एउटै बाढी, तर सबैको जोखिम एउटै हुँदैन
त्रिशूली किनारमा ८६ वर्षीय भुवनप्रसाद घिमिरे लट्ठीको सहारामा उभिएर नदीपारि हेरिरहेका थिए। जीवनभर यही नदीको किनारमा बसेका उनले नदीका अनेक रूप देखे, तर यसपटकको विनाश उनका लागि अभूतपूर्व थियो। बाढीले वारिपारि जोड्ने पक्की तथा झोलुङ्गे पुल बगाइसकेको थियो। केही मिनेटको दूरीमा रहेका समुदाय एकाएक एकअर्काबाट अलग भएका थिए।
त्यही त्रिशूली पुरानो बजारमा ७३ वर्षीया चरी नेपालीको कथा अझ मार्मिक छ। अचानक बाढी मडारिएर आउँदा उनले हिँड्नसमेत कठिन हुने ६९ वर्षीय दीर्घरोगी श्रीमान्को हात समातिन्, छिमेकका दुई बालबालिकालाई साथ लगाइन् र उकालोतिर लागिन्। उनीहरूले ज्यान त जोगाए, तर घर, पसल, पैसा, सामान र जीवनभर जोडेको आधार बाढीले बगायो। श्रीमान् घाइते भएर अस्पताल पुगे। बुढेसकालमा उनीहरूको प्रश्न अब केवल 'बाँचियो कि बाँचिएन?' रहेन; 'अब कहाँ बस्ने र कसरी बाँच्ने?' बनेको छ।
यी कथा केवल व्यक्तिगत पीडाका कथा होइनन्। यी एउटा गम्भीर सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि घटना हुन् कि 'विपद् सबैका लागि समान हुँदैन'। बाढी एउटै हुन्छ, तर दौडेर उकालो चढ्न सक्ने युवाको जोखिम र लट्ठी टेकेर हिँड्ने ८० वर्षीय व्यक्तिको जोखिम समान हुँदैन। गर्मीको तापक्रम एउटै हुन्छ, तर स्वस्थ युवाको शरीर, र मुटुरोग, मिर्गौलाको रोग तथा मधुमेह भएका वृद्ध व्यक्तिको शरीरले त्यसलाई एउटै तरिकाले सहन सक्दैन।
उमेर बढेसँगै शरीरको सहनशीलता किन घट्छ?
बुढ्यौली रोग होइन। तर उमेर बढ्दै जाँदा शरीरको अत्यधिक गर्मी वा चिसोपन, जलवियोजन तथा अचानक आइपर्ने वातावरणीय तनावसँग जुध्ने शरीरको 'फिजियोलोजिकल' क्षमता कम हुन सक्छ। पसिना निकालेर शरीर चिस्याउने क्षमता घट्न सक्छ, तिर्खाको अनुभूति कमजोर हुन सक्छ, छालामा रक्तप्रवाहको प्रतिक्रिया कम हुन सक्छ, र मस्तिष्क, मुटु तथा मिर्गौलाले अचानक परेको तनाव पहिले जस्तो सहज रूपमा सम्हाल्न नसक्न सक्छन्।
त्यसैले युवामा सामान्य असहजता र थकान मात्र गराउने अत्यधिक गर्मीले शारीरिक हिसाबले कमजोर (Frail) वृद्ध व्यक्तिमा जलवियोजन, रक्तचाप कम हुने समस्या, मिर्गौला खराब हुने प्रक्रिया, चेतना गडबड हुने प्रक्रिया, हृदयघात वा पक्षघातसम्म निम्त्याउन सक्छ।
यस्ता प्रक्रियाको महामारीसँग सम्बन्धित बलियो वैज्ञानिक प्रमाण पनि छ। २०२६ मा प्रकाशित ६२३ अध्ययन समेटिएको विश्वव्यापी 'सिस्टमेटिक रिभ्यू' तथा 'मेटा एनालाइसिस'ले वृद्ध व्यक्तिमा तापक्रम प्रत्येक १°C बढ्दा बिरामी हुने जोखिम करिब १.६ प्रतिशत र मृत्युदर करिब २.२ प्रतिशत बढेको देखाएको छ। यसअनुसार अत्यधिक गर्मी तथा तातो हावाका समयमा जोखिम अझ बढेको र विशेष गरी ८५ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा प्रभाव बढी देखिएको थियो।
दीर्घरोग र जलवायुको दोहोरो प्रहार
