काठमाडौं- कटारी अस्पताल सुधारको नेतृत्व गरेका डा. गौरव साहले अस्पतालबाट बाहिरिने घोषणा गरेका छन्। अस्पतालमा आफू कार्यरत रहँदा भएका उपलब्धि, संघर्ष र पछिल्लो घटनाप्रति पीडा व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत भावुक धन्यवाद ज्ञापन सार्वजनिक गरेका हुन्।
२०७३ फागुन २१ गते कटारी अस्पतालमा कार्यभार सम्हालेका डा. साहले त्यतिबेला नयाँ भवन बने पनि हस्तान्तरण नहुँदा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गरेका छन्। उनले स्थानीय समुदाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सहयोगमा भवन हस्तान्तरण प्रक्रिया अघि बढाएर बिरामी भर्ना सेवा, सशुल्क फार्मेसी सेवा तथा सिजेरियन शल्यक्रिया (सी–सेक्सन) सेवा सञ्चालनसम्म पुर्याएको उल्लेख गरेका छन्।
उनका अनुसार तत्कालीन मेयर ज्ञानेन्द्र श्रेष्ठसँग समन्वय गर्दै अस्पताललाई आधारभूत अस्पतालका रूपमा विकास गर्न महत्वपूर्ण काम भएको थियो। पछि अध्ययन बिदापछि पुनः कटारी फर्किएको र हालका मेयर राजेशचन्द्र श्रेष्ठ को आग्रहमा अस्पताल सुधार अभियानलाई निरन्तरता दिएको उनले बताएका छन्।
डा. साहले अस्पताललाई प्रदेश मातहत ल्याउन राम कुमार खत्री लगायत राजनीतिक दल र सरोकारवालाले साथ दिएको उल्लेख गरेका छन्। अहिले अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सकसहित १३–१४ जना चिकित्सकको टोलीले सेवा दिइरहेको जानकारी पनि उनले दिएका छन्।
'यस वर्षको अन्तिम कामका रूपमा ब्लड बैंकको ठेक्का निस्किसकेको छ र म अत्यन्त हर्षित छु,' उनले लेखेका छन्। उनले आफ्नै छोराको जन्म आफूले सुरु गरेको अप्रेसन कक्षमा गराएको र छोरीलाई कटारीकै सामुदायिक विद्यालयमा पढाउने अवसर पाएको स्मरण गर्दै कटारीलाई सधैं आफ्नो घर मानेको बताएका छन्।
यद्यपि, पछिल्लो घटनाले आफूलाई गहिरो पीडा दिएको उल्लेख गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन्। 'कटारी छाड्दा स–सम्मान जान चाहन्थें, तर आज ज्यान जोगाउने गरी हिँड्नुपर्यो,' उनले लेखेका छन्। दोष प्रमाणित भए सजाय भोग्न तयार रहेको पनि उनले बताएका छन्।
कटारी अस्पतालको सेवा विस्तार र स्तरोन्नतिमा महत्वपूर्ण भूमिका खेलेका डा. साहको बहिर्गमनपछि स्थानीय तहमा मिश्रित प्रतिक्रिया देखिएको छ। उनले अन्त्यमा कटारीवासीप्रति आभार व्यक्त गर्दै “स्नेह, साथ र सहयोग रहिरहने छ” भनेका छन्।
यो पनि पढ्नुहोस्