चितवन- नेपाल चिकित्सक संघको ३०औं अखिल नेपाल चिकित्सक सम्मेलन (अनेमेकन) कार्यक्रम सम्पन्न भएको छ।
चितवनको भारतपुर्स्थित बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई दिनसम्म चलेको सम्मेलन आइतबार साँझ सफलतापूर्वक सम्पन्न भएको हो।
नेपालको स्वास्थ्य अनुसन्धान, चिकित्सा ज्ञानको प्रवर्द्धन तथा स्वास्थ्य सेवा सुदृढीकरणमा केन्द्रित सो दुई दिने सम्मेलन भव्य रूपमा सम्पन्न भएको चिकित्सक संघले जनाएको छ।
नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा. महेन्द्र अग्रहरीका अनुसार यस कार्यक्रमले वैज्ञानिक ज्ञानको आदान-प्रदान, चिकित्सा अनुसन्धानको प्रसार, बहु-विषयगत सहकार्य र स्वास्थ्य क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई बढावा दिन महत्वपूर्ण मञ्च प्रदान गरेको छ।
सम्मेलनमा देशभरका स्वास्थ्यकर्मी, वरिष्ठ चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता तथा चिकित्सा शास्त्रका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको वैज्ञानिक सत्रहरूमा स्वास्थ्य सेवाको गुणस्तर बढाउन, प्रमाणमा आधारित चिकित्सकीय अभ्यासलाई प्रवर्द्धन गर्न र नेपालको विद्यमान स्वास्थ्य प्रणालीलाई थप बलियो बनाउने विषयमा गहन छलफल भएको थियो।
सम्मेलनको पहिलो दिन चिकित्सा तथा सम्बद्ध विज्ञान, शल्यचिकित्सा, प्रतिरक्षा विज्ञान, प्रसूति तथा स्त्रीरोग लगायतका विविध विषयमा ७ वटा समसामयिक र १ वटा पेनल सत्र सञ्चालन गरिएको थियो। सो क्रममा १७ वटा वैज्ञानिक कार्यपत्र र ७ वटा पोष्टर सत्र सफलतापूर्वक प्रस्तुत गरिएका थिए।
विशेषगरी मौखिक प्रस्तुतिहरू मार्फत क्यान्सर उपचारका आधुनिक रैथाने पद्धति, रोबोटिक चिकित्सा, आकस्मिक चिकित्सा, मुटुरोग, मेटाबोलिक सिन्ड्रोम, दीर्घरोग व्यवस्थापन, ट्रमा सेवा, बाँझोपन र नवीनतम निदान प्रविधिहरूका क्षेत्रमा हासिल भएका उपलब्धि र वर्तमान चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरिएका थिए।
विज्ञहरूबीचको अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रले चिकित्सा क्षेत्रमा आपसी सहकार्यका नयाँ सम्भावनाहरूलाई उजागर गरेको आयोजकले जनाएको छ।
सम्मेलनको दोस्रो दिन मौखिक सारांश प्रस्तुति, पोस्टर प्रस्तुति तथा वैज्ञानिक मूल्याङ्कन कार्यक्रम सम्पन्न भयो। देशभरका अनुसन्धानकर्ताहरूले मौलिक अनुसन्धान, चिकित्सकीय नवप्रवर्तन, जनस्वास्थ्य अध्ययन तथा विशिष्ट र रोचक केस रिपोर्टहरू प्रस्तुत गरेका थिए। यस सत्रले विशेषगरी युवा अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरूलाई आफ्ना शोधहरू प्रस्तुत गर्न र वरिष्ठ विज्ञहरूबाट मार्गदर्शन प्राप्त गर्न ठूलो अवसर प्रदान गरेको अग्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पोस्टर प्रस्तुतिहरूमा चिकित्सा शिक्षा, शल्यचिकित्सा, नेत्ररोग, प्रसूति सेवा तथा स्वयं चिकित्सकहरूको मानसिक एवं व्यावसायिक स्वास्थ्य सम्बन्धी अनुसन्धानहरू समावेश गरिएका थिए। सम्मेलनमा उत्कृष्ट अनुसन्धानहरूको वैज्ञानिक मूल्याङ्कन गरी सहभागीहरूलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो।
नेपाल चिकित्सक संघ चितवन शाखाले यो सम्मेलन नेपालको चिकित्सा समुदायको बढ्दो क्षमता र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको साझा संकल्पको उत्कृष्ट उदाहरण बनेको उल्लेख गरेको छ। सम्मेलनले चिकित्सा क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्न र समग्र स्वास्थ्य सेवा सुधारका लागि राज्य तथा सरोकारवालाको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास लिइएको छ।
आयोजक समितिका तर्फबाट सचिव डा. अग्रहरीले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने सम्पूर्ण वक्ता, निर्णायक, प्रस्तुतकर्ता, प्रायोजक, साझेदार संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।