१ जेठ, २०८३ (मे १५, २०२६) मा वातावरण विज्ञान तथा प्रदूषण अनुसन्धान क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल Environmental Pollution मा नेपाली अनुसन्धानकर्ताहरूको नयाँ अध्ययन प्रकाशित भएको छ। “Air quality responses to the Tihar festival in Nepal's major urban cities: Evidence for sustainable festivals and cities” शीर्षकको उक्त अध्ययन नेपालमा तिहारपर्व-सम्बन्धी वायु प्रदूषणको प्रभाव मूल्यांकन गर्ने पहिलो वैज्ञानिक अनुसन्धानमध्ये एक मानिएको छ। यस अध्ययनमा दक्षिण कोरियास्थित Yonsei University का अनुसन्धान प्राध्यापक डा. शिवराज आचार्य, सोही विश्वविद्यालयका अनुसन्धानकर्ता भूपेन्द्र रेग्मी तथा Changshin University का अनुसन्धानकर्ता डा. राजिथा कौशल्या संलग्न रहेका छन्।
अध्ययनले काठमाडौं, पोखरा, ललितपुर, भरतपुर, जनकपुर तथा दाङ लगायत प्रमुख सहरहरूको तिहार अवधिको वायु गुणस्तर विश्लेषण गरेको छ। अध्ययनअनुसार तिहारअघि र तिहारका मुख्य दिनहरूमा PM2.5 र PM10 जस्ता सूक्ष्म कणीय प्रदूषकहरूको मात्रा उल्लेखनीय रूपमा बढ्ने तथा तिहारपछि क्रमशः घट्दै जाने देखिएको छ। कतिपय सहरहरूमा वायु गुणस्तर “Unhealthy” अर्थात् अस्वस्थ स्तरसम्म पुगेको अध्ययनले जनाएको छ। अनुसन्धानले तिहारसम्बन्धी गतिविधि जस्तै पटाका, आतिशबाजी तथा अन्य उत्सवजन्य उत्सर्जनले पहिले नै कमजोर अवस्थामा रहेको शहरी वायु गुणस्तरलाई थप खराब बनाउन सक्ने संकेत गरेको छ। विशेषगरी विश्वकै कमजोर वायु गुणस्तर भएका सहरहरूमध्ये काठमाडौं निरन्तर रूपमा सूचीकृत भइरहेका बेला यस्तो प्रदूषण थप चिन्ताजनक रहेको अध्ययनले उल्लेख गरेको छ। अध्ययनले PM2.5 लाई प्रमुख जोखिमपूर्ण प्रदूषकका रूपमा पहिचान गरेको छ। यस्ता सूक्ष्म कणहरूले श्वासप्रश्वास प्रणाली, फोक्सो तथा मुटुसम्बन्धी रोगहरूको जोखिम बढाउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अध्ययनले सांस्कृतिक पर्व र शहरी वायु प्रदूषणबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गर्दै “सस्टेनेबल फेस्टिभल” अर्थात् वातावरणमैत्री तथा दिगो पर्वको अवधारणालाई अघि बढाउन आवश्यक रहेको औंल्याएको छ।अनुसन्धानकर्ताहरूले विशेषगरी पटाका तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सामग्रीहरूको प्रयोगमा कडा नियमन तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्। साथै, नेपालमा खराब वायु गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावहरूको मूल्यांकन गर्न थप विस्तृत वैज्ञानिक अनुसन्धान आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ। अध्ययनले वायु गुणस्तरको रियल-टाइम निगरानी प्रणाली विस्तार, सार्वजनिक सचेतना अभिवृद्धि तथा वातावरणमैत्री सांस्कृतिक अभ्यासहरूको प्रवर्द्धन आवश्यक रहेको पनि सुझाव दिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यस्तो वैज्ञानिक अध्ययनले नेपालमा वायु प्रदूषण नियन्त्रण, सार्वजनिक स्वास्थ्य सुरक्षा तथा दिगो शहरी विकाससम्बन्धी नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछ।
अध्ययनका निष्कर्षहरूबारे थप जानकारीका लागि तलको लिंक हेर्नुहोस्।
https://www.sciencedirect.com/science/article/pii/S0269749126007104