ज्येष्ठ नागरिकमा उच्च रक्तचाप, मुटुजन्य रोगहरू, दीर्घकालीन प्रकृतिको दमको रोग, मधुमेह, मिर्गौलाको दीर्घ रोग र डिमेन्सिया जस्ता दीर्घरोग बढी देखिन्छन्। जलवायुजन्य तनावले यिनै रोगलाई अस्थिर बनाउन सक्छ। न्यून तथा मध्यम आय भएका देशहरूमा गरिएका अध्ययनहरूले पुष्टि गरेअनुसार तापक्रम प्रत्येक १°C बढ्दा मुटु र फोक्सोजन्य रोगहरूका कारणले हुने मृत्युदर, एवं मुटु र फोक्सोसँग सम्बन्धित रोगहरूको मात्रा उल्लेखनीय रूपमा बढेको देखाएको छ। अध्ययनअनुसार विशेष गरी ६५ वर्षमाथिका व्यक्तिहरूमा जोखिम अझ बढी देखिएको छ।
तर समस्या गर्मीमा मात्र सीमित छैन। बाढीजस्ता प्राकृतिक प्रकोपको समयमा दमका रोगीहरूले प्रयोग गर्ने 'इन्हेलर' बगाउन सक्छ। मधुमेहका बिरामीहरूको इन्सुलिन सकिन सक्छ। दमका बिरामीहरूले नियमित प्रयोग गर्ने अक्सिजन उपलब्ध नहुन सक्छ। मिर्गौलासँग सम्बन्धित दीर्घ रोगीहरूको लागि डायलाइसिस गर्न अस्पताल पुग्ने बाटो अवरुद्ध हुन सक्छ। त्यसैगरी नियमित औषधि केही दिन छुट्दा उच्च रक्तचाप, मधुमेह वा मुटुको दीर्घरोग असन्तुलित हुन सक्छ।
यसैले जलवायु परिवर्तनलाई केवल वातावरणीय वा सङ्क्रामक रोगको विषयका रूपमा हेर्नु पर्याप्त हुँदैन। यो बढ्दो गैरसङ्क्रामक रोगको भारसँग पनि प्रत्यक्ष जोडिएको विषय हो।
न्यून तथा मध्यम आय भएका देशहरूमा जोखिम किन अझ गहिरो हुन्छ?
उच्च आय भएका देशका ज्येष्ठ नागरिक पनि जलवायु जोखिममा पर्छन्। तर न्यून तथा मध्यम आय भएका देशहरूमा ज्येष्ठ नागरिकको जैविक संवेदनशीलतामाथि सामाजिक तथा आर्थिक असुरक्षा थपिन्छन्। हामी स्वास्थ्यकर्मीहरू गर्मी बढ्दा भन्छौँ- 'घरभित्र बस्नुहोस्, प्रशस्त पानी पिउनुहोस्, चिसो ठाउँमा बस्नुहोस्।' तर ती ज्येष्ठ नागरिकको घरमा टिनको छाना छ भने? घरमा बिजुली जोडिएको छैन भने? पानी टाढाबाट बोक्नुपर्छ भने? दैनिक ज्याला नगरी खाना नपुग्ने अवस्था छ भने? स्वास्थ्य संस्था पुग्न पहिरो गएको सडक पार गर्नुपर्छ भने? एकपटक विचार गरौँ त।
आम मानिसलाई जोखिम थाहा छ, तर आफूलाई जोगाउने साधन वा सामर्थ्य छैन भने त्यसलाई 'Poverty adaptation' का रूपमा बुझ्न सकिन्छ। यही कारणले LMICs मा जलवायु परिवर्तन केवल वातावरणीय समस्या होइन; यो स्वास्थ्य समताको गम्भीर प्रश्न पनि हो।
नेपालको विशेष समीकरण: जलवायु जोखिम + बुढ्यौली + बसाइँसराइ
नेपालमा समस्या अझ जटिल बनाउने अर्को पक्ष हो 'बसाइँसराइ'। धेरै युवाहरू रोजगारी वा अध्ययनका लागि सहर वा विदेश गएका छन्। गाउँमा वृद्ध बाबुआमा मात्र बस्ने अवस्था सामान्य हुँदै गएको छ। सामान्य समयमा यो सामाजिक व्यवस्था चलेको जस्तो देखिन सक्छ। तर विपद्को बेला परिस्थिति बदलिन्छ।
