मध्यरातमा मस्त निद्रामा हुने नेपालीहरू पनि यतिबेला जागा भएका छन्; किनकि अहिले विश्वकप फुटबल प्रतियोगिताको खेल भइरहेको छ। आ–आफ्नो समर्थक देश र खेलाडीको समर्थनमा नेपाली फुटबलप्रेमीहरू हुटिङ गर्दै मध्यरातमा फुटबल हेरिरहेका छन्।
वीर अस्पतालका डाक्टर भूपेन्द्र बस्नेतले पनि भ्याएसम्मका खेलहरू हेरिरहेका छन्।
बच्चैदेखि फुटबल र भलिबलमा रुचि भएका भूपेन्द्रको विश्वकपमा मनपर्ने टिम भने अर्जेन्टिना हो। अर्जेन्टिना र डिएगो म्याराडोनाको नाम सुनेदेखि नै उनी अर्जेन्टिनाका फ्यान हुन्।
‘अहिले मेसीले गरेको गोल हेर्न मजा आइरहेको छ,’ डा. बस्नेतले भने, ‘समय नमिल्दा भने गाह्रो भइरहेको छ। तर मनपरेको टिमको खेल त निद्रा माया मारेर भए पनि हेर्छु।’
विश्वकपको नकआउट र सेमिफाइनलका खेलहरू भने सम्भव भएसम्म नछुटाउने उनको योजना छ। त्यसो त डा. भूपेन्द्र खेलकुद मैदान देख्दै, खेलहरू हेर्दै र खेल्दै हुर्किए।
डा. बस्नेतको घरअगाडि नै २–३ बिघाका दुईवटा खेलकुद मैदान भएकाले पनि उनको रुचि फुटबल र भलिबलमा बढी भएको हो। त्यहाँ राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता समेत हुने गरेको देखेका उनी फुटबल र भलिबल हेर्दै र खेल्दै हुर्किए।
डा. बस्नेतको त फुटबल वा भलिबल नखेलेको र घुँडामा घाउ नभएको दिनै हुँदैनथ्यो।
‘फुटबल र भलिबल हेर्दै र खेल्दै हुर्किएँ। खेल खेल्दा लडेर सधैँ घुँडामा घाउ हुन्थ्यो, घरमा सधैँ गाली पनि खान्थेँ,’ डा. बस्नेतले बाल्यकाल सम्झँदै हाँस्दै भने, ‘मेरो त घुँडाको घाउ निको हुन नै पाउँदैनथ्यो। त्यतिबेला बल खेलेर घुँडामा लागेको घाउको खत अहिले पनि बाँकी छ।’
डा. भूपेन्द्रले त्यतिबेला खेल्नका लागि कस्तो बल पाउँथे भन्ने कुरा अझ रोचक छ।
उनी पथरीबाट मंगलबारे बसमा चढ्दा सबैभन्दा पुरानो र च्यातिएको सिट रोजेर बस्थे। किनकि च्यातिएको सिटबाट फोमहरु निकालेर फुटबल बनाउने कच्चा पदार्थ सहजै लिन पाइन्थ्यो।
‘लोकल बसमा सिट खाली भए पनि राम्रो सिटमा नबसेर च्यातिएको सिटमा बस्थेँ,’ उनले हाँस्दै बाल्यकालमा गरेको बदमासी सुनाए, ‘च्यातिएको सिटबाट फोम निकालेर खल्तीमा हाल्थेँ, अनि घर लगेर मोजाभित्र फोम पोको पारेर बल बनाउँथेँ।’
पछि स्कुलमा हुने भलिबल प्रतियोगितामा उनको सहभागी टिमले जित पनि हासिल गरेको थियो।
‘स्कुलमा चाहिँ भलिबल प्रतियोगिता हुन्थ्यो। वीरेन्द्रशिल्ड प्रतियोगितामा पहिला स्कुल–स्कुलबीच प्रतिस्पर्धा हुन्थ्यो, जसमा हाम्रो स्कुल विजयी भएको थियो। त्यो जित्ने टिममा म पनि सहभागी थिएँ।’ डा. बस्नेतले थपे, ‘म अलि अग्लो थिएँ, राम्रै खेल्थेँ।’
तर कलेज पढ्न काठमाडौँ आएपछि भने उनका खेल्ने साथी र खेल मैदान छुटे। गाउँ गएका बेला भने उनी खेल्ने गर्थे।
अहिले भने उनी फुटबल र भलिबल प्रतियोगिता टेलिभिजनमा हेरेर खेलकुदको आनन्द लिन्छन्।