मैले भर्खरै साइपाल हिमालको आधार शिविरसम्मको यात्रा सम्पन्न गर्ने अवसर प्राप्त गरें। करिब ४००० मिटर उचाइमा रहेको उक्त क्षेत्रको यात्रा केवल हिमाल, प्राकृतिक सौन्दर्य र दुर्गम भूगोलको अनुभव मात्र थिएन, हिमाली समुदायले भोगिरहेको कठोर जीवन यथार्थलाई नजिकबाट बुझ्ने अवसर पनि थियो।
बझाङको सदरमुकाम चैनपुरबाट करिब तीन दिन हिँडिसकेपछि आधार शिविर नजिकै रहेको अमलीगाढ भन्ने ठाउँमा पुगिन्छ। हाम्रो हिँडाइ मध्यम खालको थियो; प्रतिदिन करिब १०–१२ घण्टा हिँडिन्थ्यो। त्यहाँसम्म पुग्ने यात्रा अत्यन्तै कठिन र चुनौतीपूर्ण थियो। निरन्तर उकाली–ओराली, भीरपाखा, पहिरोले प्रभावित जोखिमपूर्ण बाटो, घना जङ्गल तथा सेती नदीमाथि रुखका भरमा बनाइएका अस्थायी पुल पार गर्दै अघि बढ्नु पर्थ्यो।
अहिले त्यो यात्रा सम्झँदा पनि डर लाग्छ। त्यस्तो दुर्गम क्षेत्रमा सामान्य बिरामी हुँदा पनि उपचार पाउन कठिन थियो भने आकस्मिक अवस्था आइपरेको भए के हुन्थ्यो? कथमकदाचित जटिल बिरामी भएको भए बर्बाद हुने थियो। नजिकैको सुविधासम्पन्न अस्पताल भनेको चैनपुरमा मात्रै थियो। स्वस्थ हिँडालु मानिसलाई त करिब ३ दिन लाग्थ्यो। कतिपय ठाउँमा त बिरामीलाई बोकेर ल्याउन पनि कठिन थियो। बाटोमा यार्सा टिप्नेहरूले ठाउँ–ठाउँमा सेतो तुल बाँधिरहेका थिए, ढुङ्गाको पूजा गरिरहेका थिए। यसरी स्थानीय देवता दाहिने हुन्छन् अरे! अलि बढी यार्सा पाइन्छ रे। दुःखी–बिरामी हुनबाट बचाउँछ रे। सारमा भन्नुपर्दा, त्यहाँको स्वास्थ्य अवस्था स्थानीय देवीदेवताकै भरमा टिकेको महसुस हुन्थ्यो।
यात्रा गर्ने दौरानमा बाटोमा भेटिएका भेडापालक र यार्सागुम्बा टिप्ने व्यक्तिहरूसँग थुप्रै कुराकानी भयो। कतिपयले हामी सुत्ने ठाउँमा आएर औषधि पनि मागे। हामीसँग भएको औषधि पनि दियौँ। कतिपयलाई परामर्श पनि गर्यौँ। कतिपयका निष्कपट स्वरले सोधेका प्रश्नको आवाज अहिले पनि दिमागमा गुञ्जिन्छ- 'सर, ज्वरोको औषधि छ कि? झाडापखालाको औषधि आन्या (ल्याएका) छौ कि? खोकीको औषधि छ?' कतिपय आमा दूधै बालक बोकेर हिँडिरहेका थिए। कतिपय स–साना बालबालिकाहरू आमाबुवासँगै हिँडिरहेका थिए। कतिपय ज्येष्ठ नागरिक पनि थिए।
फर्किँदा खेरि साइपाल गाउँपालिकामा अवस्थित नाङ्माको उकालोमा पिठ्युँमा दूधै बालक बोकेकी आमासँग भेट भयो। मैले सोधें- 'कहाँसम्म पुग्नुहुने हो? यो बाबुलाई खोप लाउनुभयो कि नाइँ? कति महिनाको भयो?' उहाँले भन्नुभयो- 'एक वर्षको भयो यो बाबु। खोप केही लायाको नाइँ। बाजुराबाट आयाका हौँ। मानाकोटबाट तलकोट हुँदै यी भेडाहरू लगी राई ढुङ्गी तालतिर जाँदै छौँ।' कुरा बुझ्दै जाँदा त्यो स्थानमा पुग्न करिब ३ दिन लाग्छ अरे।
