वर्तमान परिस्थितिमा शरीरको तौल सबैको चासोको विषय हो। मानिसहरू आफ्नो शरीरको तौल नियन्त्रित राख्न र धेरै भएको तौल घटाउन विभिन्न उपाय अपनाउँछन् तथा तौल घटेमा खुसी व्यक्त गर्छन्। तर, तौल घट्नु सधैँ खुसीको खबर हुँदैन। खानपानमा सचेत भएर, व्यायाम गरेर वा शारीरिक सक्रियता बढाएर घटेको तौल स्वाभाविक हुन सक्छ; तर कुनै स्पष्ट कारणबिना तौल निरन्तर घटिरहेको छ भने त्यसलाई बेवास्ता गर्नु उचित हुँदैन। छ महिनाभित्र तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नुलाई सामान्य मान्न सकिन्न र कहिलेकाहीँ यसको पछाडि कुनै अन्तर्निहित रोग हुन सक्छ।
तौल घट्नुका सबैको एउटै कारण हुँदैन
कोही व्यक्तिको शरीरको तौल अनपेक्षित रूपमा घट्छ भने यसका विभिन्न कारण हुन सक्छन्। तौल घट्नुका कारणलाई सामान्यतया शारीरिक स्वास्थ्यसम्बन्धी समस्या, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, प्रणालीगत रोग, पाचन प्रणालीका रोग, हर्मोनसम्बन्धी समस्या र अन्य कारणका रूपमा बुझ्न सकिन्छ। तर, कतिपय अवस्थामा भने स्पष्ट कारण नदेखिन पनि सक्छ र केही समयपछि तौल आफैँ स्थिर वा पुनः बढ्न सक्छ।
१. सामान्य शारीरिक अवस्था र जीवनशैली
गम्भीर रोग नभएका स्वस्थ व्यक्तिमा शारीरिक सक्रियता वा सामाजिक परिस्थितिमा आएको परिवर्तनसँगै तौल घट्न सक्छ। डाइटिङ, व्यायाम, भोकै बस्नु वा पोषणयुक्त खाना कम खानु यसका साधारण कारण हुन्। वृद्ध व्यक्तिमा खानपानको शैली वयस्कको भन्दा फरक हुन सक्ने भएकाले यस्तो अवस्थामा खानपानको वास्तविक अवस्था बुझ्नु महत्वपूर्ण हुन्छ।
२. मानसिक स्वास्थ्यसँग सम्बन्धित कारण
खाना र खाने बानीलाई प्रत्यक्ष प्रभाव पार्ने विषय मानसिक स्वास्थ्य पनि हो, त्यसैले तौल घट्नुको कारण शरीरमै मात्र खोज्नुपर्दैन। एनोरेक्सिया नर्भोसा, बुलिमिया, भावनात्मक वा मानसिक अवस्थासँग सम्बन्धित समस्यामा तौल घट्न सक्छ। डिप्रेसनले पनि खानामा रुचि घटाएर तौल कम गराउन सक्छ। मदिरासम्बन्धी समस्यामा आत्महेरचाह र खानपान कमजोर हुँदा तौल घट्ने अवस्था देखिन सक्छ।
३. संक्रमण र सुजनसम्बन्धी रोगहरू
दीर्घकालीन संक्रमण पनि अनपेक्षित तौल घट्नुको कारण हुन सक्छ। क्षयरोग, बारम्बार हुने पिसाब वा छातीका संक्रमण तथा केही परजीवीको संक्रमण पनि तौल घटाउने कारण हुन सक्छन्, त्यसैले यसलाई पनि विचार गर्नुपर्छ।
साथै, हल्का ज्वरो आउनु, राति पसिना आउनु, जाडो लागेर काम्नु, लगातार खकारसहितको खोकी वा पिसाब गर्दा दुख्ने जस्ता लक्षणसँगै तौल घटेको छ भने यी संकेतहरू महत्वपूर्ण हुन्छन्।
दीर्घकालीन सुजनयुक्त रोगहरू, जस्तै रुमेटोइड आर्थराइटिस र पोलिमायल्जिया र्युमाटिका पनि तौल घट्नेसँग सम्बन्धित हुन सक्छन्। उन्नत अवस्थाका केही गम्भीर रोगमा पनि तौल घट्नु देखिन सक्छ।
४. पाचन प्रणालीका रोग
पाचन प्रणालीसँग सम्बन्धित लगभग सबै रोगले तौल घटाउन सक्छ। खाना निल्न गाह्रो हुनु वा पेटबाट खाना अगाडि सर्न अवरोध हुनु, खाना पचाउन गाह्रो हुनु र पचेको खाना आन्द्राबाट शोषण हुन गाह्रो हुनु आदि समस्यामा तौल घट्ने देखिन सक्छ। क्रोहन रोग वा अल्सरेटिभ कोलाइटिस जस्ता आन्द्राका सुजनयुक्त रोगमा भोक कम हुनु, खाना खान डर लाग्नु तथा आन्द्राबाट प्रोटिन, रगत र पोषक तत्त्व गुम्नु पनि कारण बन्न सक्छ।
५. हर्मोनसम्बन्धी समस्या तथा अन्य कारण
मधुमेह र थाइराइडसम्बन्धी समस्यामा पनि तौल घट्न सक्छ। अन्तिम चरणका श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगमा पनि तौल घट्ने देखिन सक्छ। त्यसैगरी, दीर्घकालीन दुखाइ वा निद्राको अभाव, सामाजिक रूपमा एक्लोपन वा कुकुपोषण, पहिलेबाट रहेको गम्भीर फोक्सोको रोग वा मुटुको विफलता जस्ता अवस्थाहरू पनि सजिलै छुट्न सक्ने कारणका रूपमा उल्लेख गरिएको छ। एडिसन रोग/प्यानहाइपोपिटुइटारिज्म तथा केही अन्य अवस्थालाई पनि चिकित्सकीय मूल्याङ्कनमा ध्यान दिनुपर्छ।
ध्यान दिनुपर्ने कुरा:
छ महिनामा तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नु उल्लेखनीय हुन सक्छ।
कारण नखुलेमा के गरिन्छ?
तौल घट्नुको कारण बिरामीको इतिहास र शारीरिक परीक्षणबाट स्पष्ट नभए चिकित्सकले आवश्यकताअनुसार थप जाँचको सहारा लिन सक्छन्। यस सन्दर्भमा पिसाबमा प्रोटिन र रगत परीक्षण; रगतका सामान्य परीक्षणसँगै कलेजोको कार्य, रक्त ग्लुकोज र थाइराइडको जाँच; सीआरपी र इएसआर तथा दिसामा फिकल क्यालप्रोटेक्टिन जस्ता परीक्षण पर्दछन्। केही अवस्थामा हड्डीको मासी परीक्षण, कलेजोको बायोप्सी वा पेट तथा श्रोणिको सिटी स्क्यान जस्ता थप जाँच पनि आवश्यक पर्न सक्छन्।
अन्त्यमा
तौल घट्नु आफैँमा एउटा रोगको नाम होइन; यो शरीरमा भइरहेको परिवर्तनको संकेत हुन सक्छ। त्यसैले ‘तौल त घटेको मात्र हो’ भनेर पन्छिनुको सट्टा तौल कहिलेदेखि र कति घट्यो, खानपान वा सक्रियतामा के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु उपयोगी हुन्छ। कारण स्पष्ट नभएको तौल घटाइमा समय–समयमा तौल पुनः जाँच्नु र आवश्यक परे चिकित्सकीय मूल्याङ्कन गराउनु नै सुरक्षित बाटो हो।