“अब घर लैजानुस्… सायद १–२ महिना।”
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शल्यचिकित्सकले भनेका यी शब्दहरू मेरो जीवनका सबैभन्दा कठोर क्षणहरूमध्ये एक थिए। त्यस क्षणमा म चिकित्सक भएर पनि पूर्ण रूपमा असहाय महसुस गरिरहेको थिएँ। तर त्यसभन्दा बढी, म एक छोरा थिएँ, जसले आफ्ना बुवाको आँखामा अझै केही समयको जीवन देख्न चाहन्थ्यो।
मेरो बुवालाई पेटको क्यान्सर अन्तिम चरणमा पुगेको थियो। तर परिवारको रूपमा हामीले उहाँलाई रोगको वास्तविक गम्भीरता कहिल्यै बताएनौँ, किनकि हामीलाई लाग्यो- अन्तिम चरणको डरभन्दा पनि बाँकी समयलाई शान्त र सहज बनाउनु बढी महत्वपूर्ण हुन्छ।
शल्यक्रियाका क्रममा क्यान्सर शरीरभर फैलिसकेको देखिएपछि अपरेशन सम्भव भएन। घाउ बन्द गरेर घर फर्काइँदा हामी सबै मौन भयौँ। तर त्यो मौनताभित्र एउटा ठूलो निर्णय जन्मियो, अब उपचार केवल रोग निको पार्ने दिशामा होइन, पीडा कम गर्ने र जीवन सहज बनाउने दिशामा केन्द्रित हुनुपर्छ।
त्यो समयमा म भारतमा स्नातकोत्तर अध्ययन गर्दै थिएँ। मेरा गुरु प्राध्यापक डा. विजय चौधरीको निरन्तर मार्गदर्शन, चिकित्सकीय अनुभव र शास्त्रीय आयुर्वेदिक सिद्धान्तका आधारमा हामीले बुवाका लागि व्यक्तिगत आवश्यकता अनुसारको आयुर्वेदिक औषधि संयोजन तयार गर्यौँ। त्यसलाई हामीले सावधानीपूर्वक सहायक किमोथेरापीका केही चरणसँग संयोजन गरेर प्रयोग गर्यौँ।
यहाँ हाम्रो उद्देश्य कहिल्यै क्यान्सर पूर्ण रूपमा निको पार्ने दाबी गर्नु थिएन। बरु, अन्तिम चरणको क्यान्सरले ल्याउने गहिरो शारीरिक र मानसिक असहजतालाई कम गर्नु थियो। किनकि यस्तो अवस्थामा बिरामीले अनुभव गर्ने पीडा केवल शारीरिक दुखाइ मात्र हुँदैन; त्यो सम्पूर्ण शरीर, मन र चेतनामा फैलिएको निरन्तर असहजता हो, जसले निद्रा, भोक, मानसिक शान्ति र आत्मबल सबैलाई कमजोर बनाइदिन्छ।
हामीले प्रयोग गरेका आयुर्वेदिक औषधिहरूले बिस्तारै त्यही स्तरमा काम गर्न थालेजस्तो अनुभव भयो। दुखाइको तीव्रता घट्दै गयो, पाचन र भोकमा सुधार देखियो, शरीरको असहजता केही हदसम्म कम भयो। र सबैभन्दा महत्वपूर्ण कुरा, उहाँको मानसिक अवस्था स्थिर हुन थाल्यो। उहाँ फेरि सामान्य कुराकानी गर्न, मिठो मुस्कान दिन र परिवारसँग समय बिताउन सक्षम हुनुभयो। त्यो कुनै पनि चिकित्सकीय सूचकभन्दा धेरै मूल्यवान थियो।
त्यही समय नेपाल र भारतका धेरै क्यान्सर विशेषज्ञहरूसँग प्रत्यक्ष समन्वय गर्ने अवसर पनि पाएँ। त्यसले मलाई अझ स्पष्ट बनायो कि आधुनिक क्यान्सर चिकित्सा र आयुर्वेद प्रतिस्पर्धी होइनन्; बरु सहकार्य गर्न सक्ने दुई फरक तर पूरक प्रणाली हुन्। जहाँ आधुनिक क्यान्सर उपचारले रोग नियन्त्रणको प्रयास गर्छ, त्यहीं आयुर्वेदले सहायक तथा पीडानियन्त्रणात्मक सेवामार्फत जीवनको गुणस्तर सुधार गर्न सहयोग गर्न सक्छ।
यो सम्पूर्ण यात्रामा मेरा गुरु, मेरी श्रीमती तथा परिवारको साथ अत्यन्त महत्वपूर्ण रह्यो। उहाँहरूको सहयोग केवल चिकित्सकीय मात्र होइन, भावनात्मक रूपमा पनि अमूल्य थियो। यस्तो अवस्थामा चिकित्सक स्वयं पनि भावनात्मक रूपमा प्रभावित हुन्छ, तर सही मार्गदर्शनले निर्णयलाई स्थिर बनाइराख्न मद्दत गर्छ। मेरा दाइ र आमाको भूमिका त झन् निर्णायक थियो। हामीले बुवालाई डर, अन्तिमता वा भविष्यवाणी कहिल्यै महसुस हुन दिएनौँ। बरु, उहाँलाई हरेक दिन सामान्य जीवनजस्तै अनुभव गराउने प्रयास गर्यौँ, जसले उहाँलाई मानसिक रूपमा बलियो राख्न सहयोग गर्यो।
अन्ततः जहाँ १–२ महिनाको अनुमान गरिएको थियो, उहाँले करिब २ वर्षसम्म अपेक्षाकृत सहज जीवन बिताउनुभयो। त्यो अवधिले हामीलाई एउटा कुरा स्पष्ट रूपमा सिकायो, अन्तिम चरणको क्यान्सरमा चिकित्सा केवल रोग नियन्त्रणको विषय होइन; यो पीडा व्यवस्थापन, मानसिक अवस्था, पारिवारिक सहयोग र समन्वित उपचार पद्धतिको संयुक्त परिणाम पनि हो।
म दैनिक रूपमा अन्तिम चरणका क्यान्सर बिरामीहरूसँग कहिले टेलिफोन, कहिले भिडियो संवाद, त कहिले प्रत्यक्ष भेटमार्फत सम्पर्कमा रहने गर्छु। धेरै बिरामीहरू अत्यन्त कठिन शारीरिक र मानसिक अवस्थाबाट गुज्रिरहेका हुन्छन्। तर त्यही पीडाको बीचमा पनि मैले बारम्बार एउटा कुरा देखेको छु, उनीहरूको आँखामा बाँकी रहेको सानो तर आशा। उनीहरू अझै पनि केही सहजता, केही शान्ति र केही साथको अपेक्षा गरिरहेका हुन्छन्।
र यही यात्राबाट सिकिएको सबैभन्दा ठूलो पाठ के हो भने, अन्तिम चरणमा पनि आशा समाप्त हुँदैन, यसको स्वरूप मात्र बदलिन्छ। कहिले औषधिको रूपमा, कहिले परिवारको साथको रूपमा, र कहिले बिरामीको अनुहारमा देखिने सानो शान्त मुस्कानको रूपमा।