर्मनीका प्रतिनिधि सुमन खोजुले संस्थाको परिचय दिँदै जर्मनीमा रहेका नेपाली समुदायलाई शिक्षा, संस्कृति, ज्ञान आदानप्रदान तथा सामुदायिक सहयोगमार्फत जोड्ने उद्देश्यका साथ संस्था सञ्चालन भइरहेको जानकारी दिए। उनले संस्थाले नेपाली समुदायलाई उपयोगी सूचना, परामर्श तथा विभिन्न सामाजिक र शैक्षिक गतिविधिमार्फत सहयोग गर्दै आएको बताए। साथै आगामी दिनहरूमा नेपाललाई प्रत्यक्ष रूपमा टेवा पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने, विदेशमा बसेर नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा समेत संस्था सक्रिय रूपमा अगाडि बढिरहेको जानकारी दिए।
कार्यक्रममा सागर राजभण्डारीले आगामी दिनहरूमा पनि नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुग्ने तथा समुदायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उनले स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताए।
कार्यक्रम नेपाली पाठशालाको सहकार्यमा सम्पन्न भएको थियो। नेपाली पाठशालाले सन् २०१९ देखि जर्मनीमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति तथा पहिचानसँग जोड्ने उद्देश्यले नियमित कक्षा सञ्चालन गर्दै आएको छ। बिन्दा कार्की र सुनिता राईको अगुवाइमा पाठशालाका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
कार्यक्रममा सहभागी बालबालिकालाई निःशुल्क टुथब्रस तथा टुथपेस्ट वितरण गरिएको थियो। साथै दाँतमा जम्मा भएको फोहोर देखाउन विशेष रंगीन ट्याब्लेटको प्रयोग गरी व्यवहारिक अभ्याससमेत गराइएको थियो। आयोजकका अनुसार सानै उमेरदेखि दन्त स्वास्थ्यप्रति सचेतना बढाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागी बालबालिकालाई दिनमा दुई पटक दाँत माझ्ने, धेरै चिनीजन्य खानेकुरा कम खाने तथा नियमित रूपमा दन्त चिकित्सकसँग जाँच गराउने सन्देश दिइएको थियो।