केही दिनको बाजुरा बसाइँले मलाई लेख्न बाध्य बनायो। यो लेख केवल अनुभवको बयान होइन- यो एउटा पीडा, एउटा प्रश्न र एउटा अपूर्ण प्रणालीको दसी हो। स्वास्थ्य संरचना, स्वास्थ्यकर्मीको क्षमता, स्रोत–साधन र हाम्रो अभ्यास, यी सबैलाई नजिकबाट हेर्दा महसुस भयो, समस्या केवल अभावको होइन, प्राथमिकताको पनि हो।
सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैनन्, यो सत्य हो। तर जे हाम्रो नियन्त्रणभित्र छ, त्यसमा पनि हामी चुकिरहेका छौँ कि भन्ने प्रश्नले मन छेडिरहन्छ।
बुवाको स्वर्गवास भएकाले म अझै शोकमै छु । स्वास्थ्यमा ज्ञान भएकाले मलाई थाहा छ- उहाँलाई हृदयघात भएको थियो। तर त्यो ज्ञानले सान्त्वना दिँदैन, बरु झनै प्रश्नहरू जन्माउँछ। जब उहाँलाई छाती दुख्यो, सास फेर्न गाह्रो भयो, उहाँलाई जिल्ला अस्पताल बाजुरा लगियो। त्यहाँ भनियो- “सामान्य दम हो, एक हप्तामा फर्केर आउनु।”
त्यो क्षणमा म छोरी थिएँ, चिकित्सक होइन। । सायद स्वीकारेँ- “समय नै यति थियो होला।”
तर आज सोच्छु- यदि त्यो ‘दम’ होइन, ‘हृदयघात’ भनेर चिन्न सकिएको भए?
मेरो घर नजिकै खुलेको बर्थिङ सेन्टर, बाहिरबाट हेर्दा विकासको प्रतीक जस्तो लाग्छ। गाउँलेहरू खुसी छन्- “हाम्रो गाउँमै सेवा आयो” भनेर। तर जब भित्र पसेँ, त्यो संरचना मात्र थियो, प्रणाली थिएन। अस्तव्यस्त, अव्यवस्थित।
कार्यलय प्रमुखको जवाफ अझ पीडादायी थियो- “हामीले नगरपालिकालाई धेरै पटक भन्यौँ, तर कसैले सुनेन।”
स्वास्थ्य शाखा प्रमुख फोन उठाउँदैनन्। नगरप्रमुखले आश्वासन दिनुहुन्छ- “सामान आउँदैछ।”
त्यही बीचमा एक सुत्केरीले बच्चा जन्माइन्। नवजात शिशुले सास लिन सकेन। अक्सिजन चाहियो तर अक्सिजन दिने उपकरण नै थिएन।
त्यो क्षणमा “संरचना छ” भन्ने कुरा निरर्थक भयो। त्यसपछि फेरि उही प्रक्रिया- रेफर। प्रश्न- के हरेक आपतकालीन अवस्थामा ‘रेफर’ नै समाधान हो?
सडक दुर्घटनामा परेका साथीको घटनाले झन् गम्भीर प्रश्न उठायो। प्राथमिक उपचार कस्तो भयो? रेफर गर्दा अवस्था कस्तो थियो? कहाँ पठाइयो? के त्यहाँ सिटी स्क्यान, एमआरआई छन्?
टाउकोको चोट बाहिर सामान्य देखिन सक्छ, तर भित्रको क्षति यिनै परीक्षणले मात्र देखाउँछ। तर न जिल्ला अस्पताल बाजुरामा यी सुविधा छन्, न दुर्गमको “संघीय अस्पताल” भनिने डडेल्धुरामा।
त्यसपछि मनमा एउटै प्रश्न घुमिरह्यो, 'हामी वास्तवमै स्वास्थ्य प्रणाली बनाउँदैछौँ, कि केवल भवनहरू?'
