भरतपुर – नेपाल मेडिकल एसोसिएसन (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई आज भरतपुरमा आयोजित विशेष समारोहबीच पदभार हस्तान्तरण गरिएको छ। अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन–२०२६) को दोस्रो दिन आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।
वैशाखमा सम्पन्न निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल तथा सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले एनएमएले नेपालको जनस्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले चिकित्सक र बिरामी दुवैका लागि सहज हुने नीतिगत वातावरण तीनै तहका सरकारले सुनिश्चित गर्नुपर्ने बताए।
नवनिर्वाचित अध्यक्ष डा. रिजालले उपचार सेवामा लगाइएको तीन प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गरे। उक्त करले बिरामीमाथि अतिरिक्त आर्थिक भार थप्ने भन्दै उनले चिकित्सकीय पेसालाई विशिष्टीकृत पेसाका रूपमा मान्यता दिई सोहीअनुसार सेवा–सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे। चिकित्सकको श्रमको उचित मूल्यांकन हुन नसकेको भन्दै उनले बजेटमा भएका व्यवस्थाहरू पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे।
निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकार र चिकित्सकबीच दूरी बढ्दै गएको टिप्पणी गर्दै चिकित्सकका समस्या र जनस्वास्थ्यका मुद्दाप्रति सरकार पर्याप्त संवेदनशील नभएको बताए। उनले चिकित्सकहरूले अत्यधिक कार्यभार व्यहोर्नुपरेको र छात्रवृत्ति करारका चिकित्सकहरू अन्यायपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे।
-1780225013.jpeg)
समारोहमा चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीलाई सम्मान गरिएको थियो। साथै, वरिष्ठ चिकित्सकद्वय डा. मदनकुमार पिया र डा. ऋषिकुमार अधिकारीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।
त्यसैगरी ‘जेएनएमए–खड्गनन्दा मेडिकल रिसर्च अवार्ड’ डा. मेघा कोइरालालाई तथा ‘एनएमए सज्जनश्याम ट्रस्ट अवार्ड’ डा. उमाकान्त तिवारी र डा. प्रणाम जैरूलाई प्रदान गरिएको छ।
समारोहमा बागमती प्रदेश सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञ, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तथा एनएमएका पूर्वअध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
-1780225025.jpeg)