स्वास्थ्य र सिनेमा
चिकित्सा विज्ञानले प्रविधिको विकाससँगै मानिसको आयु बढाउने क्षमता त हासिल गर्यो, तर रोगसँग जुधिरहेको बिरामीको जीवनमा ‘आशा र आत्मबल’ भर्ने काम कसरी गर्ने? के केवल औषधि र चिकित्सा प्रविधिले मात्र मानिसको जीवनलाई थप लामो र गुणस्तरीय बनाउन सक्छ?
यी र यस्तै गम्भीर प्रश्नहरूको उत्तर खोज्न सन् १९७१ मा बनेको बलिउडको चलचित्र ‘आनन्द’ हेर्नुपर्छ। झण्डै आधा शताब्दीअगाडि बनेको यो चलचित्र आजको आधुनिक स्वास्थ्य प्रणालीका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ। ऋषिकेश मुखर्जीद्वारा निर्देशित यो फिल्म दुखान्त कथामा बनेको छ। तर यसले स्वास्थ्य क्षेत्रमा भने महत्वपूर्ण सन्देश दिएको छ। यो चलचित्रले स्वास्थ्य क्षेत्र, चिकित्सक र बिरामीबीचको आत्मीय सम्बन्धलाई निकै राम्रोसँग प्रस्तुत गर्न सफल भएको छ।
फिल्मका मुख्य पात्र राजेश खन्ना हुन्। चलचित्रमा उनी आनन्द सहगलका रुपमा देखिन्छन्। चलचित्रमा राजेश खन्नाको नामबाटै फिल्मको नाम राखिएको छ। मुख्य पात्र आनन्द 'लिम्फोसारकोमा अफ द इन्टेस्टाइन' (आन्द्राको क्यान्सर) बाट पीडित छन्। आफूसँग जीवनका केही महिना मात्र बाँकी छन् भन्ने कटु सत्य उनलाई राम्रोसँग थाहा छ। तर, मृत्युको पूर्वसन्ध्यामा निराशा र रोदनमा पिल्सिनुको साटो उनी आफ्नो बाँकी समयलाई पूर्ण उत्साह, हाँसो र सकारात्मकताका साथ जिउने निर्णय गर्छन्। र त्यसैगरी जिउँछन् पनि। अनको अनुहारमा न मृत्युको भय देखिन्छ न त कुनै चिन्ता। बरु उनी अरुलाई हसाउन र खुसी भर्न नै लागेका हुन्छन्।
अर्का मुख्य पात्र डा. भास्कर बनर्जी (अमिताभ बच्चन) हुन्, जो समाजको गरिबी, बिरामीको दुःख र चिकित्सा क्षेत्रको विसंगतिबाट निराश बनेका एक गम्भीर स्वभावका डाक्टर हुन्। आनन्दको आगमनले डा. भास्करको सोच र बिरामीलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउँछ।
यस चलचित्रलाई सन् १९७२ को फिल्मफेयर पुरस्कारको ६ विधामा पुरस्कृत गरिएको थियो। सन् २०१३ मा अनुपमा चोपडाको पुस्तक '१०० फिल्म्स टु सी बिफोर यु डाय' मा यो चलचित्रलाई समावेश गरिएको थियो।
ऋषिकेश मुखर्जी यस चलचित्रका निर्माता र लेखक समेत हुन्। उनले चलचित्रमा चिकित्सक र बिरामीको सम्बन्धसँगै स्वास्थ्य क्षेत्रका लागि मुख्य चार वटा सन्देश समेत दिएका छन्।
यस्ता छन् स्वास्थ्य क्षेत्रका लागि चलचित्र ‘आनन्द’ले दिएका ४ मुख्य पाठ
१. औषधिसँगै ‘इम्प्याथी’ र मानवीय संवेदना
