काठमाडौं- अमेरिकी चर्चित गायिका तथा अभिनेत्री डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ। उनका प्रतिनिधिहरूले मंगलबार पिपुल म्यागजिनलाई दिएको वक्तव्यमा पार्टनको निधन क्यान्सरसँग ‘छोटो समय’ संघर्ष गरेपछि भएको पुष्टि गरेका हुन्। उनको क्यान्सरको प्रकार भने खुलाइएको छैन।
प्रतिनिधिहरूका अनुसार पार्टनले जीवनभर संगीत र आफ्नो काममार्फत मानिसहरूमा खुशी, हाँसो र आशा फैलाइन्। उनको मंगलबार नासभिलस्थित भ्यान्डरबिट-इनग्राम क्यान्सर सेन्टरमा निधन हुँदा परिवारका सदस्य तथा आफन्तको उपस्थिति थियो।
पार्टनको निधनको खबर उनका भतिजा ब्रायन सिभरले मंगलबार इन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए। उनी शुक्रबार उक्त अस्पतालमा भर्ना भएकी थिइन् र चार दिनपछि उनको निधन भएको हो।
निधन हुनुभन्दा केही दिनअघि पार्टनले पिपुललाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएको स्वीकार गरेकी थिइन्। उनका अनुसार श्रीमान् कार्ल डिनको हेरचाहमा व्यस्त हुँदा उनले आफ्नै स्वास्थ्य समस्यालाई पर्याप्त ध्यान दिन सकेकी थिइनन्।
पार्टनका श्रीमान् कार्ल डिनको ३ मार्च २०२५ मा ८२ वर्षको उमेरमा लामो समयदेखि रहेको स्वास्थ्य समस्याका कारण निधन भएको थियो।
‘जोलेन’ लगायतका चर्चित गीतबाट विश्वभर प्रसिद्ध पार्टन पछिल्लो समय मिर्गौला तथा अटोइम्युनसम्बन्धी स्वास्थ्य समस्यासँग पनि जुधिरहेकी थिइन्।