काठमाडौं – काठमाडौंको बुढानीलकण्ठमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाको अगुवाइमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को काठमाडौं बाल अस्पतालमा ओपिडी, आकस्मिक तथा सर्जरी सेवाको थालनी भइसकेको छ।
४२ रोपनी जग्गामा सञ्चालित यस अस्पतालको नवनिर्मित भवनको उद्घाटन गत शनिबार भव्य रूपमा सम्पन्न भए पनि अस्पतालले सेवा दिन थालेको ३ महिनाभन्दा बढी भइसकेको छ।
गरिब तथा विपन्न बालबालिकाहरू उपचारको पहुँचबाट टाढा नरहून् भन्ने लक्ष्यले अस्पताल सञ्चालनमा ल्याइएको डा. भगवान् कोइराला बताउँछन्।
‘नेपालमा उपलब्ध सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ अस्पताल स्थापना गरिएको हो,’ डा. कोइरालाले भने, ‘कुनै पनि परीक्षणका लागि बिरामी अन्यत्र जानु पर्दैन।’
अस्पतालले ओपिडी टिकटको १ सय रुपैयाँ र आकस्मिक टिकटको ५ सय रुपैयाँ शुल्क तोकेको छ। अस्पतालका विभिन्न विभागमा गरी हाल १ सय ३० जनशक्ति कार्यरत छन्। जसमा २५ जना बाल रोग विशेषज्ञ रहेको डा. कोइरालाले जानकारी दिए।
शल्यक्रिया शुल्क पनि सरकारी सरह
कान्ति, त्रिवि शिक्षण, पाटन र गंगालाल जस्ता सरकारी अस्पताललाई आधार मानेर अस्पतालको शल्यक्रिया शुल्क तोकिएको छ।
सञ्चालनको छोटो अवधिमा नै हालसम्म अस्पतालले ७५ भन्दा बढी मेजर शल्यक्रिया र ३ वटा ओपन हार्ट सर्जरीसमेत सम्पन्न गरिसकेको छ। हाल दैनिक ३० देखि ३५ जना बिरामीहरू ओपिडीमा आउने गरेका छन्।
बाल रोग विशेषज्ञ चिकित्सकलाई सरकारीको तुलनामा दोब्बर तलब अस्पतालले दिइरहेको डा. कोइरालाको दाबी छ। नर्सहरूलाई भने सरकारी सरह नै तलब दिइएको डा. कोइराला बताउँछन्।
मुटुको शल्यक्रिया र अस्पतालको परिकल्पना
करिब ३ दशकभन्दा लामो समय बिरामीको सेवामा तल्लीन हुँदा कैयौँ अस्पतालका अनुभव र सिकाइको परिणाम काठमाडौं बाल अस्पताल भएको डा. कोइराला बताउँछन्। ‘बाल अस्पतालको परिकल्पना करिब २५ वर्ष अगाडि गरेको थिएँ, ’ डा. कोइरालाले सुनाए, ‘हाल त्यो सफल भएको छ।’
मुटुको शल्यक्रियासम्बन्धी एक फेलोसिपका लागि अमेरिकामा रहेका बेला उनले विकसित मुलुकले बाल स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि नजिकबाट नियाल्ने अवसर पाएका थिए। त्यसैको परिणाम आजको बाल अस्पताल रहेको उनी बताउँछन्। बाल स्वास्थ्यमा गरिएको लगानी राज्यको भोलिको सम्पत्ति हो भन्ने उनलाई लाग्छ।
दमकमा ३ वर्ष अगाडि नै सेवा सुरु
३ वर्ष अगाडिदेखि नै स्याटेलाइट सेन्टरको रूपमा झापाको दमकबाट बाल अस्पतालले सेवा दिन सुरु गरेको थियो। ५० बेडबाट सेवा दिन सुरु गरेको उक्त अस्पतालमा हाल सेवाग्राहीको भीड बढ्दो अवस्थामा रहेको डा. कोइराला बताउँछन्।
सुरुआतको २ वर्ष अस्पताल सञ्चालनका लागि आन्तरिक कमाइबाट गाह्रो भए पनि हाल सहजै आन्तरिक आम्दानीले नै अस्पताल चलेको डा. कोइरालाको दाबी छ।
पैसा अभावमा उपचार नपाउने स्थितिको अन्त्य
काठमाडौं बाल अस्पताल नाफाभन्दा पनि सेवाको भावले स्थापना गरिएको संस्था भएको डा. कोइराला बताउँछन्।
विपन्न नागरिकलाई पैसा नभएकै कारण उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयका साथ अस्पताल अगाडि बढेको उनको दाबी छ। विपन्न परिवारका बालबालिकाका लागि विभिन्न कोषमार्फत उपचार गरिने उनी बताउँछन्।