आधुनिक चिकित्सा प्रणाली दिनानुदिन प्रविधि, प्रयोगशाला परीक्षण र क्लिनिकल प्रक्रियामा मात्र केन्द्रित हुँदै गएको पाइन्छ। तर, ‘आनन्द’ ले स्पष्ट सन्देश दिन्छ- बिरामीलाई प्राविधिक उपचारसँगै डाक्टरको सहानुभूति, माया र आत्मिक साथको उत्तिकै आवश्यकता हुन्छ। एउटा डाक्टरको बोली र व्यवहारले बिरामीको आधा रोग निको पार्न सक्छ।
२. जीवन कति वर्ष बाँचियो भन्दा पनि कसरी बाँचियो भन्ने महत्वपूर्ण
‘जिन्दगी बडी होनी चाहिए, लम्बी नही’ फिल्मको यो प्रसिद्ध संवादले नै यसको मूल सार व्यक्त गर्दछ। जीवन कति वर्ष बाँचियो भन्दा पनि कसरी बाँचियो र कति मानिसको मन जितियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने विषयलाई यस फिल्मले निकै सुन्दरसँग प्रस्तुत गरेको छ। स्वास्थ्य विज्ञानको ध्यान प्रायः बिरामीको आयु कसरी लम्ब्याउने भन्नेमा मात्र हुन्छ। तर, फिल्मको बहुचर्चित संवाद- 'बाबुमोशाय, जिन्दगी बडी होनी चाहिए, लम्बी नहीं' ले जीवनको गुणस्तरलाई प्राथमिकतामा राख्छ। जटिल वा निको नहुने रोग लागेका बिरामीलाई 'प्यालियेटिभ केयर' र सम्मानित जीवन दिनु कति महत्त्वपूर्ण छ भन्ने कुरा यसले दर्साउँछ।
३. चिकित्सकको 'बर्नआउट' र मानसिक स्वास्थ्य
दिनहुँ बिरामीको समस्या, पीडा र मृत्युसँग जुध्नुपर्दा चिकित्सकहरू कसरी मानसिक तनावबाट गुज्रिन्छन् भन्ने कुरा डा. भास्करको पात्रमार्फत देखाइएको छ। चिकित्सकहरू पनि मानिस नै हुन् र उनीहरूलाई पनि भावनात्मक सहाराको खाँचो पर्छ भन्ने पक्षलाई फिल्मले कुशलतापूर्वक उठाएको छ।
४. बिरामीको मनोबल र रोगसँगको लडाइँ
रोग शारीरिक हुन्छ, तर त्यसको सामना गर्ने क्षमता मानिसको मानसिक बलमा निर्भर हुन्छ। आनन्दको पात्रले जटिल क्यान्सरका बीचमा पनि अरूलाई खुसी बाँड्दै कसरी आफ्नो मनोबल उच्च राख्न सकिन्छ भन्ने प्रेरणा दिन्छ।
स्वास्थ्यकर्मी र नीतिनिर्माताले किन हेर्ने?
आजको व्यावसायिक बन्दै गएको स्वास्थ्य सेवामा डाक्टर र बिरामीबीचको विश्वासको दायरा साँघुरिँदै गएको महसुस गरिन्छ। यस्तो अवस्थामा ‘आनन्द’ ले चिकित्सा क्षेत्रलाई पुनः उसको मौलिक कर्तव्य र मानवीय संवेदनाको सम्झना गराउँछ।
चिकित्सा विज्ञानले शरीरको उपचार गर्छ, तर डाक्टरको व्यवहार, बिरामीको सकारात्मक सोच र आपसी आत्मिक सम्बन्धले जीवनको उपचार गर्छ। स्वास्थ्य क्षेत्रसँग जोडिएका हरेक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीहरूले एकपटक हेर्नैपर्ने र मनन गर्नैपर्ने फिल्म हो- ‘आनन्द’।
हेरौं युट्युबमा
नोट : स्वास्थ्य र सिनेमा शिर्षकमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित फिल्महरुको समीक्षा र त्यसले दिने सन्देशसहितको सामग्री र युट्युब लिंक हामी नियमित रुपमा हरेक साता प्रकाशन गर्दै जानेछौं।