अहिले नेपालका चिकित्सकहरू इतिहासमै सबैभन्दा बढी निराश र बेसहारा बनेका छन्। पहिलेका सरकारले सेवा-सुविधा दिएका थिएनन्। तर, अहिलेको सरकारले त सुविधाको कुरा यथावत् राखेर दासलाई झैँ पेलेको छ। दिनको १८ सय देखि २ हजार रुपैयाँ (मासिक औसत ५० हजार) मा बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपिडी डिउटी गर्न भनिएको छ। इमर्जेन्सी, वार्ड, अनकल गरेर चौबीसै घण्टा काम गर्ने चिकित्सकका लागि बरु हप्तामा ६ दिन तर १०–३ बजेको ओपिडी समय पर्याप्त हो। अहिलेको सुविधाअनुसार त्यो नै उपयुक्त देखिन्छ। ९–५ नै ओपिडी चलाउँदा पनि सिफ्ट मिलाएर गर्ने व्यवस्था गर्दा अलि व्यावहारिक हुन्छ। नत्र चिकित्सकहरू मार र निराशामा पर्छन्।
चिकित्सा पेसामा ९–५ बजेसम्म एउटै व्यक्ति घडी हेरेर ओपिडीमा बस्नुपर्ने हो भने मेडिकल अफिसरको कम्तीमा मासिक २ लाख र कन्सल्टेन्टको कम्तीमा मासिक ४ लाख तलब हुनुपर्छ। अन्य सुविधा समेत थप गर्दै लैजानुपर्छ। दिनको १८ सय, जुन सामान्य मजदुर सरह हो। धेरै वर्षको मेहनतपछि बनेको योग्य र दक्ष व्यक्तिलाई यो तलब न्यायोचित छैन। फेरि अर्को कुरा, ९ देखि ५ सम्म निरन्तर बसिरहँदा मानसिक थकाइ बढेर बिरामी हेर्ने गुणस्तरमा कमी हुन सक्छ। रोग पत्ता लगाउने र उपचार गर्ने जस्तो गहन तथा जटिल पेसामा दबाबयुक्त वातावरणमा काम गर्नुपर्दा दुर्घटना हुन सक्छ।
किन पारिश्रमिक र सुविधा बढाउनु आवश्यक छ त?
चिकित्सकले दोहोरो स्नातक (६ वर्षे स्नातक), ३ वर्षे स्नातकोत्तर र केहीले त अरू थप ३ वर्षे उच्च विशेषता (डिएम, एमसिएच) हासिल गरेका हुन्छन्। खर्चकै हिसाबले स्नातक पढ्न ४२–४५ लाख एकमुस्ट रकम नै तिर्नुपर्छ। होस्टेल खर्च, व्यक्तिगत खर्च, महँगा किताब-कापी, प्रयोगशाला लगायत यताउती फुटकर खर्च गरेर मासिक २०–२५ हजारका दरले ६ वर्षमा थप १८–२० लाख खर्च जोहो गर्नुपर्छ। यसरी स्नातक पूरा गर्दा ६०–७० लाख खर्च सखाप हुन्छ।
मास्टर्स गर्दा २२–२५ लाख फी, १०–१५ लाख थप खर्च गरेर ३५–४० लाख खर्च हुन्छ। यसरी एउटा चिकित्सकले स्नातकोत्तर सकाउँदा १ करोडदेखि १.५ करोड रुपैयाँसम्म खर्च गरेको हुन्छ। उच्च विशेषता (डिएम, एमसिएच) गर्नेले अझै थप २०–३० लाख सकाउँछन्। छात्रवृत्तिमै पढेकाले पनि स्नातक र स्नातकोत्तर सकाउने १० वर्षमा जीविका र अतिरिक्त खर्चमा ४०–५० लाख खर्च गरेकै हुन्छन्।
यहाँ पैसाको मात्र कुरा छैन, समयको मूल्य झन् चर्को चुकाएको हुन्छ। १२ कक्षा अब्बल भएर पास गरेपछि तयारीसहित गरेर स्नातकोत्तर सकाउँदा १०–१२ वर्ष बितेको पत्तै हुँदैन। जब चिकित्सक जागिर गर्न बजार निस्किन्छ, आफूसँगै स्कुल पढेका र अन्य पेसामा लागेकाहरू अवकाश पाउने आधा समय कटाइसकेका हुन्छन्। प्रशासनतिर लागेकाहरू १०औँ वर्ष जागिर पूरा गरेर सिडिओ, उपसचिव, सहसचिव भइसकेका हुन्छन्। विदेश गएकाहरू सेटल भइसकेका हुन्छन्। चिकित्सक बल्ल बजारमा कमाउन ओर्लेको हुन्छ– ऋणको भारी बोकेर, परिवारको जिम्मेवारी र समाजको अपेक्षा बोकेर।
