काठमाडौं- नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा आफ्नो विशेषज्ञताको विवरण अद्यावधिक नगरिएको भन्दै एक चिकित्सकले गुनासो गरेका छन्। काउन्सिलको लापरवाहीका कारण आफ्नो सामाजिक प्रतिष्ठामात्र होइन, विवाहका लागि समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।
एक सर्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा उजुरी दर्ता गर्दै काउन्सिलको डिजिटल प्रणाली र प्रशासनिक ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन्।
चौधरीका अनुसार उनले आवश्यक प्रक्रिया पूरा गरी ११ हजार रुपैयाँ दस्तुर तिरेर विशेषज्ञ परीक्षा उत्तीर्ण गरेका छन् र ‘मास्टर अफ सर्जरी (एमएस)’ को प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। तर नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइटमा आफ्नो दर्ता नम्बर २***१ राखेर खोज्दा अझै पनि शैक्षिक योग्यता ‘एमबीबीएस’ मात्र देखिने गरेको उनले बताएका छन्।
'विवाहको कुरा चल्दा केटी पक्षले सत्यता बुझ्न काउन्सिलको वेबसाइट हेर्छन्। वेबसाइटमा विशेषज्ञता नदेखिएपछि म सर्जन नभएको र गलत जानकारी दिएको भन्ने सन्देश जाने गरेको छ,' उनले उजुरीमा उल्लेख गरेका छन्।
उनले काउन्सिलले शुल्क लिएर प्रमाणपत्र जारी गरे पनि डिजिटल अभिलेख अद्यावधिक नगर्दा चिकित्सकहरूको सामाजिक प्रतिष्ठामा असर परेको बताएका छन्। उनले यस समस्याको समाधानका लागि नागरिक एपसँग पनि काउन्सिलको विवरण आबद्ध गरी वास्तविक योग्यता सहज रूपमा प्रमाणित गर्न सकिने व्यवस्था गर्न सुझाव दिएका छन्।
चौधरीले अर्को महत्वपूर्ण विषयका रूपमा नेपाली चिकित्सकहरूको शैक्षिक योग्यतालाई भारतमा मान्यता दिलाउन काउन्सिलले पहल नगरेको आरोप लगाएका छन्। नेपालमा चिकित्सकहरूको पारिश्रमिक कम रहेको र योग्यताअनुसारको रोजगारी पाउन कठिन भइरहेको अवस्थामा भारतको नेशनल मेडिकल कमिसन (एनएमसी) सँग समन्वय गरी नेपाली विशेषज्ञ डिग्रीलाई मान्यता दिलाउनुपर्ने उनको माग छ।
उनका अनुसार भारतसँग खुला सिमाना भएकाले नेपाली चिकित्सकहरूले भारतीय सहरहरूमा समेत सेवा दिन सक्ने अवस्था बनेमा आर्थिक अवसर विस्तार हुने र विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्नेछ।
हेलो सरकारमार्फत उनले नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा आफ्नो ‘मास्टर अफ सर्जरी (एमएस)’ योग्यता तत्काल अद्यावधिक गर्न र नेपाली चिकित्सकहरूको प्रमाणपत्रलाई भारतमा मान्यता दिलाउने विषयमा दुई देशका नियामक निकायबीच वार्ता तथा सहकार्य अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
उनको गुनासोको बेहोरा
श्रीमान् सचिव,
हेलो सरकार कक्ष,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौँ।
बोधार्थ तथा आवश्यक कारबाहीका लागि:
श्रीमान् रजिस्ट्रार,
नेपाल मेडिकल काउन्सिल,
बाँसबारी, काठमाडौँ।
विषय: अनलाइन प्रोफाइल अध्यावधिक नगरिएको र शैक्षिक उपाधिको पारस्परिक मान्यता (Reciprocity) का लागि पहल नगरिएको सम्बन्धमा।
महोदय,