स्थानीय जडीबुटीको आयात–निर्यात हुने व्यापारिक ठाउँ पनि रहेछ। बच्चालाई खोप लगाएको छैन भन्ने सुन्दा म अचम्म परें। फेरि प्रतिप्रश्न गरें- 'एउटा पनि लाउनुभएको छैन?' उहाँले 'नाइँ' भन्नुभयो। उहाँले फेरि थप्नुभयो- 'हामी त भेडासँग हिँडिराख्नुपर्छ, कहाँ लाउनु?' मैले भनें- 'यस्तो नभन्नु न दिदी। बच्चालाई खोप लगाएन भने पछि रोगी हुन्छ। छिटोभन्दा छिटो कतै सरकारी स्वास्थ्य संस्था भेट्नुभयो भने लगाइहाल्नुहोला।' उहाँले फेरि भन्नुभयो- “हाम्मा त कोइ लाउदाइन” (हाम्रोमा त कोही लगाउँदैनन्)। मलाई त्यतिखेर बाजुराका प्रकाश सिंहजीको याद आयो। उहाँ एक चर्चित स्वास्थ्य पत्रकार हुनुहुन्छ। धेरै वर्ष पहिला बाजुराका भेडापालनमा संलग्नहरूको स्वास्थ्य जोखिमबारे उहाँले यस्तै स्टोरीहरू पनि प्रकाशित गर्नुभएको थियो।
हरेक वर्ष हजारौँ मानिसहरू यार्सागुम्बा सङ्कलनका लागि उच्च हिमाली क्षेत्रमा पुग्छन्। त्यसैगरी धेरै परिवार परम्परागत रूपमा भेडा तथा चौँरीपालनमा निर्भर छन्। यी गतिविधिबाट केही आर्थिक लाभ भए पनि त्यसको पछाडि स्वास्थ्यसम्बन्धी ठूलो समस्या लुकेको छ। विशेष गरी महिला र बालबालिका बढी प्रताडित छन्। मानिसहरू महिनौँसम्म चिसो, दुर्गम र आधारभूत सेवा नभएका स्थानमा बस्न बाध्य छन्। स्वच्छ पानी, शौचालय, स्वास्थ्य सेवा, पोषणयुक्त खाना र सञ्चार सुविधाको अभाव छ। महिलाहरूले दोहोरो जिम्मेवारी बोकेका हुन्छन्। उनीहरू दिनभर यार्सागुम्बा खोज्छन्, खाना पकाउँछन्, दाउरा बोक्छन्, बच्चाको हेरचाह गर्छन् र पशुपालनको काम पनि गर्छन्। भेडापालक महिलाहरूले महिनौँसम्म चिसो मौसम, धुवाँयुक्त गोठ, अस्वस्थ वातावरण र अत्यधिक शारीरिक श्रम सहनुपर्छ।
अत्यधिक चिसो, कम अक्सिजन र दाउराको धुवाँका कारण धेरै मानिसमा श्वासप्रश्वास सम्बन्धी समस्या हुन सक्छ। महिलाहरू र बालबालिका धुवाँयुक्त पाल तथा गोठभित्र बढी समय बिताउने भएकाले उनीहरू बढी जोखिममा छन्। खोकी, श्वासप्रश्वास समस्या, निमोनिया, लेक (अल्टिच्युड सिकनेस) लाग्ने समस्या हुन सक्छ। धेरै मानिस पर्याप्त न्यानो कपडा, स्वास्थ्य सामग्री वा प्राथमिक उपचार बिना नै महिनौँसम्म उच्च हिमाली क्षेत्रमा बसिरहेका छन्।
यार्सा सङ्कलनको मौसममा अधिकांश परिवार चामल, चाउचाउ, नुन चिया र सुक्खा खानेकुरामा निर्भर हुने रहेछन्। ताजा तरकारी, फलफूल र प्रोटिनयुक्त खाना दुर्लभ हुन्छ। धेरै स्थानमा यात्रीहरूलाई खुला दिसापिसाब गर्नुको विकल्प थिएन। सुरक्षित खानेपानीको त कल्पना पनि नगर्नुहोस्। झाडापखाला, आन्द्राजन्य सङ्क्रमण, छालासम्बन्धी रोग र परजीवीको सङ्क्रमण जस्ता समस्याको उच्च जोखिम छ। त्यस्तो कठोर मौसम, परिवारमा आर्थिक दबाब, एक्लोपन र निरन्तर श्रमले मानसिक स्वास्थ्यमा समेत असर पर्छ होला।
सबैभन्दा चिन्ताजनक विषय मातृ तथा बाल स्वास्थ्यमा थियो। गर्भ परीक्षण, सुरक्षित सुत्केरी, खोप र आपत्कालीन स्वास्थ्य सेवाको पहुँच त कहालीलाग्दो छ। धेरै हदसम्म उच्च हिमाली भेगको अर्थतन्त्र यार्सागुम्बा र पशुपालनमा निर्भर रहेको देखियो। विशेष गरी महिलाहरूले परिवार र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिए पनि उहाँहरूको स्वास्थ्य आवश्यकता अझै ओझेलमा रहेछ। यस्तै अवस्था रहेमा मातृ रुग्णता र मृत्युदर बढ्न सक्छ। गरिबीको चक्र अझै बलियो हुन सक्छ। नीतिगत तहमा काठमाडौँका तारे होटेलमा थुप्रै महिला स्वास्थ्य अधिकारवादी गोष्ठी भए पनि दुर्गम हिमाली क्षेत्रमा त्यसको खासै प्रभाव महसुस भएन।