ती ज्येष्ठ नागरिकलाई औषधि कसले ल्याइदिने? चेतावनी कसले बुझाइदिने? हिँड्न नसक्ने वृद्धलाई सुरक्षित स्थानसम्म कसले पुर्याउने? अस्पताल कसले लैजाने? नेपालमा गरिएका अध्ययनहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सुरक्षा र दैनिक आवश्यकतामा परिवारका कम उमेरका सदस्यहरूमाथिको निर्भरता, युवाको बसाइँसराइपछि बढ्ने सामाजिक एक्लोपन, आर्थिक सीमितता तथा विपद् जोखिम भएको स्थानबाट अन्यत्र सर्न नसक्ने अवस्थालाई उजागर गरेका छन्।
त्यसैले नेपालको सन्दर्भमा जलवायु संवेदनशीलता बुझ्न जलवायु जोखिम, बुढ्यौली र बसाइँसराइलाई सँगै हेर्नुपर्छ।
मृत्यु त विशाल समस्याको सानो अंश वा सतहमा देखिएको सानो भाग मात्र हो
विपद्पछि हाम्रो ध्यान स्वाभाविक रूपमा मृतक र बेपत्ताको संख्यामा जान्छ। त्यो आवश्यक पनि हो। तर ज्येष्ठ नागरिक विशेषज्ञताको दृष्टिले मृत्यु नै सम्पूर्ण स्वास्थ्य भार भने होइन।
कल्पना गरौँ - एक वृद्ध व्यक्ति बाढीबाट जोगिनुभयो, तर उहाँको हिँड्ने लट्ठी बाढीले बगायो वा हरायो। दमको बिरामीको इन्हेलर पानीमा बग्यो। केही दिनको औषधि छुट्यो। ज्येष्ठ नागरिक स्वास्थ्यमा जटिलताका कारण अस्पताल भर्ना हुनुभयो तर पाँच-सात दिन अस्पतालको ओछ्यानमा बस्दा मांसपेशी कमजोर भयो। उहाँ घर फर्किएपछि पहिले जस्तो हिँड्न सक्नुभएन; लड्नुभयो। त्यसपछि Sarcopenia, Frailty र Dependency को दुष्चक्र सुरु भयो।
अर्थात्, मृत्यु त विशाल समस्याको सानो अंश वा सतहमा देखिएको सानो भाग मात्र हो। त्यसको मुनि Disability, Functional decline, कुपोषण, दीर्घरोग बिग्रनु, मानसिक आघात, औषधि अवरुद्ध हुनु, सामाजिक एक्लोपन र स्वतन्त्रता गुमाउनेजस्ता ठूला तर कम ध्यान पाउने समस्या लुकेका हुन्छन्।
त्यसैले अब प्रश्न 'कति ज्येष्ठ नागरिक बाँच्न सके?' भन्ने मात्र होइन; 'कति ज्येष्ठ नागरिकले बाँचेर पनि आफ्नो स्वतन्त्रता गुमाउन बाध्य भए?' भन्ने पनि हो।
विपद्ले स्वास्थ्य प्रणालीको कमजोरी पनि उजागर गर्छ
बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपहरूले बाटो बन्द हुँदा सबैलाई समस्या हुन्छ। तर नियमित डायलाइसिस चाहिने वृद्ध व्यक्ति, नियमित रूपमा अक्सिजनमा भरपर्ने दमका बिरामी, इन्सुलिन नियमित प्रयोग गर्ने मधुमेहका बिरामी वा धेरै औषधिमा निर्भर व्यक्तिका लागि केही घण्टाको ढिलाइ नै गम्भीर हुन सक्छ।
यसैले जलवायु-जोखिम सहन सक्ने (Climate resilient) स्वास्थ्य प्रणाली भन्नाले केवल अस्पतालको भवन बलियो बनाउनु होइन। औषधिको आपूर्ति, अक्सिजनको नियमित व्यवस्था, विद्युत् आपूर्ति, जटिल अवस्थाका लागि रिफर गर्ने चुस्त प्रणाली, एम्बुलेन्सको व्यवस्थापन, डायलाइसिसको व्यवस्था र दीर्घरोगको नियमित स्याहार विपद्को समयमा पनि निरन्तर सञ्चालन हुन सक्नुपर्छ। विशेष गरी ज्येष्ठ नागरिकका लागि स्याहारको अविच्छिन्नता (Continuity of care) सुविधा मात्र होइन; कहिलेकाहीँ जीवन र मृत्यु, वा स्वतन्त्रता र निर्भरताबीचको अन्तर पनि हुन सक्छ।
अब नेपालको जलवायु अनुकूलन नीति ज्येष्ठ-नागरिक मैत्री हुनुपर्छ
