काठमाडौं- सरकारले विभिन्न अस्पताल विकास समितिमा नियुक्त अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्यहरूलाई पदमुक्त गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल विकास समिति गठन आदेश संशोधनमार्फत हाल कायम पदाधिकारीहरूको नियुक्ति खारेज गर्ने तयारी सरकारले गरेको स्रोतले जनाएको छ।
सरकारले विकास समिति ऐन, २०१३ अन्तर्गत मन्त्रिपरिषबाट जारी भएका अस्पताल विकास समिति गठन आदेशअनुसार नियुक्त अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्यहरूलाई पदमुक्त गर्ने तयारी अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए।
सरकारको तयारीअनुसार भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, निजामती कर्मचारी अस्पताल विकास समिति गठन आदेश, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गठन आदेशअन्तर्गत नियुक्त अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्यहरू सहित सबै अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरुको पद जाने छ।
सरकारले अस्पताल विकास समितिहरूको संरचना, नियुक्ति प्रक्रिया तथा प्रशासनिक व्यवस्थामा पुनर्संरचना गर्न आवश्यक कानुनी तयारीसमेत अगाडि बढाइसकेको जनाइएको छ। यसअन्तर्गत देशभर रहेका अस्पताल विकास समिति अन्तर्गतका ५ सयभन्दा बढी नियुक्ति खारेज हुने अनुमान गरिएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई समेत पदमुक्त गरेको थियो।