डाक्टर मंगल रावल आजभोलि पिएचडीको अध्ययन र सुत्केरी श्रीमतीको स्याहारमा व्यस्त छन्। व्यस्तताका बाबजुद पनि विश्वकप हेर्न भने उनले छुटाएका छैनन्। दैनिक ४ घण्टा मात्र सुत्ने बानी भएकाले रातमा हुने विश्वकप हेर्न उनलाई निद्रा माया मार्नुपर्ने अवस्था छैन।
‘मलाई सानैदेखि खेलकुदमा रुचि छ,’ डा. रावलले भने, ‘अहिले पिएचडीको नियमित क्लास र सुत्केरी स्याहारमा अलि व्यस्त छु, तरपनि विश्वकप त नछुटाई हेरिरहेको छु।’
उनी सानैदेखि अर्जेन्टिनाको समर्थक र मेस्सीका फ्यान हुन्। ‘म त सानैदेखि अर्जेन्टिनाको सपोर्टर र मेस्सीको फ्यान हुँ,’ उनले बताए।
उनले विश्वकपमा अर्जेन्टिनालाई सपोर्ट गर्न थालेको सन् २००२ देखि नै हो। त्योभन्दा अघि उनी ब्राजिललाई सपोर्ट गर्थे।
‘अर्जेन्टिना मन पर्नुका धेरै कारण छन्। म्याराडोनाको बारेमा पढेको पनि छु, उनी प्लेयर मात्र होइनन्, ठूलो परिवर्तनका लागि खेल्ने खेलाडी हुन्। खेलबाटै उनले परिवर्तनका लागि धेरै राम्रो म्यासेज दिएका थिए। अहिले मेस्सी र म्याराडोना दुवै मेरा मनपर्ने खेलाडी हुन्,’ उनले भने, ‘अर्जेन्टिनाको गेम हुँदा छुट्टै खुसी लाग्छ, अझ अर्जेन्टिनाले जितेको दिन त छुट्टै रमाइलो लाग्छ।’
डा रावल आफ्नो टिमको खेल भएको दिन मात्र होइन सामाजिक सञ्जाल फेसबुकमा हरेक दिन जसो हुने खेलहरुको नतिजा अनुमान गर्न भन्दै पोस्टहरु पनि हाल्दै आइरहेका छन्। सही अनुमान मिलाउनेहरुको तस्बिर सहित सामग्री सेयर समेत गरिरहेका छन्।
यसपालिको विश्वकपमा धेरै देशका टिम सहभागी हुँदा गेम अझ रोचक भइरहेको उनले बताए।
‘मलाई त यो वर्षको विश्वकप गजब लागिरहेको छ। पहिला–पहिला थोरै टिम हुन्थे, यो पटक त ४८ वटा टिम छन्,’ उनले भने, ‘धेरै टिम हुँदा क्वालिटी घट्छ भन्ने फुटबलमा रिसर्च गर्नेहरूले भनिरहेका थिए, तर त्यस्तो भएन। अहिले झन् झन् कम्पिटिटर देखिए। नसोचेका टिमहरूले जितिरहेका छन्।’

डा. रावललाई खेलकुदमा सबैभन्दा मनपर्ने खेल भने भलिबल हो। उनले चिकित्सा शास्त्र अध्ययनका क्रममा भलिबल खेलेर मेडल पनि जितेका छन्।
‘हेर्न चाहिँ फुटबल मनपर्छ, खेल्न भलिबल मनपर्छ मलाई। वीपीकेआईएचएस धरानमा चिकित्सा शास्त्र अध्ययनको क्रममा भलिबलमा त इन्टर मेडिकल कलेज टुर्नामेन्ट नै जितेका थियौँ,’ उनले सुनाए।
डा. रावलले कलेज अध्ययन सकिएर कामतिर लागेपछि भने प्रतियोगिताहरूमा सहभागी हुने त्यति मौका पाएनन्। तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा हुँदा २ वर्षअघि मात्र उनले कर्णालीमा पहिलो पटक अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता नै आयोजना गरेका थिए।
त्यतिबेला उनले फुटबल, भलिबल, क्रिकेट, साहित्य लगायतका कार्यक्रमहरू आयोजना गरेका थिए। उक्त प्रतियोगितामा कर्णाली बाहिरका मेडिकल कलेजका टिम पनि सहभागी थिए।

