शनिबार बिहान करिब १० बजेको समय थियो। म धौलागिरी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा थिएँ। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको जिम्मेवारी मेरो थियो। अस्पतालमा मेडिकल अफिसरको रूपमा काम सुरु गरेको करिब तीन महिना मात्रै भएको छ, तर यो छोटो अवधिमै मैले स्वास्थ्यकर्मीले भोग्नुपरेको असुरक्षा र मानसिक दबाबको गहिरो अनुभव गर्नुपर्यो।
त्यो दिन आकस्मिक कक्षमा ६ जना सिकिस्त बिरामीको उपचार भइरहेको थियो। कोही श्वासप्रश्वासको समस्यामा थिए, कोही गम्भीर चोटपटकका बिरामी थिए। त्यहीबीच करिब ४० वर्षकी एक महिला देब्रे नाकबाट रगत बगिरहेको अवस्थामा अस्पताल आइपुगिन्। उनी आफैं हिँडेर आकस्मिक कक्षसम्म आएकी थिइन्। आउनासाथ अत्यन्त हतार र आक्रोशका साथ 'डाक्टर खोइ ?' भन्दै चिच्याउन थालिन्।
मैले तत्काल उनको अवस्था मूल्यांकन गरेँ। अन्य बिरामीहरूको तुलनामा उनको अवस्था कम जोखिमयुक्त देखियो। विश्व स्वास्थ्य संगठनको ट्रायाज प्रोटोकलअनुसार उनी “ग्रीन जोन” मा पर्ने बिरामी थिइन्, अर्थात् केही समय पर्खाएर उपचार गर्न सकिने अवस्था थियो। त्यसैले मैले उनलाई केही समय कुर्न अनुरोध गरेँ र पहिले सिकिस्त बिरामीहरूको उपचारमा ध्यान दिएँ।
तर मेरो त्यो निर्णय उनीहरूलाई स्वीकार्य भएन। बिरामी र उनका आफन्तहरू क्रमशः आक्रामक बन्दै गए। उनीहरूले उपचार टिकटसमेत लिएका थिएनन्। मैले नियमअनुसार टिकट लिएर आउन आग्रह गरेँ, तर त्यसको सट्टा ममाथि चर्को स्वरमा कराउन, गाली गर्न र धम्क्याउन सुरु भयो।
धौलागिरी अस्पतालमा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ। जुनसुकै बेला स्वास्थ्यकर्मीमाथि आक्रमण हुन सक्ने डर रहिरहन्छ। बिरामीका आफन्तहरू उपचार प्रक्रियाभन्दा बढी दबाब र हल्ला गर्नतर्फ केन्द्रित हुने अवस्था छ। यसअघि पनि धेरै स्वास्थ्यकर्मीले यस्ता अभद्र व्यवहार भोगेका छन्, तर ती घटनाहरू बाहिर आउन सकेका छैनन्।
त्यो दिन पनि अवस्था असामान्य बन्दै गइरहेको थियो। अत्यन्त कम जनशक्तिबीच काम गरिरहेको अवस्थामा ममाथि अभद्र व्यवहार भएपछि मैले आकस्मिक कक्षका इन्चार्जलाई फोन गरेँ। मैले थप जनशक्ति पठाइदिन र सुरक्षाका लागि प्रहरी बोलाइदिन अनुरोध गरेँ, किनकि मैले आफूलाई असुरक्षित महसुस गरिरहेको थिएँ।
तर फोन गरेपछि स्थिति झन् बिग्रियो। बिरामी र उनका २–३ जना आफन्तहरू टेबुल ठोक्दै अनेक गालीगलौज गर्न थाले। उनीहरूले हातपातको प्रयाससमेत गरे। बिरामी आफैंले मेरो एप्रोन समातेर पछाडि धकेलिन्। त्यतिबेला अन्य कर्मचारीले नछुट्याएको भए ठूलो अप्रिय घटना हुन सक्थ्यो। म एक चिकित्सक भएर बिरामी बचाउन उभिएको थिएँ, तर त्यही ठाउँमा आफ्नै सुरक्षाको डरले थरथराउनुपर्ने अवस्था आयो।
पछि प्रहरी आइपुगेपछि मात्रै उनीहरू त्यहाँबाट भागे।
घटनापछि अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ। दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको जानकारी पाएको छु। तर प्रश्न केवल एउटा घटनाको होइन, समग्र स्वास्थ्य प्रणालीको हो।
धौलागिरी प्रादेशिक अस्पतालमा न्यून जनशक्तिबीच अत्यधिक कामको चाप छ। नयाँ कर्मचारी राख्न नखोज्ने, भएका कर्मचारीलाई टिकाउन नसक्ने, तलब–भत्ता समयमै नदिने जस्ता समस्या लामो समयदेखि छन्। यसले स्वास्थ्यकर्मीहरू निरुत्साहित भएका छन्।
अस्पतालमा बिरामीसँग अत्यधिक कुरुवा आउने, मोबाइल चलाउने, ठूलो आवाज गर्ने र चिकित्सकीय वातावरण नै प्रभावित गर्ने प्रवृत्ति बढ्दो छ। यस्तो वातावरणमा चिकित्सकले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर काम गर्न सक्ने अवस्था रहँदैन। अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुरक्षा र कार्यवातावरणप्रति गम्भीरता नदेखाउँदा मानसिक तनाव झन् बढिरहेको छ।
देश र जनताको सेवा गर्ने उद्देश्यले चिकित्सक बनेका हामीले यदि अस्पतालभित्रै हातपात र अपमान सहनुपर्यो भने भविष्यमा धेरै चिकित्सक विदेश पलायन हुने खतरा अझ बढ्नेछ।
म अहिले पनि मानसिक रूपमा निकै प्रभावित छु। अस्पताल प्रशासनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ, तर व्यवहारमा त्यो कति कार्यान्वयन हुन्छ भन्ने हेर्न बाँकी छ।
म स्पष्ट रूपमा भन्न चाहन्छु, जबसम्म म अस्पतालभित्र आफूलाई सुरक्षित महसुस गर्दिनँ, तबसम्म काममा फर्किने मनस्थितिमा छैन। यो घटना केवल मेरो व्यक्तिगत पीडा होइन, नेपालका स्वास्थ्यकर्मीहरूले दैनिक भोगिरहेको असुरक्षाको एउटा प्रतिनिधि घटना हो।
-(स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)