काठमाडौं- नेपाल बायोमेडिकल एसोसिएसनको दोस्रो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले विकेस श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अनु नेपाली, सचिवमा निशेष खतिवडा, कोषाध्यक्षमा उत्तम पोखरेल र सह-सचिवमा राजेश आचार्य चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा सुशील सिटौला, ताराबहादुर कुबर, सुजन बाबु बास्तोला, जीवन गौतम, श्रीजन गौतम र कञ्चन चौधरी चयन भएका छन्।
अधिवेशनमा बायोमेडिकल क्षेत्रको व्यावसायिक विकास, स्वास्थ्य उपकरणको सुरक्षित तथा प्रभावकारी व्यवस्थापन, प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र पेशागत हकहितका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा बायोमेडिकल पेशाकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
नवनिर्वाचित अध्यक्ष विकेस श्रेष्ठले संस्थालाई थप सशक्त र क्रियाशील बनाउँदै बायोमेडिकल क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको हित, क्षमता विकास तथा पेशागत एकताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित कोषाध्यक्ष उत्तम पोखरेलले स्वास्थ्य क्षेत्रमा बायोमेडिकल प्राविधिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि उनीहरूको हकहित, सेवा–सुविधा तथा पेशागत विकासका विषयमा सम्बन्धित निकायबाट पर्याप्त ध्यान नपुगेको भन्दै दुःख व्यक्त गरे।
उनले अस्पतालहरूमा स्वास्थ्य उपकरणहरूको सञ्चालन, मर्मतसम्भार तथा व्यवस्थापनमा बायोमेडिकल प्राविधिकहरूको योगदान महत्वपूर्ण रहे पनि स्वास्थ्य मन्त्रालयले उनीहरूको पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न नसकेको बताए। साथै, बायोमेडिकल प्राविधिकहरूको क्षमता विकास, दरबन्दी व्यवस्थापन तथा पेशागत सुरक्षाका लागि स्पष्ट नीति आवश्यक रहेकोमा जोड दिए।
वि.सं. २०७७ सालमा स्थापित नेपाल बायोमेडिकल संघ एक गैरनाफामूलक र गैरराजनितिक संस्था हो। स्थापना कालदेखि नै एसोसिएसनले बायोमेडिकल क्षेत्रको विकास, बायोमेडिकल प्राबिधिकहरुको क्षमता अभिवृद्धि, स्वास्थ्य उपकरण व्यवस्थापन सम्बन्धी सचेतना, तालिम तथा पेशागत हकहितका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले बायोमेडिकल पेशाकर्मीहरूको एकता, अधिकार र व्यावसायिक हितका लागि निरन्तर काम गर्दै आइरहेको जनाएको छ।