“एउटा किसान, तीन कोठी, छोरीको चिन्ता, र समयमै गरिएको जाँचले जोगिएको जीवन”
अन्नपूर्ण हिमाललाई बिहानको घामले रङ्गीन बनाइरहेको थियो। पर्वतको फेदीको गाउँमा किसान किशन दाइ आफ्नो पुरानो ढाकाटोपी मिलाउँदै खेततिर निस्किरहेका थिए। उनको जीवन वर्षौंदेखि एउटै तालमा बगिरहेको थियो, सेती खोला जस्तै—बिहान खेत, दिउँसो घाम, साँझ थकान र राति चुलोको न्यानोपन अनि मिठो निद्रा।
गाउँले जीवन र घामसँग उनको पुरानो मित्रता थियो।
“किसान मान्छे, घाम नखाई के खेती हुन्छ र?” उनी हाँस्दै भन्थे।
तर वर्षौंदेखिको यही घामले उनको अनुहारमा एउटा सानो कथा लेखिरहेको थियो—जुन उनले कहिल्यै पढ्ने प्रयास गरेनन्।
उनको दाहिने गालामा तीन “साथी” थिए।
पहिलो—भैरे। जन्मेदेखि नै रहेको गोलो, सफा किनाराको कालो कोठी।
दोस्रो—कैले। जवानीमा देखापरेको सम्म, कफी रङको कोठी।
र, तेस्रो—ग्यान्टे। केही वर्षअघि मात्र देखिएको, अलि फरक देखिने कालो दाग।
सुरुमा उनले ध्यान दिएनन्, न कसैले दियो।
उनकी श्रीमती राधा मजाक गर्थिन्- “यो गालाको कोठी त तिम्रो सौन्दर्य हो नि।”
साथीहरू चियापसलमा जिस्काउँथे- “किशन दाइ, यही कोठी देखेर भाउजू फसेकी हो! यो किस्नेको धनको पोको हो, पोको!”
सबै गलल हाँस्थे।
तर त्यो वर्षको गर्मी अलि फरक थियो। बिस्तारै रङहरू बदलिन थाले।
जब एउटा कोठी बदलिन थाल्यो
धान काट्ने मौसमपछि किशनले याद गरे- ग्यान्टे पहिलेभन्दा अलि ठूलो देखिन थालेको छ। तर किसानको व्यस्त जीवनमा यस्तो कुरा सोच्ने समय कहाँ?
एकदिन दाह्री काट्दै गर्दा उनले ऐनामा ध्यान दिए।
“आबुई गाठे, यो किन यस्तो फाटेजस्तो देखियो, अलि बढे पो जस्तो छ?”
तर फेरि सोचे- “उमेर बढेपछि यस्तै हुन्छ होला।”
महिनौँ बिते।
अब त्यो कोठीको रङ एउटै थिएन। कतै गाढा कालो, कतै खैरो, कतै रातोजस्तो भइसकेको थियो। किनारा अलिअलि धमिलो हुँदै गएको थियो। कहिलेकाहीँ चिलाउँथ्यो पनि।
एकदिन नङले कोर्दा त हल्का रगतै निस्कियो।
तैपनि किशनले बेवास्ता गरे। कामको दैनिक चटारो, सोच्ने फुर्सद कहाँ?
एकचोटि मनमा चिसो चाहिँ पसेको थियो, पसलमा जब साहिलो बिर्खेले भन्यो- “क्यान्सर होला है, किस्ने। देखाइहाल।”
फेरि सोच्यो- “हामीजस्ता गरिबलाई धनिका रोग के लाग्थ्यो र? अनि हाम्रो जस्तो छालामा क्यान्सर कहाँ हुन्छ र?”
दशैंमा छोरीको आँखा त्यहीँ पुग्यो दशैं आयो। पोखरामा स्वास्थ्यकर्मी रहेकी छोरी सविना घर आइन्। टीका लगाउँदै गर्दा उनी अचानक रोकिइन्। “बा… यो कोठी पहिले यस्तो थियो?”
“कुन?”
“यही गालाको।”
“अँ… पुरानै हो। किन?”
