‘१० वर्ष अघि ह्वीलचियरमा राखेर तिमीलाई यही ल्याइएको थियो। सास मात्र चलिरहेको थियो तिम्रो। त्यतिबेला तिमीलाई यहाँ ल्याइएको पनि पछि मात्र थाहा भएको थियो है बाबा !’ म डाक्टर अचलाको ओपीडीमा पुग्दै गर्दा उनी बिरामीको हातमा हात राखेर गफ गर्दै थिइन्।
‘त्यस्तो अवस्थाको बिरामी यही हो कि जस्तो लाग्छ अहिले मलाई पनि। अहिले त खुशी पनि छौ, स्वास्थ्य अवस्था पनि राम्रो छ। सधैँ यस्तै खुसी रहनु, स्वस्थ रहनु है बाबा !’ ३३ वर्षकी एक महिलालाई डा अचला आफ्नी छोरीलाई जस्तै गरी सम्झाउँदै बुझाउँदै थिइन्। ती महिला र उनका श्रीमान् बिदा भएपछि डाक्टर अचला आफ्नो कुर्सीमा बसिन्। एकछिन सोचमग्न भइन्। र सुनाइन्, उनको आँखामा घुमिरहने १० वर्ष अघिको एउटा केस...
000
प्रा. डा. अचला वैद्य नर्भिक अस्पतालको ओपीडीमा बिरामी हेर्दै थिइन्। केही व्यक्तिहरु एक महिलालाई ह्वीलचियरमा अक्सिजन लगाएरै ओपीडीमा लिएर आए।
डा अचला अन्योलमा परिन्। बिरामी बेहोसीको अवस्थामा थिइन्। डा अचलाले कागजपत्र मागिन्। तर बिरामीका आफन्त रेफर कागज नै नलिई आएका रहेछन्। उनले कागजपत्र लिएर चिकित्सकको सिफारिस अनुसार रेफर हुन सुझाइन्। बिरामीका आफन्तले तुरुन्त पहिला उपचार भइरहेको अस्पतालबाट रेफरल पत्र ल्याए। डा अचलाले कागजपत्र हेरिन्–इन्भेजिभ मोल (invasive mole) डाइग्नोस भएको तर पाठेघर फाल्ने वा राख्नेबारे अन्योल रहेको जस्तो देखियो।
बिरामीको थप इतिहास पल्टाउँदै जाँदा थाहा भयो– धादिङकी २३ वर्षीया यी महिलाको दुई महिनाको गर्भावस्थामा रक्तश्राव भएर काठमाडौंको एक अस्पताल (अस्पतालको नाम नखुलाइएको) पुगेकी रहिछन्। अल्ट्रासाउन्ड गर्दा गर्भ खेर गएको तर गर्भको केही भाग पाठेघरभित्रै रहेको देखिएपछि सफा गरेर घर पठाइएको रहेछ। तर रक्तश्राव रोकिएन। उनी फेरि सोही अस्पताल पुगिन्। फेरि अल्ट्रासाउन्ड गर्दा पाठेघरमा केही बाँकी रहेको भन्दै पुनः सफा गरियो। तर रक्तश्राव अझै रोकिएन। अत्याधिक रक्तश्राव भएपछि परिवारले उनलाई धादिङबाट एम्बुलेन्समार्फत काठमाडौं ल्याए। अवस्था जटिल हुँदै गएपछि एक महिनाभन्दा बढी समय आईसीयूमा राखेर उपचार गरियो। तर सुधार आएन। अन्ततः उनलाई इन्भेजिभ मोल अर्थात् पाठेघरभित्रको सालसम्बन्धी गम्भीर समस्या देखिएको रहेछ। जसलाई चिकित्सकीय भाषामा ‘प्लासेन्टाको एब्नर्मल प्याथोलोजी’ भनिन्छ।
एब्नर्मल प्लासेन्टेसन भएकाले उनको रक्तश्राव रोकिएको थिएन। डा वैद्यका अनुसार यो रोग लागेपछि साल पाठेघरभित्रै फैलिँदै जान्छ र पाठेघर राम्रोसँग खुम्चिन सक्दैन, जसले गर्दा रक्तश्राव रोकिँदैन।
साल फैलिँदै जाँदा पाठेघरको मांसपेशी छेडेर बाहिरसम्म पुग्ने र रक्तश्राव झन् बढ्ने अवस्था हुन्छ। बिरामीलाई निरन्तर रगत चढाइँदै थियो। अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो। डेढ महिनासम्म अस्पतालमा राख्दा बिरामी निकै नाजुक भइसकेकी थिइन्।