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। राष्ट्रिय र प्रादेशिक स्वास्थ्य नीतिहरूले पनि दुर्गम तथा सीमान्तकृत समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएका छन्। तर, यार्सागुम्बा सङ्कलन क्षेत्रमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी कसको हो? हिमाली क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पूर्ण पहुँचका लागि स्रोत सुनिश्चितताको मुख्य जिम्मेवारी कसको हो? यार्सागुम्बा लगायतका जडीबुटीबाट सङ्कलित राजस्वको केही हिस्सा स्वास्थ्य क्षेत्रमा विनियोजन कसले गर्ने? हिमाली जिल्लाका श्रमिक (यार्सागुम्बा र अन्य जडीबुटी सङ्कलक तथा भेडापालक) हरूको व्यवसायजन्य स्वास्थ्यलाई प्राथमिकतामा कसले राख्ने? जस्ता प्रश्नहरूले जनस्वास्थ्य क्षेत्रलाई गिज्याइरहेको देखिन्छ।
यी समस्याहरूलाई समाधान गर्नका लागि केही ठोस कदम चाल्न सकिन्छ। प्राथमिक उपचार, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने गरी अस्थायी शिविर हुने स्थानमा 'मौसमी मोबाइल स्वास्थ्य सेवा' सञ्चालन गर्न सकिन्छ। सन्निकटताको सिद्धान्त अनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहको मूल जिम्मेवारी स्थानीय सरकारको भएकाले सेवा प्रवाहमा जिम्मेवार बनाउनका लागि वित्तीय स्रोत सुनिश्चितता सहितको कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्छ। तर, दुर्गम हिमाली क्षेत्रमा आपत्कालीन उद्धार र प्रेषण प्रणालीका लागि हेलिकप्टर उद्धार सेवाका साथै टेलिमेडिसिन सेवामा प्रदेश वा सङ्घ सरकारले काम गर्नुपर्छ। यार्सागुम्बा सङ्कलन क्षेत्र तथा अस्थायी बस्तीहरूमा सुरक्षित खानेपानी, अस्थायी शौचालय, फोहर व्यवस्थापन र सुरक्षित आवासको व्यवस्था गर्न प्रदेश र सङ्घ सरकार अग्रसर हुनुपर्छ। यार्सागुम्बा लगायतका जडीबुटीबाट प्राप्त राजस्वको निश्चित हिस्सा हिमाली स्वास्थ्य सेवा, उद्धार प्रणाली, अस्थायी स्वास्थ्य केन्द्र निर्माण, मोबाइल स्वास्थ्य सेवा र स्वास्थ्य सामग्री व्यवस्थापनमा खर्च गर्न आवश्यक नीति पनि सङ्घ सरकारले बनाइदिनुपर्छ।
अन्त्यमा, साइपाल हिमालको सुन्दरताभित्र धेरै मौन पीडाहरू लुकेका छन्। हिमाली समुदायको स्वास्थ्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको विषय मात्र होइन; यो एक सामाजिक न्याय, मानव अधिकार र दिगो विकाससँग जोडिएको विषय पनि हो। यदि राज्यले दुर्गम हिमाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेन भने 'स्वास्थ्य सबैको अधिकार' भन्ने व्यवस्था व्यवहारमा पूर्ण रूपमा स्थापित हुन सक्दैन।
-(रमेश कुँवर जनस्वास्थ्य विज्ञ हुन्। उनले सार्वजनिक प्रशासनमा एम.फिल गरेका छन्।)