मैले साढे तीन वर्ष जिल्ला अस्पताल बाजुरामा काम गरेको छु। हरेक स्वास्थ्य संस्था पुगेको छु।
रेफर भएका सुत्केरीसँग बयालपाटा अस्पतालसम्म यात्रा गरेको छु। त्यसैले यो लेख कल्पना होइन- यो प्रत्यक्ष अनुभव हो।
यहाँ समस्या केवल स्रोतको कमी होइन, प्रणालीको राजनीति पनि हो। एम्बुलेन्स बोलाउन राजनीति। हेलिकप्टर पठाउन पहलको प्रतिस्पर्धा। कर्मचारी नियुक्तिमा हस्तक्षेप। जिम्मेवारी बाँडफाँटमा प्रभाव। सुधार गर्न खोज्दा अवरोध।
जिल्ला अस्पताल बाजुरा-८ वर्षअघि प्रादेशिक अस्पताल बन्यो। भवन राम्रो बन्यो, नाम ठूलो भयो। तर सेवा? विशेषज्ञ? उपकरण? अपेक्षाअनुसार होइन, उल्टै खस्किएको अनुभूति।
वडाका बर्थिङ सेन्टर- स्थानीय सरकारको जिम्मामा। भवन छन्, तर व्यवस्थापन छैन। सेवा निरन्तर छैन।
डडेल्धुराको संघीय अस्पताल, राजनीतिक रूपमा महत्वपूर्ण ठाउँ। अस्पताल त छ, तर के त्यो ‘अस्पताल’ जस्तो छ? प्रश्न यहाँ पनि उस्तै छ, संरचना कि सेवा?
गाउँमा योजना धेरै छन्- बाटो, पानी, मन्दिर, कृषि। तर स्वास्थ्य? नगर अस्पताल प्राथमिकतामा किन पर्दैन?
साँच्चै भन्नुपर्दा, सानो प्रयासले कसैको ज्यान बच्न सक्छ। तर जब समस्या नै पहिचान हुँदैन, समाधान कसरी सम्भव हुन्छ?
अर्कोतर्फ, म अहिले काम गरिरहेको नेपालको एक मात्र ट्रमा अस्पतालमा पनि अवस्था धेरै फरक छैन। दैनिक १५०–२०० बिरामी। तर स्टाफ कमी। मेसिन बिग्रिएका। शय्या अभाव। सघन उपचार कक्ष र उच्च निर्भरता कक्षको अभाव।
एमआरआई छैन। अन्त्यमा गाली खाने- स्वास्थ्यकर्मी। त्यसपछि मनमा अर्को प्रश्न उठ्छ, 'हामी प्रणालीको कमजोरीको भार बोक्ने मान्छे मात्र हौँ?' तर गुनासो होइन। यो एउटा आह्वान पनि हो। अब के गर्ने?
पहिलो- सबै तहका स्वास्थ्य संस्थाका समस्या र गुनासा व्यवस्थित रूपमा संकलन गर्नुपर्छ।
दोस्रो- विशेषज्ञ, स्वास्थ्यकर्मी, नीति निर्माता र सामाजिक अगुवालाई एउटै टेबलमा ल्याएर समाधान खोज्नुपर्छ।
तेस्रो- प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्नुपर्छ, कागजमा होइन, व्यवहारमा।
यदि यति गर्न सकियो भने सुधार सम्भव छ। नत्र, हामी हाजिर चेक, अनुगमन र बैठकमै सीमित रहनेछौँ।
अन्ततः, स्वास्थ्य सेवा कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। र अधिकार कहिल्यै “पछि” राखिने विषय हुँदैन।
बाजुराको त्यो बसाइँले मलाई एउटा कुरा सिकायो, समस्या देख्नु सजिलो छ, महसुस गर्नु गाह्रो। तर जब महसुस हुन्छ, तब चुप लाग्न सकिँदैन।
अब प्रश्न तपाईं, हामी र सबैसँग छ- हामी अझै संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?