काठमाडौं— नेपाल चिकित्सक संघले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति आपत्ति जनाएको छ।
संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बिरामी उपचारका लागि अस्पताल पुगेकै आधारमा अतिरिक्त कर लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ। यस्तो निर्णयले बिरामी तथा उनका परिवारमाथि थप आर्थिक भार पर्ने र स्वास्थ्य सेवा झन् महँगो हुने संघको भनाइ छ।
संघका महासचिव डा. सन्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा विगतमा नेपाल चिकित्सक संघको पहलमा यस्तै प्रकृतिको कर फिर्ता गरिएको स्मरण गराउँदै यस वर्ष पुनः त्यही व्यवस्था समावेश गरिनु खेदजनक रहेको उल्लेख गरिएको छ।
संघले उक्त निर्णयका कारण बिरामीहरू थप आर्थिक बोझमा पर्ने र स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने भन्दै तत्काल निर्णय खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ।
सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा निजी अस्पतालमा उपचार गराउने सेवाग्राहीबाट ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत ३ प्रतिशत रकम असुल गर्ने व्यवस्था प्रस्ताव गरेको छ।