नर्भिकमा आएपछि बिरामीलाई आईसीयूमा राखियो। प्रेग्नेन्सीको बिटा-एचसीजी (β-hCG) हर्मोन परीक्षण गर्दा अत्यन्तै उच्च देखियो। डा अचलाको टिमले यो केस इन्भेजिभ मोल नै भएको निष्कर्ष निकाल्यो। रोग फैलिँदै जाँदा पाठेघर फुट्न थालेको अवस्था थियो।
डा अचलाले यसलाई क्यान्सरजस्तै आक्रामक रोग भएकाले क्यान्सरको बिरामीझैँ उपचार प्रक्रिया अघि बढाउनुपर्ने देखिन्। उनले वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञलाई पनि बोलाइन्। उनीहरुले भने– 'यो केस निकै गम्भीर छ, बिरामी बाँच्ने सम्भावना कम छ।'
‘२३ वर्षकी ती महिलालाई बचाउन पाए हुन्थ्यो भनेर म र डा अमृता गिरी राति १० बजेसम्म आईसीयूमा उनलाई हेर्दै बस्यौं। घर जाने मन नै लाग्दैनथ्यो,’ डा वैद्यले सम्झिइन्, ‘पाठेघर त ज्वालामुखी फुटेजस्तै गरी फुट्ने र रगत बग्ने अवस्था थियो।’
ती युवतीको जीवन बचाउने अन्तिम विकल्प पाठेघरको शल्यक्रिया गरेर निकाल्नु मात्र थियो। तर समस्या त्यति सजिलो थिएन, अत्यधिक रक्तश्राव हुने जोखिम उच्च थियो।
बिरामीका आफन्तहरू रगतको व्यवस्था गर्दै थिए। डा अचलाले उनीहरूलाई बोलाएर काउन्सिलिङ गरिन्। ‘मैले उहाँलाई बचाउन सक्छु भन्ने ग्यारेन्टी दिन सक्दिनँ। रोग नै पाठेघरभित्र फैलिएको छ, त्यसैले पाठेघर निकाल्नुपर्छ। धेरै रगत चाहिन्छ। ब्लड बैंक भएको अस्पतालमा लैजानुस्।’
त्यसपछि बिरामीका आफन्तहरू एक पूर्वमन्त्री र अन्य नातेदारहरू लिएर डा अचलाको ओपीडीमा आए। पूर्वमन्त्रीले भावुक हुँदै भने, 'आवश्यक परे जति पनि रगत उपलब्ध गराउँछौं, कृपया उपचार गर्नुहोस्।'
रगतको व्यवस्थामा आफन्त नै सक्रिय भएपछि शल्यक्रियामा अघि बढ्नुपर्ने अवस्था बन्यो। तर अर्को ठूलो चुनौती थियो, 'यति कमजोर अवस्थामा बिरामीलाई कसरी एनेस्थेसिया दिएर शल्यक्रियाका लागि तयार पार्ने ?'
सास मात्रै चलिरहेकी बिरामीलाई शल्यक्रिया गर्ने सोच नै डा वैद्यलाई भारी भइरहेको थियो।
‘आजसम्म गरेको कुनै पनि सर्जरी असफल भएको थिएन। तर यो केसमा केही भइहाल्यो भने मेरो वर्षौंको प्रतिष्ठा गुम्छ,’ डा अचलालाई तनाव भयो।
उनले नर्भिकका वरिष्ठ डा. यादव भट्टसँग पनि सल्लाह गरिन्। बिरामीका आफन्तलाई पनि उहाँकै ओपीडीमा बोलाइयो।
डा वैद्यले डा भट्टको उपस्थितिमा पूर्वमन्त्रीसहित सबैलाई भनिन्, ‘मैले प्रयास त गर्नेछु, तर अवस्था अत्यन्त क्रिटिकल छ। शल्यक्रियाको क्रममा ज्यान जाने जोखिम पनि छ। यदि सहमत हुनुहुन्छ भने कन्सेन्ट पेपरमा साइन गर्नुहोस्।’
पूर्वमन्त्रीले दृढतापूर्वक भने, ‘साइन गर्छु, कृपया सर्जरी गर्नुहोस्। रगत हामी मिलाउँछौं।’
बिरामीका आफन्तको त्यो विश्वासले डा अचलालाई ठूलो जिम्मेवारीको भार महसुस गरायो। भोलिपल्ट सर्जरी गर्ने निर्णय भयो।
डा अचला रातभर सुत्न सकिनन्। ‘शल्यक्रियाका क्रममा रक्तश्राव नियन्त्रण कसरी गर्ने भन्ने विषयमै रातभर अध्ययन गरिरहेँ,’ उनले सुनाइन्।
