काठमाडौं — रसुवामा आएको बाढीपछि दुई विदेशी चिकित्सक सम्पर्कविहीन भएका छन्। मानसरोवर यात्राका क्रममा नेपाल हुँदै तिब्बततर्फ गएका चिकित्सकहरू सम्पर्कविहीन भएपछि उनीहरूका परिवार, साथीभाइ तथा नेपाली चिकित्सकहरूले खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्।
सम्पर्कविहीन हुनेमा भारतीय नागरिक डा. जय दिनेश कोटेचा र मलेसियाकी चिकित्सक डा. गुनावथी मुथुसामी रहेको बताइएको छ।
डा चन्दा कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार डा. जय दिनेश कोटेचा मानसरोवर यात्राका लागि नेपाल आएका थिए। उनौ २६ अगस्टको बिहान रसुवाको टिमुरेमा अन्तिमपटक सम्पर्कमा आएका थिए। त्यसपछि उनीसँग सम्पर्क हुन नसकेको परिवार तथा साथीहरूले बताएका छन्।
डा. गुनावथी मुथुसामी मलेसियामा कार्यरत इन्डोक्राइनोलोजिस्ट रहेको डा. मंगल रावलले जानकारी दिएक छन्। उनले सामाजिक सञ्जालमार्फत डा. मुथुसामीको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।
“उहाँ मलेसियाको एन्डोक्राइनोलोजिस्ट हुनुहुन्छ। रसुवाबाट तिब्बत जाने क्रममा हालसम्म उहाँसँग सम्पर्क हुन सकेको छैन। कसैले उहाँबारे कुनै जानकारी पाउनुभएको भए कृपया खबर गरिदिनुहोला,” डा. रावलले लेखेका छन्।