“पुरानै त होला, तर बदलिएको जस्तो लाग्यो।”
छोरीले मोबाइल निकालिन्। पुरानो फोटो खोजिन्। एक महिनाअघिको तस्वीरसँग तुलना गरिन्। अन्तर स्पष्ट थियो।
“बा, काठमाडौं जाऔँ। एकचोटि छाला विशेषज्ञलाई देखाऔँ।” “ए बाबा! यति सानो कोठीको लागि?”
“सानो कुरा कहिलेकाहीँ ठूलो हुन सक्छ।”
क्लिनिकमा डा. विकास पौडेलसँग भेट
केही दिनपछि उनीहरू काठमाडौं आइपुगे। क्लिनिकमा प्रवेश गर्दा किशन दाइ अलि लजाइरहेका थिए।
“डाक्टर साब, कोठी देखाउन पनि मान्छे आउँछन् र?” उनले मुस्कुराउँदै भने। डा. विकास पौडेल हाँसे।
“धेरै आउँछन् आजकल, र कहिलेकाहीँ त्यही कोठीले ठूलो रोग लुकाइरहेको हुन्छ।”
छोरीले मोबाइलमा पुरानो र नयाँ फोटो देखाइन्। डा. पौडेलले ध्यानपूर्वक कोठी हेरे। डर्मोस्कोप प्रयोग गरे।
अनि विस्तारै सोधे- “यो कहिलेदेखि बदलिएको?”
“थाहा छैन डाक्टर साब… केही महिनाजस्तो भयो होला।”
“चिलाउँछ?”
“कहिलेकाहीँ।”
“रगत आएको?”
“एकपटक आएको थियो।”
डा. पौडेल केही क्षण चुप लागे।
त्यसपछि कागजमा पाँच अक्षर लेखे- एबीसीडीई
“किशनजी, कुनै पनि कोठी बदलिन थाल्यो भने हामी यो नियम सम्झन्छौँ।”
A – एसिमेट्री (असममिति वा विषमता)
“यदि कोठीको एक भाग अर्को भागसँग मेल खाँदैन भने सावधान।”
डा. पौडेलले उदाहरण दिए-
“पहिरो गएको डाँडा जस्तो—एकातिर ठीक, अर्को भाग बिग्रिएको।”
किशनले ऐना सम्झिए।
“अँ… ग्यान्टे त मेरो एका पट्टीको भाग ठूलो छ।”
B – बोर्डर (किनारा)
“किनारा धमिलो, नमिलेको, टुक्राटुक्रा, फैलिएको?”
“जस्तो पुरानो माटोको भित्ता चर्किएको हो।”
छोरीले तुरुन्त भनिन्—
“बा, यही त मैले देखेको।”
C – कलर (रङ)
“एउटै कोठीमा धेरै रङ हुनु राम्रो संकेत होइन।”
“कालो, खैरो, रातो, सेतो, नीलो मिसिनु शंकास्पद हुन सक्छ।”
किशन मन नलागी हाँसे—
“त्यो त जलेको पाउरोटी जस्तो भयो।”
“ठ्याक्कै,” डाक्टर मुस्कुराए।
D – डायामिटर (व्यास)
“६ मिलिमिटरभन्दा ठूलो हुँदै गएको?”
“मुङ्गको दानाभन्दा ठूलो?”
किशनको कोठी त्यही श्रेणीमा पुगिसकेको थियो।
E – इभोल्भिङ (परिवर्तन)
डा. पौडेल केही गम्भीर भए।
“सबैभन्दा महत्वपूर्ण यही हो।”
“कोठी बढ्दै गयो? चिलायो? दुख्यो? रगत आयो?”
“यो त झन् डेंजरस संकेत हो, रातो झण्डा हो।”
‘सबै कोठी क्यान्सर हुँदैन, तर केही चेतावनी हुन सक्छ’
किशन डराए।
“डाक्टर साब… अब मलाई क्यान्सर भयो?”
डा. पौडेलले शान्त स्वरमा बोले- “हत्तारमा डराउनु पर्दैन।”
“सबै एटिपिकल मोल क्यान्सर हुँदैन।”
“तर केही डिस्प्लास्टिक नेभस भविष्यमा रिस्क बन्न सक्छ।”
“त्यसैले नियमित निगरानी गर्नुपर्छ।”
अन्य छालाको क्यान्सर पनि हुन्छ
छोरीले सोधिन्- “छालाको क्यान्सर के–के हुन्छन्? मेलानोमा मात्र हो?”