उनले अत्यधिक रक्तश्राव रोक्न अन्तिम विकल्पका रूपमा ग्लुको प्रयोगबारे विचार गरिन्। त्यो ग्लुको एक प्याकेट नै त्यतिबेला १० हजार रुपैयाँ पर्थ्यो। उनले श्रीमान्को कम्पनीबाट त्यो ग्लु मागिन्।
डा वैद्यका श्रीमान्ले भोलिपल्ट ओटी बाहिर ग्लु ल्याइदिए।
ती युवतीको शल्यक्रियाको तयारी भयो। नर्भिककै एनेस्थेसियोलोजिस्ट, नर्स र अन्य टोली तयार थिए। आवश्यक परे रगत दिन युवाहरू पनि बाहिरै तयार बसे।
‘पहिलो पटक स्कालपेल (चक्कु) चलाउँदा हात काँपिरहेको थियो। तर बिरामीका आफन्तको विश्वास बचाउनुपर्ने थियो,’ डा अचलाले सम्झिइन्, ‘एनेस्थेसिया दिएपछि शल्यक्रिया सुरु गरियो। छियाछिया भएको पाठेघर निकालियो। तर त्यो ग्लुको आवश्यकता परेन।’
शल्यक्रिया सफल भयो। बिरामीलाई आईसीयूमा राखियो।
डा अचला ओटीबाहिर निस्किँदा युवतीकी आमा उनको खुट्टा समातेर ढोग्न आइपुगिन्। ‘डाक्टर भगवान् होइनन् भन्ने सुनेको थिएँ, तर आज तपाईंलाई भगवान् जस्तै देखेँ,’ उनी भावुक भइन्।
शल्यक्रिया सफल भए पनि बिरामी पूर्ण रूपमा निको हुन्छिन् कि हुँदैनन् भन्ने अझै अनिश्चित थियो। केही दिनपछि उनको अवस्थामा सुधार आयो।
‘उमेर कम भएकाले पनि शरीरले रोगसँग लड्न सकेको हुन सक्छ,’ डा अचलाले भनिन्, ‘पछि अवस्था क्रमशः सुधार हुँदै वार्डमा सारियो।’
डा अचलाले श्रीमान्लाई बोलाएर काउन्सिलिङ गरिन्। ‘हामीले उहाँलाई बचाएका छौं, पाठेघर निकालिएको छ। कृपया उहाँलाई साथ दिनुहोस्।’
पछि उनले बिरामी युवतीलाई पनि काउन्सिलिङ गरिन्। केही समयपछि उनी पूर्ण रूपमा निको भएर घर फर्किइन्।
नर्भिकमा नियमित आउने ती युवतीका आफन्तहरू अझै पनि डा अचलालाई भेट्न आउँथे, ढोकाबाटै नमस्ते गर्थे र आफू त्यसै बिरामीका आफन्त भएको बताउँथे।
१० वर्षअघिको त्यो घटना डा अचला आज पनि सम्झिन्छिन्। जब कुनै जटिल शल्यक्रिया गर्नुपर्छ, उनलाई त्यही केस सम्झना आउँछ।
र त्यो १० वर्षअघिको बिरामी केही समयअघि फेरि डा अचलासँग भेटिन आइन्- आफ्ना सुखदुःख बाँड्न।
उनी अहिले पनि नियमित स्वास्थ्य जाँचका लागि नर्भिक आउँछिन्।
डा अचलाको ओपीडी वरिपरि धेरै समय बिताउँछिन्। डा अचलाको हात समाउँदै आफ्ना सुखदुःखका कुरा सुनाउँछिन्। कहिले हाँस्छिन्, कहिले रुन्छिन् पनि। र भन्छिन्– ‘यो मेरो खुसीको आँसु हो। मैले भगवान् देखेकी छैन। मेरो लागि डा अचला नै भगवान् हुनुहुन्छ। उहाँले नै मलाई बचाउनुभयो।’
डा अचला उनलाई सम्झाउँदै खानपान र स्वास्थ्यमा ध्यान दिन सुझाउँछिन्।
डा अचलाले चिकित्सा पेसामा ४ दशकदेखि प्रसूति तथा स्त्री रोगका हजारौं बिरामी हेरेकी छन्। तर उनी भन्छिन्, त्यो बिरामीसँग उनी अझै पनि भावनात्मक रूपमा जोडिएकी महसुस गर्छिन्।
‘अहिले पनि उनी मलाई याद आयो भनेर फोन गर्छिन्, यहाँ आउँदा खुसी बाँड्छिन्। म पनि उनीसँग भावनात्मक रूपमा जोडिएको महसुस गर्छु,’ डा वैद्यले भनिन्।