अहिले फिफा विश्वकप २०२६ चलिरहेको छ। विश्वकप सुरु भएदेखि नै नेपाली फ्यानहरूमा पनि निकै उत्साह देखिएको छ। नेपालीहरू सामाजिक सञ्जालमार्फत आफूलाई मनपर्ने टिमको समर्थनमा खुलेर लागेका छन्। कसैले सामाजिक सञ्जालमा आफूले समर्थन गरेको देशको जर्सी लगाएको तस्बिर साझा गरेका छन् भने कसैले खेल सुरु भएसँगै स्टाटस लेखेरै आफ्नो समर्थन व्यक्त गरिरहेका छन्।
खेलकुद स्वास्थ्यका हिसाबले पनि निकै राम्रो मानिन्छ। यही विश्वकपको खेलमय माहोललाई लक्षित गर्दै हामीले चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूको खेलप्रतिको रुचि, चासो र समर्थन तथा उनीहरूले बाल्यकालमा फुटबल खेलेका दिनहरूलाई कसरी स्मरण गर्छन् भनेर कुराकानीको शृङ्खला (सिरिज) सुरु गरेका छौँ। यसै शृङ्खला अन्तर्गत यस पटक हामीले नेपाल चिकित्सक संघका अध्यक्ष एवं अर्थोपेडिक सर्जन डाक्टर बद्री रिजालसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा. रिजालसँग गरिएको कुराकानी :
तपाईंलाई फुटबल मन पर्छ कि पर्दैन?
फुटबल र भलिबल दुवै मलाई मनपर्ने खेल हुन्। आईओएममा कलेज पढ्दा डिफेन्समा बसेर फुटबल खेलिन्थ्यो पनि। इन्टर-ब्याच र इन्टर-मेडिकल कलेज फुटबल प्रतियोगिता हुँदा म सहभागी हुन्थेँ। भलिबलमा त इन्टर-ब्याच र इन्टर-मेडिकल कलेजमा हाम्रो टिमले मेडल नै जितेको अझै याद छ।
अहिले विश्वकप फुटबल कत्तिको हेरिरहनुभएको छ?
अहिले विश्वकप अलिअलि हेर्दै छु। सेमिफाइनलका खेलहरू सुरु भएपछि त भ्याएसम्म 'फुल टाइम' नै हेरिन्छ। अहिले पोर्चुगल, अर्जेन्टिना लगायतका पहिले पनि विश्वकप जितिसकेका टिमहरूको खेल हेरिरहेको हुन्छु। कार्यव्यस्तताका कारण समय मिलाउन पनि गाह्रो हुने भएकाले धेरैजसो राती १२, १ बजेसम्मको पहिलो म्याच हेरिन्छ, त्यसपछिका खेलहरू हेर्न त गाह्रो नै हुन्छ। अस्ति स्विट्जरल्याण्ड र नेदरल्याण्ड्सको खेल निकै राम्रो लागेको थियो।
विश्वकपमा तपाईंको समर्थन कुन देशलाई हो नि?
म त बच्चैदेखि ब्राजिलको समर्थक हुँ! अहिलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भनेजस्तै पहिलेका अर्का ब्राजिलियन रोनाल्डो, रोनाल्डिन्हो, रोबर्टो कार्लोस, रिबाल्डो, काफू लगायतका खेलाडीहरूको खेल हेरिन्थ्यो। अहिले ब्राजिलको खास पुरानो चिनेको खेलाडी नेमार हो। यद्यपि, अहिले मेस्सी र क्रिस्टियानो रोनाल्डोको खेल पनि उत्तिकै राम्रो लाग्छ।
बाल्यकालमा तपाईँले फुटबल कत्तिको खेल्नुभयो?
स्कुल पढ्दा अलि कम नै खेलियो। गाउँको स्कुलमा कपडाको बल (भकुण्डो) बनाएर खेल्ने चलन हुन्थ्यो, टोलटोलमा त्यसरी नै खेलियो। त्यतिबेला फुटबल खेल्दा मेरो खुट्टा पनि मर्किएको थियो।