प्लस टु पछिको १०–१२ वर्ष पूर्ण रूपले पढाइ मात्र गर्नुपर्ने हुन्छ। अन्य सङ्काय पढेझैँ पढाइसँगै स्कुल पढाउने, ट्युसन पढाउने, जागिर खाँदै पढ्ने कुनै अवसर नै हुँदैन। साँझ–बिहान, राति किताब र प्रयोगात्मक सिकाइमै ध्यान दिनुपर्ने हुन्छ। भन्नुको पर्याय, यी सम्पूर्ण खर्चहरू कि त बाआमाको खल्तीबाट पाउनुपर्यो, नत्र ऋण नै लिनुपर्छ। 'साइड जब' गरेर खर्च धान्ने कुनै कल्पानै गर्न सकिन्न। यति बेलासम्म एउटा चिकित्सक ३३ देखि ३५ वर्ष पुगिसकेको हुन्छ। अब कमाउनुपर्ने दबाब धेरै हुन्छ किनभने एकातिर चर्को महँगी छ भने अर्कोतिर ऊर्जाशील समय कम मात्र बाँकी छ।
तसर्थ, चिकित्सकहरू सरकारी अस्पतालमा जोडिए पनि साँझ-बिहान अन्यत्र दौडेर मेहनत गरी जीवन सहज बनाउने कोसिसमा हुन्छन्। त्यसकारण अस्पतालमै ९–५ ओपिडीमा सीमित गर्न खोज्ने, साँझ-बिहान वार्ड र इमर्जेन्सीमा डिउटी गराउने हो भने मासिक ५० हजारमा चिकित्सक बाँच्न सक्दैन। के यति वर्ष लगाएर मेहनत गरेर पनि चिकित्सक बाँच्नकै लागि सङ्घर्ष गर्नुपर्ने हो? प्रश्न अहम् छ।
फेरि दोहोर्याउनुपर्ने हुन्छ, मेडिकल अधिकृत तहलाई कम्तीमा २ लाख र विशेषज्ञलाई कम्तीमा ४ लाख व्यवस्था गर्नैपर्ने हुन्छ। यतिलाई आधारभूत मानेर अनुभवका आधारमा सुविधा थप गर्दै जानुपर्छ। घरजग्गा खरिदमा विशेष सहुलियत ऋणको व्यवस्था हुनुपर्छ। जागिरका अवधिमा आवास तथा घरपायक दरबन्दी मिलाउनु आवश्यक छ। चिकित्सक तथा उसका परिवारलाई उपचार गर्नुपरे खर्च सरकारले व्यहोर्नुपर्ने अथवा विशेष बिमाको व्यवस्था हुनुपर्छ। विशेष सेवा भएकाले सुविधा थप्नैपर्ने हुन्छ। स्वास्थ्य विशेष हो भन्ने कुरा सरकारले पनि स्वीकार गरेकै छ, त्यसैले त बिदाको दिन पनि ओपिडी खोल्नुपर्ने सूचना र निर्देशनहरू आइरहेका छन्। तर, सुविधाका बारेमा एक शब्द नबोलिनु दुःखद मात्र होइन, निराशाजनक छ।
यो पेसा अत्यन्त जोखिमयुक्त समेत छ। काम गर्दागर्दै रोगहरू सर्न सक्ने, औषधि तथा विकिरणहरूको असरले स्वास्थ्यमा जटिलता आउने र दुर्घटना हुने सम्भावना रहन्छ। यसमा पनि सरकारले हेरचाह, भत्ता, उपचार र संरक्षण गर्ने व्यवस्था गर्नुपर्दछ। पेसागत जोखिमलाई ख्याल गरेर जोखिम भत्ताको उचित व्यवस्था गर्नैपर्ने हुन्छ।
उदाहरणकै रूपमा हेरौँ, यति धेरै खर्च (करोड बढी), समय (प्लस टु पछि १०–१२ वर्ष) र मेहनत (पूर्णकालीन) गरेर आएको चिकित्सकले औसत ५० हजार पाउँछ। एउटा फ्ल्याट भाडामा लिँदा २० हजार जान्छ अनि दुईजना छोराछोरी छन् भने अहिलेको महँगीअनुसार पढाइ लगायत खर्चमा १५–१५ हजार गरेर ३० हजार जान्छ। अर्थात् ५० हजार खत्तम। अनि खाने के, बचत के? कुन उत्प्रेरणाले चिकित्सक काम गर्न सक्छ? अब सुविधा नथपी यथास्थितिमै पेलान गर्ने हो भने 'तिमीहरू भोकै मर' भनेसरह हुनेछ।