जलवायु परिवर्तन र स्वास्थ्यबीचको सम्बन्ध स्पष्ट छ। बढ्दो चरम तापक्रम, हिमाली भूभागमा तीव्र परिवर्तन, अत्यधिक वर्षा, हिमताल तथा हिम-चट्टानसम्बन्धी जोखिम र बदलिँदो विपद् ढाँचासँगै तीव्र गतिमा वृद्ध हुँदै गएको जनसङ्ख्याका लागि तयारी गर्नु अहिले नै आवश्यक छ।
ज्येष्ठ नागरिकलाई नीतिपत्रमा 'जोखिममा रहेको समूह' भनेर उल्लेख गरेर मात्र पुग्दैन। नेपालको विपद् पूर्वतयारी र जलवायु अनुकूलनसम्बन्धी नीति ज्येष्ठमैत्री र उमेर-संवेदनशील हुनुपर्छ।
त्यसैगरी हरेक स्थानीय तहले विपद् आउनुअघि नै एक्लै बस्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, बिर्सिने रोग भएका, अक्सिजनमा पूर्ण निर्भर, इन्सुलिनको नियमित प्रयोग गर्ने, डायलाइसिस चाहिने वा धेरै नियमित औषधिमा निर्भर ज्येष्ठ नागरिकहरूको पहिचान गर्नुपर्छ।
त्यसैगरी पूर्व-सूचना प्रणाली (Early-warning system) मोबाइलमा एसएमएस मेसेज पठाएर मात्र पूरा हुँदैन। ती चेतावनी अशिक्षित वा निरक्षर ज्येष्ठ नागरिकले पनि सुन्न, देख्न र बुझ्न सक्ने किसिमका हुनुपर्छ। त्यसैगरी श्रवण समस्या, दृष्टि समस्या वा बिर्सने-रोग भएका व्यक्तिसम्म पनि सूचना पुर्याउने स्थानीय व्यवस्था आवश्यक पर्दछ।
त्यसैगरी उद्धार तथा सुरक्षित स्थानमा सार्ने योजनामा ज्येष्ठ नागरिकको लागि आवश्यक 'मोबिलिटी एड' र स्याहारकर्ताको सहयोगसँग सम्बन्धित व्यवस्था अनिवार्य हुनुपर्छ। होल्डिङ सेन्टरमा खाना र छाना मात्र होइन कि - नियमित औषधि, अक्सिजन, सुरक्षित पिउने पानी, इन्सुलिन, दीर्घरोगहरूको नियमित परीक्षण र अनुगमन गर्ने प्रणाली र आवश्यकता अनुसार रिफरलको निरन्तरता सुनिश्चित हुनुपर्छ।
जीवन मात्र होइन, स्वतन्त्रता र गरिमा पनि जोगाऔँ
बाढी घटेपछि नदी फेरि आफ्नो धारमा फर्कन सक्छ। सडक पुनर्निर्माण हुन सक्छ। पुल फेरि बन्न सक्छ। घर पनि फेरि उठाउन सकिन्छ। तर कुनै एक वृद्ध व्यक्तिले गुमाएको मांसपेशीको शक्ति, हिँड्ने क्षमता, आत्मनिर्भरता, सामाजिक सुरक्षा वा मानसिक स्थिरता सधैँ पुरानै अवस्थामा फर्कने नहुन पनि सक्छ।
त्यसैले अब विपद्पछि हामीले 'कति घर बगे?' र 'कति मानिस मरे?' भनेर मात्र सोध्नु हुँदैन। हामीले कति ज्येष्ठ नागरिकको औषधि छुट्यो? कति अस्पताल पुग्न सकेनन्? कति शारीरिक एवं मानसिक हिसाबले थप कमजोर भए? कति एक्ला भए? कति घर त फर्किए, तर आफ्नो पुरानो स्वतन्त्र जीवनमा फर्किन सकेनन्? भनेर पनि सोध्नुपर्छ।
अन्त्यमा भन्नुपर्दा, विपद्को अवस्थामा जीवन जोगाउनु पहिलो जिम्मेवारी हो; तर ज्येष्ठ नागरिकको स्वास्थ्य, कार्यक्षमता, स्वतन्त्रता र गरिमा पनि जोगाउनु नै वास्तविक जलवायु सहनशीलता अर्थात जोखिम सहन सक्ने (Climate resilience) हो।
-(ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ प्रा. डा. रमेश कँडेल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)