वीर अस्पतालका रेडियोलोजिस्ट डा. सरोज शर्माको रुचि बाल्यकालदेखि नै फुटबल र भलिबलमा छ। बाल्यकालमा घरगाउँमा मोजाको बल बनाएर खेल्ने गरेका थिए। ठूलो हुँदै गएपछि खेलप्रतिको रुचि देखेर उनलाई अभिभावकले फुटबल नै किनिदिन्थे। उनले बाल्यकालमा फुटबल खेलेर थुप्रै बलहरू पुराना बनाएका छन्।
उनले ५/७ कक्षादेखि स्कुलमा हुने प्रतियोगितादेखि अन्तरविद्यालय फुटबल तथा भलिबल प्रतियोगितामा सहभागिता जनाउँथे। अस्कल कलेजमा आईएससी पढ्दा कीर्तिपुर ग्राउन्डमा समेत फुटबल प्रतियोगितामा सहभागी भएको उनको अनुभव छ। त्यतिबेलाको मेडल पनि उनीसँग छ।
भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेजमा एमबीबीएस अध्ययन गर्दा छनोट भएर उनी अन्तर मेडिकल कलेज फुटबल प्रतियोगितामा सहभागिता जनाउन काठमाडौंसमेत आएका थिए। स्कुल–कलेज पढ्दा फुटबल खेलेर जितेका मेडलहरू उनीसँग अहिले पनि छन्।
‘पहिला–पहिला त धेरै खेलिन्थ्यो, कहिले हारिन्थ्यो, कहिले जितिन्थ्यो,’ उनले सुनाए, ‘जितेको बेलाका मेडलहरू त मेरो घरमा अहिले पनि सजाएरै राखेको छु।’
एमडी अध्ययन पूरा भएपछि उनको फोकस खेल खेल्नेभन्दा चिकित्सा अभ्यासमा बढी भयो। त्यसैले लामो समयदेखि फुटबल खेलेका छैनन्। तर विश्वकप होस् वा नेपालमै हुने फुटबल तथा भलिबल प्रतियोगिता, भ्याइसम्म हेर्न छुटाउँदैनन्।
परिवारसँगै बसेर फरक–फरक टिमको सपोर्टमा उभिएर आफ्नो टिमले जित्दा ‘गोल’ भन्दै चिच्याउन पाउँदा छुट्टै आनन्द आउने उनी सुनाउँछन्।
‘परिवारमा फरक–फरक टिमका सपोर्टर भएर सँगै गेम हेर्दा त धेरै रमाइलो हुन्छ,’ उनले हाँस्दै सुनाए, ‘आफ्नो टिमले जित्दा त 'गोल' भन्दै चिच्याइन्छ नि! गेमको मज्जा नै यही रहेछ।’
उनी अहिले समय मिलेसम्म विश्वकप हेरिरहेका छन्। नकआउट चरण सुरु भएपछि नियमित हेर्ने योजनामा छन्। विश्वकपमा सहभागी देशमध्ये उनको मनपर्ने टिम भने अर्जेन्टिना हो।
‘सन् १९८६ देखि नै विश्वकपमा म त अर्जेन्टिनाको फ्यान हुँ। त्यतिबेला अर्जेन्टिनाका खेलाडीहरू म्याराडोना, बाटिस्टुटा लगायतका खेलाडी मन पर्थे,’ उनले सुनाए। ‘पहिला जुन टिमको सपोर्ट गरियो, त्यहीको सपोर्ट गर्न मन लाग्ने रहेछ, टिम चेन्ज गर्न मन नलाग्ने रहेछ। अहिले त मेस्सी नै मनपर्छ।’