अहिले धेरै चिकित्सकहरू सेवा, सुविधा र तलब बढ्छ भनेर जेठ १५ गते कुर्दैछन्। सो सरोकार सम्बोधन नगरी कडाइ मात्र गर्न खोजे स्वास्थ्य क्षेत्र झन् धराशायी हुन्छ। पहिलो चरणमा २० वर्ष पूरा गरेका (पेन्सन आउने समय पूरा भएका) स्थायी चिकित्सकहरूले जागिर छाड्नेछन्। त्यसपछि करारमा विभिन्न अस्पताल धानिरहेका चिकित्सकहरूले पनि जागिरबाट राजीनामा दिनेछन्। र, बीचमा परेका चिकित्सक जेनतेन जागिरमा त जोडिएर रहलान्, तर उनीहरू पनि नयाँ विकल्प खोजिरहनेछन्। दत्तचित्त भएर सेवामा अडिने छैनन्। विदेशका लागि तयारी गर्ने, आवेदन दिने र सम्भव हुनेबित्तिकै जागिरबाट राजीनामा दिएर विदेश पुग्नेछन्। कहिल्यै नेपाल नछाड्ने सोचमा रहेका एक चिकित्सक पनि अस्ति त विदेश जाने बाटो खोज्दै, एप्लाई गर्दै थिए।
'काला गए गोरा आउँछन्' भन्ने त होला। तर, वर्षौँदेखि काम गरिरहेका चिकित्सकले छाडेपछि समग्र स्वास्थ्य क्षेत्र नै अन्योलमा पुग्छ। धेरैजसो अस्पतालमा कुनै सिनियर चिकित्सकको नाम अनि विश्वासमा बिरामीले सरकारी अस्पतालमा भरोसा राख्छन्। उही चिकित्सकले जागिर छाडेर प्राइभेटमा काम गरेमा अधिकांश बिरामी सो चिकित्सक जहाँ भेटिन्छन्, त्यहीँ जान्छन्। सरकारीमा आउने क्रम कम हुन्छ। नयाँ आउनेले पनि यही अवस्थामा काम गर्नै सक्दैनन्। अवस्था भयावह हुनेछ। हुन त सबै आफैँ चलाउँछु भन्ने अहम् बालेन सरकारमा छ।
मेयर बन्नुअघि प्रधानमन्त्री बालेनले बोलेको भिडियो आजभोलि भाइरल छ। उनी भन्दै थिए, "सबै चिकित्सक युएसएमएलई (USMLE) गरेर अमेरिका जान्छन्, यहाँ कोही बस्दैनन्; किनकि राज्यले उनीहरूको योग्यता र क्षमता अनुसार तलब र सुविधा दिएको छैन। पुरानाले केही गरेनन्, हामी आएपछि गर्नेछौँ।" तर, सत्ता यति क्रूर र निर्दयी हुने रहेछ, अहिले प्रधानमन्त्री भएपछि उनले सबै कुरा बिर्सिसकेका छन्। कहिल्यै विदेश नजाने भनेका चिकित्सकसमेत उनको पेलान नीतिका कारण विदेश जाने मनस्थिति बनाउन थालिसके।
चिकित्सा पेसा आफैँमा एक उच्च स्तरको कार्य हो। यो पेसामा आउन अद्भुत क्षमता र मेहनत चाहिन्छ। विकसित देश अमेरिका, बेलायत तथा अस्ट्रेलियामा समेत चिकित्सा पढ्ने सङ्ख्या कम हुन्छ। किनभने यो निकै गहन र गाह्रो यात्रा हो। यो पेसाको पढाइ र ट्रेनिङ पूरा गर्न वर्षौँ यसैमा मेहनत र ध्यान दिनुपर्छ। कुनै साइड जब, पेसा र व्यवसाय गर्ने भनेको कल्पनाबाहिरको कुरा हो। मनोरञ्जन, घुमघाम, व्यक्तिगत इच्छा-आकाङ्क्षा तपसिलका विषय हुन्। त्यसैले विकसित देशका धेरैले यो यात्रा रोज्दैनन्। त्यहाँ कमैले पढ्ने भएकाले चिकित्सक उत्पादन कम छ र भारत, नेपाल लगायतबाट चिकित्सकको माग हुन्छ। विदेशमा नर्सिङको बढ्दो माग पनि त्यसकै परिणाम हो।
