काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा ‘समता कर’का नाममा ३ प्रतिशत कर लगाउने घोषणा गरेपछि त्यसबारे विभिन्न प्रश्न उठिरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्ले पत्रकार सम्मेलनमा सो विषयमा थप स्पष्ट हुन चाहेनन्।
बजेट प्रस्तुत गरेपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले स्वास्थ्य तथा शिक्षा समता करको उद्देश्य, कार्यान्वयनको ढाँचा र यसले पार्ने प्रभावबारे प्रश्न गरेका थिए। तर अर्थमन्त्री वाग्लेले उक्त विषयमा विस्तृत जवाफ दिन अस्वीकार गर्दै बजेट वक्तव्यकै क्रममा यसबारे जानकारी दिइसकेको बताएका थिए।
प्रश्नको जवाफमा उनले संक्षिप्त रूपमा भने, “त्यसबारे हिजै कुरा गरिसकेको छु।”
सरकारले यस वर्षको बजेटमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच र अवसरको समानता प्रवर्द्धन गर्ने उद्देश्यसहित ३ प्रतिशत समता करको व्यवस्था गरेको जनाएको छ। तर करले बिरामीमाथि भार थपिने बताउँदै सरोकारवालाहरूले खारेज गर्न माग गरिरहेका छन्।
पत्रकार सम्मेलनमा अर्थमन्त्रीले करसम्बन्धी अन्य विषयमा भने प्रतिक्रिया दिए पनि समता करबारे उठेका जिज्ञासामा विस्तृत उत्तर नदिई विषय टारेका थिए। यसले नयाँ कर व्यवस्थाबारे सरकारको तयारी र स्पष्टतामाथि थप प्रश्न खडा गरेको छ।