सुर्खेत- सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो। दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो।
त्यतिबेला स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए। पछि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।
‘असोज ३ गते परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो। त्यतिबेला अवस्था सामान्य भएकाले औषधि दिएर पठाएका थियौँ,’ स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले भने, ‘पछि स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको छ।’
आठ जनाको मृत्यु
दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य शाखाका अनुसार यसअघि वडा नम्बर ६ का ८२ वर्षीय बलबहादुर थापा, वडा नम्बर ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नम्बर ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नम्बर १ का ५१ वर्षीय खिमानन्द केसी, वडा नम्बर २ का १२ वर्षीय नरेश ओली तथा वडा नम्बर १ का ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको सङ्क्रमणबाट मृत्यु भइसकेको थियो।
मृतकमध्ये अधिकांशलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जलगायत जिल्लाबाहिरका अस्पतालमा लगिएको थियो।
दैनिक सङ्क्रमित थपिँदै
सङ्क्रमण बढेपछि गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर शङ्कास्पद बिरामीको परीक्षण तथा सङ्क्रमितको उपचार गरिरहेको छ।
स्वास्थ्य शाखाका अनुसार पछिल्ला दिनमा परीक्षण गर्दा दैनिक दुईदेखि पाँच जनासम्ममा स्क्रब टाइफस सङ्क्रमण पुष्टि हुने गरेको छ। बुधबार मात्रै वडा नम्बर ५ मा १८१ जनाको परीक्षण गरिएकोमा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए।
‘पछिल्ला दिनमा दैनिकजसो सङ्क्रमित भेटिइरहेका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर परीक्षण र उपचारलाई निरन्तरता दिएका छौँ,’ उनले भने।
सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालय सल्यानले समेत स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। टोलीले सङ्क्रमितको उपचारसँगै शङ्कास्पद बिरामीको परीक्षण गरिरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।