म नेपाल मेडिकल काउन्सिलमा दर्तावाल चिकित्सक (सर्जन) हुँ। यसअघि हेलो सरकारमा दर्ता भएको मेरो उजुरी नम्बर १३०९४३ को सन्दर्भ जोड्दै काउन्सिलको गम्भीर लापरवाही र उदासिनताका कारण भोग्नुपरेका समस्याहरूतर्फ ध्यानाकर्षण गराउन यो पत्र पेश गरेको छु।
पहिलो समस्या काउन्सिलको डिजिटल प्रणाली र प्रशासनिक ढिलासुस्तीसँग सम्बन्धित छ। मैले आवश्यक प्रक्रिया पूरा गरी, नियमानुसार ११,००० रुपैयाँ दस्तुर बुझाएर विशेषज्ञ परीक्षा उत्तीर्ण गरी काउन्सिलबाट विशेषज्ञताको प्रमाणपत्र प्राप्त गरिसकेको छु। तर, काउन्सिलको आधिकारिक वेबसाइटमा मेरो काउन्सिल नम्बर २***१ राखेर खोज्दा अहिलेसम्म वि.सं. २०८३ (सन् २०२६) मा पनि शैक्षिक योग्यता 'एमबीबीएस' मात्र देखाइरहेको छ, सर्जनको रूपमा अध्यावधिक गरिएको छैन।
यस प्राविधिक तथा प्रशासनिक लापरवाहीले मेरो सामाजिक र व्यक्तिगत जीवनमा गम्भीर असर पुर्याएको छ। विवाहको कुरा चल्दा केटी पक्षले सत्यता जाँच्न काउन्सिलको वेबसाइट हेर्ने गर्छन्। त्यहाँ विशेषज्ञता नदेखिँदा "यो मान्छे सर्जन होइन, ढाँटेको हो" भन्ने गलत सन्देश प्रवाह भइरहेको छ। राज्यको जिम्मेवार निकायले मोटो रकम लिएर सर्टिफिकेट बाँड्ने तर आफ्नो डिजिटल डाटाबेस अपडेट नगर्ने प्रवृत्तिले चिकित्सकहरूको सामाजिक प्रतिष्ठामाथि खेलबाड गरिरहेको छ।
दोस्रो समस्या, नेपाली चिकित्सकहरूको वृत्तिविकास र काउन्सिलको अन्तर्राष्ट्रिय समन्वयको अभावसँग जोडिएको छ। मैले व्यक्तिगत रूपमा काउन्सिलका पदाधिकारी डाक्टरहरूलाई पटक-पटक ईमेलमार्फत र अन्य माध्यमबाट अनुरोध गर्दा पनि नेपालको शैक्षिक उपाधिलाई भारतमा मान्यता (Validity) दिलाउन काउन्सिलले कुनै ठोस पहल गरेको छैन।
नेपालमा चिकित्सकहरूको पारिश्रमिक अत्यन्त न्यून छ र योग्यताअनुसारको रोजगारी पाउन समेत धौधौ परिरहेको अवस्था छ। हाम्रो देश भारतसँग खुला सिमाना र सांस्कृतिक सामिप्यता बोकेको मुलुक हो। यदि नेपाल मेडिकल काउन्सिलले भारतको नेशनल मेडिकल कमिसन (NMC) सँग समन्वय गरेर नेपाली विशेषज्ञ डिग्रीलाई त्यहाँ मान्यता दिलाउन सकेको भए सीमावर्ती क्षेत्रका नेपाली डाक्टरहरूले भारतीय शहरहरूमा गएर पनि सेवा प्रदान गर्न र राम्रो आम्दानी गर्न सक्ने थिए। यसबाट नेपाली डाक्टरहरूको आर्थिक स्तर सुदृढ हुनुका साथै देशमा विदेशी मुद्रा भित्रिने बाटो खुल्ने थियो। यस्तो महत्वपूर्ण र दुरगामी विषयमा काउन्सिल किन मौन र निष्क्रिय बसेको छ?
अतः हेलो सरकारसमक्ष मेरो विनम्र अनुरोध छ कि यस विषयमा तत्काल हस्तक्षेप गरी:
१. नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा मेरो काउन्सिल नम्बर २२६२१ को प्रोफाइलमा तुरुन्त 'मास्टर इन सर्जरी' (MS) योग्यता अध्यावधिक गर्न निर्देशन दिइयोस्।
link with nagarik app also.
२. नेपाली चिकित्सकहरूको प्रमाणपत्रलाई भारतमा पनि मान्यता दिलाउने गरी दुई देशका काउन्सिलबीच उच्चस्तरीय वार्ता र सम्झौता अगाडि बढाउन आवश्यक पहल कदमी चालियोस्।
यस विषयमा सकारात्मक र द्रुत कारबाहीको अपेक्षा गर्दछु।
निवेदक,
******************
मिति: जुन ९, २०२६