“होइन,” डाक्टरले भने।
बेसल सेल कार्सिनोमा (BCC)
“धेरै वर्ष घाम खाने मानिसमा देखिन्छ।”
“सानो घाउजस्तो, निको नहुने, चम्किलो वा बारम्बार रगत आउने।”
स्क्वामस सेल कार्सिनोमा (SCC)
“पुरानो घाउ, घाम, जलन वा लामो समयसम्मको चिडचिडाहटपछि हुन सक्छ।”
“कहिलेकाहीँ खटिराजस्तो देखिन्छ।”
मेलानोमा
“यो नेपाली मान्छेमा सामान्यतया दुर्लभ छ, तर बढी आक्रामक र डेंजरस हुन्छ।”
“ढिलो पत्ता लागे शरीरभर फैलिन सक्छ।”
“तर चाँडै पत्ता लागेमा निको हुने सम्भावना धेरै हुन्छ।”
नेपालमा किन ढिलो पत्ता लाग्छ?
डा. पौडेलले स्पष्ट पारे—
“हाम्रोमा एउटा मिथक छ—कालो छालालाई स्किन क्यान्सर हुँदैन।”
“गलत हो।”
“नेपालको यूभी एक्सपोजर धेरै छ।”
“किसान, ट्रेकिङ गाइड, मजदुर, चालक उच्च जोखिममा हुन्छन्।”
“खुट्टाको पैताला, नङमुनि, घाँटी, अनुहार—यी भागहरूमा विशेष ध्यान दिनुपर्छ।”
डा. पौडेलको फलो-अप सल्लाह
१. मासिक फोटो अनुगमन
“हरेक महिना एउटै कोणबाट फोटो खिच्ने।”
२. स्केल प्रयोग गर्ने
“सिक्का वा नोट राखेर फोटो लिने।”
३. सेल्फ–स्किन एक्जामिनेसन
“नयाँ कोठी आयो कि? पुरानो बदलियो कि?”
४. घामबाट जोगिने
“क्याप, ह्याट, टोपी, सनस्क्रिन, लामो बाहुलाको लुगा प्रयोग गर्ने।”
५. थप फलो-अप
“३–६ महिनामा पुनः जाँच गर्नुपर्छ।”
“यदि चिलायो, बढ्यो, रगत आयो भने तुरुन्त आउनु।”
अनि एउटा कुरा जोड दिए—
“धागोले बाँध्ने, अम्ल लगाउने, जडीबुटी दल्ने—कहिल्यै गर्नु हुँदैन।”
अन्तिम रिपोर्ट
बायोप्सी गरियो।
रिपोर्ट आयो- प्रारम्भिक मेलानोमा (स्टेज ०)।
सौभाग्यले समयमै पत्ता लागेको थियो।
शल्यक्रिया गरियो।
रोग फैलिन पाएन।
बिदा हुने बेला
क्लिनिकबाट निस्कँदा किशन ढुक्कले हाँसे।
“अब त श्रीमतीको कोठी पनि हेर्छु।”
छोरी हाँसिन्—
“बूढा, रोमान्स होइन बा, अनुगमन!”
डा. पौडेल पनि मुस्कुराए—
“माया गर्ने मान्छेको कोठी बदलियो भने अस्पताल सँगै जानू।”
सम्झनुहोस्: एबीसीडीई
A – एसिमेट्री → आधा–आधा नमिल्ने
B – बोर्डर → धमिलो, च्यातिएको
C – कलर → धेरै रङ मिसिएको
D – डायामिटर → ठूलो हुँदै गएको
E – इभोल्भिङ → बढ्ने, चिलाउने, रगत आउने
मेलानोमा दुर्लभ छ, तर समयमै पत्ता लागे लगभग पूर्ण रूपमा निको हुन सक्छ। ढिलो भयो भने ज्यानघातक बन्न सक्छ।
(डा. विकास पौडेल वरिष्ठ छाला रोग विशेषज्ञ हुन्। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्। )