काठमाडौं- अमेरिकामा रगतको आपूर्ति गम्भीर संकटको स्तरमा पुगेको छ। अमेरिकन रेडक्रस सोसाइटीका अनुसार यसको १५० वर्षको इतिहासमा यस्तो अवस्था दोस्रो पटक देखिएको हो।
अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले सञ्चारमाध्यमसँग कुरा गर्दै डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले अहिलेको संकट सिर्जना भएको बताइन्।
उनका अनुसार गत महिना मात्रै रक्त आपूर्तिको स्तर २५ प्रतिशतले घटेको छ। यो संकट गर्मीयाममा देखिएको हो, जुन समयमा अस्पतालहरूमा रगतको आवश्यकता सामान्यतया बढी हुने गर्छ।
गर्मीका महिनामा सडक दुर्घटनाको संख्या बढ्नुका साथै मानिसहरू बाहिर बढी समय बिताउने भएकाले चोटपटक लाग्ने घटनामा वृद्धि हुन्छ, जसका कारण रक्तसञ्चार (ब्लड ट्रान्सफ्युजन) को माग बढ्ने गरेको डा. लरेन्सले बताइन्।
अमेरिकामा करिब ४० प्रतिशत रगत आपूर्ति गर्ने सबैभन्दा ठूलो संस्था अमेरिकन रेडक्रसले यस वर्षको यही अवधिको तुलनामा दैनिक करिब ३,५०० युनिट बढी रगत वितरण गरिरहेको जनाएको छ। यसका कारण संस्थाले आफ्नो रक्त भण्डार अत्यन्त न्यून स्तरसम्म प्रयोग गर्नुपरेको डा. लरेन्सले बताइन्।
"हामीले धेरै अगाडिदेखि ठूलो परिमाणमा रगत भण्डारण गर्न सक्दैनौं, किनभने रगतको निश्चित आयु हुन्छ र समयपछि प्रयोगयोग्य रहँदैन," उनले भनिन्।
दान गरिएको रगत ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ, किनभने समयसँगै रक्तकोषहरू कमजोर हुँदै जान्छन्।
हाल सबै रक्त समूहको आवश्यकता रहेको भए पनि विशेषगरी ओ–पोजिटिभ रक्त समूहको माग अत्यधिक रहेको रेडक्रसले जनाएको छ। आपत्कालीन अवस्थामा बिरामीको रक्त समूह थाहा नभएको बेला यो रक्त समूह प्रयोग गर्न सकिने भएकाले यसको महत्व बढी हुन्छ।
डा. लरेन्सका अनुसार केही अस्पतालहरूले नियमित शल्यक्रियामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। आवश्यक मात्रामा रगत उपलब्ध नभए आपत्कालीन बिरामीलाई अन्य ट्रमा सेन्टरमा पठाउनुपर्ने अवस्था आउन सक्नेबारे पनि छलफल भइरहेको उनले बताइन्।
उनले यो संकट एकै कारणले नभई विभिन्न कारणको संयुक्त प्रभावले चर्किएको स्पष्ट पारिन्।
यस गर्मीयाममा अमेरिकाका धेरै क्षेत्रमा अत्यधिक तापक्रम बढेका कारण मानिसहरू रक्तदान केन्द्रसम्म जान कम इच्छुक भएका छन्। साथै केही स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रम सुरक्षित र सहज वातावरण उपलब्ध गराउन नसक्दा सञ्चालन हुन सकेनन्।
त्यसैगरी, देशभर फैलिएका डढेलोका कारण पनि स्रोतसाधन अन्यत्र केन्द्रित गर्नुपरेको रेडक्रसले जनाएको छ। साथै, देशभर फैलिएको खाद्यजन्य रोग साइक्लोस्पोरियासिस (Cyclosporiasis) को प्रकोपले पनि रक्तदानमा असर पारेको बताइएको छ।
यसअघि अमेरिकन रेडक्रसले पहिलो पटक सन् २०२२ को जनवरीमा कोभिड–१९ महामारी र कडा हिमपातका कारण रक्त आपूर्ति संकट घोषणा गरेको थियो।
यता, क्यानडामा पनि रक्त आपूर्ति घटेको छ। क्यानडियन ब्लड सर्विसेसका अनुसार जुन महिनाको सुरुदेखि रक्त भण्डार करिब २० प्रतिशतले घटेको छ।
संस्थाका अनुसार पछिल्ला छ सातामा हरेक साता १,५०० देखि २,५०० वटा रक्तदान अपोइन्टमेन्ट अपेक्षाभन्दा कम भएका छन्, जसका कारण बिरामीको आवश्यकता पूरा गर्न विद्यमान रक्त भण्डार प्रयोग गर्नुपरेको छ।
अमेरिकाको विपरीत, क्यानडामा रक्तदान घट्नुको स्पष्ट कारण भने अझै पत्ता लागेको छैन।
क्यानडियन ब्लड सर्भिसेजले गर्मीयाममा सामान्य रूपमा रक्तदान घट्ने भए पनि यसपटक अपेक्षाभन्दा धेरै कम दाता आएका जनाएको छ। केही रक्त समूहको मौज्दात निकै न्यून स्तरमा पुगेको र यो अवस्था लामो समय रहिरहे बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने चेतावनी संस्थाले दिएको छ।