हरेक वर्ष मे ३० लाई विश्वभरि नै अन्तर्राष्ट्रिय मल्टिपल स्क्लेरोसिस दिवसका रूपमा मनाइन्छ। हाल विश्वमा २९ लाख मानिस यस रोगबाट ग्रसित छन्। प्रत्येक दिन झन्डै ३ हजारको हाराहारीमा यस रोगका नयाँ बिरामीहरू पत्ता लाग्छन्। रोगभार दरको कुरा गर्ने हो भने प्रति १ लाख जनसंख्यामा झन्डै ३६ नयाँ बिरामी थपिन्छन्। उत्तरी अमेरिका र पश्चिमी युरोपेली मुलुकहरूमा यस रोगका बिरामीहरू सबैभन्दा बढी रहेका छन्। नेपालमा हामीसँग स्पष्ट तथ्याङ्क नभए पनि अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा हरेक महिना दुई–तीन जना नयाँ बिरामी पत्ता लाग्छन्।
मल्टिपल स्क्लेरोसिस कस्तो रोग हो?
हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले हामीलाई विभिन्न संक्रमणबाट बचाउँछ। तर यस रोगमा प्रतिरक्षा प्रणालीले आफ्नै स्नायु प्रणाली, विशेषगरी मस्तिष्क र मेरुदण्डलाई आक्रमण गर्छ। मस्तिष्क र स्पाइनल कर्ड दुवैले शरीरमा सूचनाहरू आदानप्रदान गर्छन्। स्नायु भनेको हामीले देखेको बिजुलीको तारजस्तै हो। तारहरूमा करेन्ट नलागोस् र करेन्टको प्रवाह राम्रो होस् भनेर बाहिरपट्टि प्लास्टिकको खोल लगाइएको हुन्छ। त्यसैगरी स्नायुहरूमा पनि सुरक्षात्मक कवच हुन्छ। त्यो खोललाई माइलिन भनिन्छ। यही माइलिनका कारण शरीरका सूचनाहरू छिटो र प्रभावकारी रूपमा प्रवाह हुन्छन्। यस रोग लागेपछि यही इन्सुलेसन बिग्रन्छ, जसका कारण विद्युतीय संकेतहरू एक ठाउँबाट अर्को ठाउँमा राम्रोसँग प्रवाह हुन सक्दैनन्। ‘मल्टिपल’ भन्नाले धेरै र ‘स्क्लेरोसिस’ भन्नाले खत वा दाग भन्ने बुझिन्छ। यो रोगमा मस्तिष्क र स्पाइनल कर्डका धेरै ठाउँमा खत तथा दागहरू भेटिन्छन्।
लक्षणहरू
स्नायु प्रणालीका विभिन्न भागमा परेको प्रभावअनुसार फरक–फरक लक्षणहरू देखिन्छन्। दृष्टिसम्बन्धी असर भएमा आँखा धमिलो हुने, रङ पहिचान गर्न कठिनाइ हुने तथा आँखा नदेखिने जस्ता लक्षणहरू देखिन्छन्।
हातखुट्टा वा शरीरको कुनै भागमा एक्कासि लाटोपन, झमझमाहट वा पोलेजस्तो महसुस हुन्छ।
अत्यधिक थकान यस रोगको सबैभन्दा चुनौतीपूर्ण लक्षण हो। कुनै पनि काम गर्न मन नलाग्ने गरी थकान महसुस हुन्छ।
टाउको निहुराउँदा मेरुदण्डको बाटो हुँदै हातखुट्टासम्म विद्युतीय करेन्टजस्तै झड्का महसुस हुन्छ।
ज्वरो आएको बेला वा तातो घाममा बस्दा शरीरको तापक्रम बढेर पुराना लक्षणहरू अचानक देखिन सक्छन्।
चक्कर लाग्ने तथा हिँडडुल गर्दा शरीरको सन्तुलन गुम्न सक्छ।
रोगका प्रकार
यो रोग तीन प्रकारको हुन्छ।
आरआरएमएस (RRMS)
यसमा रोगका लक्षणहरू आउने र केही समयपछि हराउने हुन्छन्।
एसपीएमएस (SPMS)
यसमा रोगका लक्षणहरू बिस्तारै बढ्दै जान्छन्।
पीपीएमएस (PPMS)
यसमा सुरुदेखि नै रोगका लक्षणहरू बढ्दै जान्छन् र बीचमा सुधार हुँदैन। समयमा नै उपचार गरिएन भने स्नायुहरू सुक्दै जाने, हिँडडुल गर्न कठिनाइ हुने तथा शारीरिक अशक्तता उत्पन्न हुन सक्छ।
उपचार कसरी गर्ने?
