श्रीमान् स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
रामशाहपथ, काठमाडौं।
विषय: स्वास्थ्य सेवाको प्रयोगशाला विधामा दरबन्दी पुनरावलोकन तथा थप गर्न ध्यानाकर्षण।
महोदय,
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। उक्त संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि रोगको सही पहिचान, निगरानी तथा उपचार व्यवस्थापन अपरिहार्य विषय हुन्, जसको मूल आधार प्रयोगशाला सेवा हो।
“सही निदान बिना सही उपचार सम्भव हुँदैन” भन्ने चिकित्सा विज्ञानको आधारभूत मान्यतालाई हेर्दा प्रयोगशाला सेवा स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा रहेको यथार्थलाई कसैले अस्वीकार गर्न सक्दैन।
हाल देशभर स्वास्थ्य संस्थाहरूमा आधुनिक परीक्षण सेवा, डिजिटल स्वास्थ्य प्रणाली तथा विशिष्टीकृत प्रयोगशाला सेवाहरू विस्तार भइरहेका छन्। तर विडम्बना, सोहीअनुसार दक्ष प्रयोगशाला जनशक्तिको स्थायी दरबन्दी विस्तार तथा व्यवस्थापन हुन सकेको छैन।
यसले स्वास्थ्य सेवा प्रणालीभित्र प्रयोगशाला विधालाई निरन्तर उपेक्षा गरिएको अनुभूति गराएको छ।
हालै नेपाल सरकारले करिब ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ जना विशेषज्ञ चिकित्सक तथा नर्सिङ जनशक्तिको नयाँ दरबन्दी थप गर्ने महत्वपूर्ण निर्णय गरेको छ। उक्त निर्णय स्वास्थ्य क्षेत्र सुदृढीकरणका दृष्टिले स्वागतयोग्य र सकारात्मक कदम हो। तर दुर्भाग्यवश, स्वास्थ्य सेवाको अत्यन्त महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको प्रयोगशाला विधालाई उक्त विस्तारमा समुचित प्राथमिकता दिइएन।
यसले प्रयोगशालाकर्मीहरूमा गम्भीर निराशा तथा विभेदको अनुभूति गराएको छ।
जसरी ‘मिडवाइफरी अधिकृत’ का लागि नयाँ दरबन्दी सिर्जना गरिएको छ, त्यसैगरी देशका ७५३ वटै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूमा ल्याब असिस्टेन्ट, मेडिकल ल्याब टेक्निसियन तथा मेडिकल ल्याब टेक्नोलोजिस्टको स्थायी दरबन्दी सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता हो।
तसर्थ, सम्पूर्ण प्रयोगशालाकर्मीहरूको तर्फबाट निम्न मागहरू सम्मानपूर्वक प्रस्तुत गर्दछौँः
१. स्वास्थ्य चौकी तहसम्म स्थायी दरबन्दीको व्यवस्था
हाल अधिकांश स्वास्थ्य चौकीहरूमा प्रयोगशाला सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेको अवस्था छ। यस्तो अस्थायी व्यवस्थाले सेवा प्रवाहको गुणस्तर र निरन्तरतामा असर पुगेको छ।
अत: प्रत्येक स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यकता अनुसार स्थायी ल्याब दरबन्दी सिर्जना गरी लोक सेवा आयोगमार्फत नियमित पदपूर्ति गरियोस्।
२. प्रयोगशाला जनशक्तिको दरबन्दी पुनरावलोकन
धेरै सरकारी अस्पतालहरूमा अझै पनि २०५० सालताकाकै दरबन्दी संरचना कायम छ। पछिल्लो जनसंख्या वृद्धि, परीक्षणको चाप, नयाँ रोगहरूको चुनौती तथा प्रविधिको विस्तारलाई आधार मानी प्रयोगशाला जनशक्तिको दरबन्दी तत्काल वैज्ञानिक रूपमा पुनरावलोकन गरियोस्।
३. आधारभूत अस्पतालमा अधिकृत तहको व्यवस्था
५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूमा समेत कम्तीमा एक जना मेडिकल ल्याब टेक्नोलोजिस्ट (BMLT) को अधिकृतस्तर दरबन्दी अनिवार्य रूपमा व्यवस्था गरियोस्, ताकि गुणस्तरीय परीक्षण सेवा सुनिश्चित होस्।
४. रिक्त पदहरूको स्थायी पदपूर्ति
वर्षौँदेखि रिक्त रहेका मेडिकल ल्याब टेक्निसियन तथा ल्याब असिस्टेन्ट पदहरूमा तत्काल लोक सेवा आयोगमार्फत स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाइयोस्।
५. विशिष्टीकृत सेवाका लागि विशेषज्ञ दरबन्दी
संघीय तथा प्रादेशिक अस्पतालहरूमा बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, साइटोलोजी तथा मोलिक्युलर ल्याब सेवाका लागि छुट्टाछुट्टै विशेषज्ञ जनशक्तिको दरबन्दी सिर्जना गरियोस्।
६. करार व्यवस्थाको दीर्घकालीन समाधान
वर्षौँदेखि करार सेवामा कार्यरत प्रयोगशाला प्राविधिकहरूको उचित व्यवस्थापन गर्दै स्थायी संरचना निर्माणमार्फत दीर्घकालीन समाधान गरियोस्।
७. स्वास्थ्य नीति तथा बजेटमा प्रयोगशाला सेवालाई प्राथमिकता
प्रयोगशाला सेवा बिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नहुने यथार्थलाई आत्मसात गर्दै आगामी नीति, कार्यक्रम तथा बजेटमा प्रयोगशाला क्षेत्रलाई स्पष्ट प्राथमिकतासहित समावेश गरियोस्।
महोदय,
कोभिड–१९ महामारीले समेत प्रयोगशाला सेवाको अपरिहार्यता र प्रयोगशालाकर्मीहरूको भूमिकालाई विश्वसामु स्पष्ट रूपमा स्थापित गरिसकेको छ। तर आज पनि प्रयोगशालाकर्मीहरू न्यून दरबन्दी, अस्थायी रोजगार र सीमित अवसरबीच काम गर्न बाध्य छन्।
यदि प्रयोगशाला सेवालाई निरन्तर उपेक्षा गरिने हो भने गुणस्तरीय स्वास्थ्य सेवा, सही निदान तथा प्रभावकारी उपचार प्रणालीको लक्ष्य हासिल गर्न कठिन हुनेछ।
अत: माथि उल्लिखित मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरी स्वास्थ्य सेवा प्रणालीमा प्रयोगशाला विधाको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
संघर्षरत सम्पूर्ण प्रयोगशालाकर्मीहरूको तर्फबाट।
मिलन बटाला
स्वास्थ्य प्रयोगशालाकर्मी