यही यथार्थलाई मनन गर्दै विकसित देशमा चिकित्सकलाई मनग्य तलब र सुविधा दिइन्छ। हाम्रै छिमेकी भारतमा समेत चिकित्सकको तलब-सुविधा निकै बढी छ। यो आफैँमा उच्च आर्थिक आर्जन गर्ने पेसा हो। एकपटक क्यानडामा त चिकित्सकहरूले अन्य पेसालाई भन्दा आफूहरूको तलब अति धेरै भएको भन्दै घटाउनका लागि सरकारलाई अनुरोध गरेका थिए। तर, जनताको स्वास्थ्य सेवामा समस्या आउन सक्ने भन्दै सरकारले चिकित्सक-स्वास्थ्यकर्मीको तलब-सुविधा घटाउन मानेको थिएन। संसारका सबै देशहरूमा चिकित्सकलाई 'टप पेमेन्ट' गरिन्छ।
तर, नेपालमा चिकित्सकलाई निजामती कर्मचारी सरह राखेर तलब उही न्यूनतम, तर सेवा-सुविधा निजामतीको भन्दा निकै कम दिइएको छ। उही दशौँ-एघारौँ तहको चिकित्सक सरहको निजामती उपसचिव, सहसचिवलाई तेल, गाडी, पिए, आवास लगायत कयौँ सुविधा हुन्छ तर चिकित्सकलाई मात्र तलब। अरू केही हुँदैन। अनि काम भने संवेदनशील क्षेत्र भनेर दिनरात, जतिबेला पनि, ७ दिन नै काम लगाउनु कत्तिको न्यायोचित होला? मनन गर्नुपर्ने बेला भएको छ।
नेपालजस्तो देशमा चिकित्सक बन्नु निकै गर्वको रूपमा लिइन्थ्यो। यहाँ छिरेपछि व्यावसायिक जीवन सुरक्षित हुन्छ भन्ने अवधारणा थियो। केही दशक पहिलेसम्म स्कुलका प्रत्येक विद्यार्थीलाई 'के बन्ने?' भनेर सोध्दा अधिकांशले 'डाक्टर' भन्थे। तर, आज नेपालमा चिकित्सक बन्नु भनेको अपराध गर्नुसरह भएको छ। राज्यले दिने अत्यन्त न्यून तलब र ९–५ को रटानले चिकित्सक अपहेलनामा परेका हुन्। चिकित्सकहरूलाई अहिलेकै सेवा-सुविधा अनुसार पहिलेझैँ १० बजेदेखि ३ बजेसम्म काम लगाउनु नै काफी हो। त्योभन्दा बढी काम लगाउनु भनेको शोषण नै ठहरिन्छ।
अन्त्यमा, बालेन सरकारलाई यी सारा चिकित्सकका समस्या र सरोकारलाई गम्भीर भएर सोच्न र उपयुक्त कदम चाल्न अनुरोध छ। यो देशका हजारौँ चिकित्सकहरू पनि यहाँकै जनता हुन् र नेपालकै नागरिक हुन्। देश विकास हुने आशामा अधिकांश चिकित्सकले घण्टीमा भोट पनि हालेका हुन्। तर, यहाँहरूले 'चिकित्सकको यो सानो समूह छ, यसलाई पेलेर बहुमत जनता खुसी पार्छौँ' भन्ने भ्रम र पपुलिस्ट सोच नराख्नुस्। धेरैलाई खुसी पार्ने ध्यानमा केहीलाई रुवाउनु पनि अन्याय र पाप नै हो। यो आज नभए पनि कुनै दिन विस्फोट हुन सक्छ।
(राजाको प्रत्यक्ष शासन, बहुदल र गणतन्त्रमा समेत खुलेर बोल्ने अवस्था थियो। तर, अहिले बालेन-रास्वपा सरकार र निजहरूका उग्र समर्थकको आक्रमणको डरले कोही बोल्न सकेको छैन। हजारौँ चिकित्सक सरकारको कदमबाट मानसिक पीडा र निराशा पालेर हिँड्न बाध्य छन्। सबै चिकित्सकको पीडा एक चिकित्सकले अज्ञात भएर व्यक्त गर्न विवश भएका छन्।)