रोगको व्यवस्थापन समयमा नै गर्न सके बिरामीमा राम्रो सुधार देखिन्छ। रोग समयमा नै पहिचान हुन नसक्दा हड्डीको समस्या वा मानसिक समस्या पो हो कि भनेर यताउता गर्दा उपचारमा ढिलाइ हुन सक्छ। भर्खरै देखिएको एमएसमा स्टेरोइड तथा प्लाज्मा एक्सचेन्ज प्रभावकारी हुन सक्छन्।
डिजिज मोडिफाइङ थेरापी (Disease-Modifying Therapy) ले रोगको प्रगतिको गतिलाई कम गर्न सक्छ।
नेपालमा औषधिको प्रयोगले पनि उपचारलाई प्रभावकारी र सफल बनाएको छ। यसमा अन्नपूर्ण न्युरो अस्पतालका डा. अविनाश चन्द्र र उहाँको टोलीको महत्वपूर्ण भूमिका छ। मित्रराष्ट्र चीनमा अकुपन्चर चिकित्सा, कपिङ थेरापी, हर्बल औषधिहरूसहितको एकीकृत उपचार विधि अगाडि सारिएको छ। आधुनिक तथा परम्परागत चिकित्साको संयुक्त प्रयोगले उपचारमा सकारात्मक परिवर्तन देखाएको छ।
एमएस रोगमा एकीकृत चिकित्सा प्रणाली किन प्रभावकारी?
अन्नपूर्ण न्युरो अस्पतालले एमएस रोगमा आधुनिक चिकित्सा प्रणालीसँगै प्रभावकारी उपचारका लागि अकुपन्चर, कपिङ र सिरोधारा जस्ता उपचार विधिहरूलाई पनि अगाडि बढाएको छ। धेरै बिरामीहरूमा निद्राको समस्या, दुखाइ, थकान, पिसाबसम्बन्धी समस्या, एन्जाइटी तथा दृष्टिसम्बन्धी समस्याका कारण दैनिक क्रियाकलाप प्रभावित भएका हुन्छन्। अकुपन्चर र सिरोधारा उपचार विधिले यी लक्षणहरू कम गर्नका साथै बिरामीको आत्मविश्वास बलियो बनाउन मद्दत गर्छ।
एमएसमा अकुपन्चरले कसरी काम गर्छ?
न्युरोइम्युन मोडुलेसनमा अकुपन्चरको महत्वपूर्ण भूमिका छ। विभिन्न विश्वप्रसिद्ध जर्नलहरूमा प्रकाशित अनुसन्धानात्मक लेखहरूले शरीरमा हुने दुखाइ कम गर्न अकुपन्चर प्रभावकारी भएको देखाएका छन्। यसले एन्टी–इन्फ्लेमेटरी संयन्त्र तथा परिधीय न्युरोमोडुलेसनमार्फत काम गरी असामान्य स्नायु क्रियाकलापलाई सामान्य बनाउन मद्दत गर्छ। कुनै कारणवश क्षति पुगेका स्नायुलाई पुनः सक्रिय बनाउन तथा न्युरोप्लास्टिसिटीमा अकुपन्चरको विशेष भूमिका पाइन्छ।
मस्तिष्कलाई सडक सञ्जालसँग तुलना गर्न सकिन्छ। यदि एउटा सडक बिग्रियो भने मस्तिष्कले संकेतहरू प्रवाह गर्न नयाँ मार्ग निर्माण वा पुनर्निर्माण गर्न सक्ने क्षमतालाई न्युरोप्लास्टिसिटी भनिन्छ। विश्वप्रसिद्ध फ्रन्टियर्स जर्नलमा सन् २०२४ र २०२५ मा प्रकाशित अनुसन्धानात्मक लेखहरूले मस्तिष्कको नेटवर्क सुदृढ बनाउन अकुपन्चर प्रभावकारी भएको देखाएका छन्।
हामी कहाँ छौं? अब के गर्ने?
एमएस रोग जीवनको अन्त्य होइन। रोगको सही समयमा पहिचान गरी एकीकृत चिकित्सा विधिबाट उपचार गर्न सकेमा एमएस भएका बिरामीहरूले पनि सामान्य जीवन बिताउन सक्छन्। त्यसैले देशभरिबाट एमएस बिरामीहरूको तथ्याङ्क सङ्कलन तथा बिरामी दर्ता (रजिस्ट्रेसन) गर्न जरुरी छ। नेपालमा सन् २०२० मै एमएस सोसाइटीको स्थापना भएको छ। यस सोसाइटीमा हालसम्म ८५ जना बिरामी आबद्ध भइसकेका छन्। देशभरका बिरामीहरूलाई एमएस सोसाइटीसँग आबद्ध गर्दै रोग परिवर्तनकारी औषधिहरूको सहज र सुलभ पहुँच सुनिश्चित गर्न तथा एकीकृत चिकित्सा अवधारणाअनुसार उपचार गर्न सकेमा एमएस बिरामीहरूमा आशाको किरण छर्न सकिन्छ।