चितवन – नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ आज दोस्रो दिन जारी रहेको छ। दुई दिनसम्म चल्ने सम्मेलनका आज दोस्रो अर्थात अन्तिम दिन नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिनेछ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका डा बद्रि रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जारी सम्मेलनबाट सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जिम्मेवारी हस्तान्तरण गर्नेछन्।
सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मीहरू सहभागी छन्। यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका छन्। साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन्।
सङ्घका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरिका अनुसार विभिन्न प्यानल छलफल भएका छन्।
यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भएका छन्। कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन्। शनिबार बिहानदेखि प्राविधिक सत्र सुरु भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन तथा अपराह्न समापन कार्यक्रम हुनेछ।
कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको छ।
हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन/तीन वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ।