काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पतालहरूका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको छ। सम्पत्ति छानबिन आयोगको पत्रअनुसार मन्त्रालयले विवरण सङ्कलनको प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाद्वारा जारी परिपत्रअनुसार आर्थिक वर्ष २०६२/०६३ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म रा.प. प्रथम श्रेणी (सहसचिव) वा सो सरह र सोभन्दा माथिल्लो पदमा कार्यरत रहेका अधिकारीहरूको विवरण माग गरिएको छ।
यस्तै सो अवधिमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बहालवाला तथा अवकाशप्राप्त पदाधिकारी एवं कर्मचारीहरूको विवरणसमेत ३ दिनभित्र बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयले जारी गरेको पत्रमा आर्थिक वर्ष २०४८ भन्दा अगाडि सेवा प्रवेश गरी आव २०६२/०६३ पछि अवकाश भएका कर्मचारीहरूको हकमा समेत विवरण उपलब्ध गराउन भनिएको छ। सम्पत्ति विवरण सङ्कलन, छानबिन र प्रतिवेदन गर्ने प्रयोजनका लागि आयोगको पत्रबमोजिम यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका शाखा अधिकृत कौशल पाण्डेद्वारा हस्ताक्षरित पत्रमा मातहतका सबै निकायलाई सम्बन्धित पदाधिकारी/कर्मचारीको नाम, थर, ठेगाना (वतन), टेलिफोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगानासहितको विवरण सफ्टकपीमा मन्त्रालयको आधिकारिक इमेल ([email protected]) मा ३ दिनभित्र अनिवार्य रूपमा पठाइसक्न आदेशानुसार अनुरोध गरिएको छ।
हेरौं पत्र
