स्वास्थ्य र सिनेमा
निजीकरण र व्यापारीकरणको चपेटामा परेको आधुनिक स्वास्थ्य सेवामा एउटा अस्पतालको उद्देश्य नाफा कमाउनु मात्र हुनुपर्छ कि सेवा दिनु? चिकित्सा पेसाको मर्यादा र कर्पोरेट स्वार्थबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने? यी र यस्तै समसामयिक प्रश्नहरूको चिकित्सा-सामाजिक उत्तर खोज्ने चलचित्र होर 'अरमान'।
सन् २००३ मा प्रदर्शनमा आएको यो बलिवुड चलचित्र ‘अरमान’ को कथा र यसले दिने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक छ।
हनी इरानीको निर्देशन तथा प्रसिद्ध जावेद अख्तरको पटकथा रहेको यो चलचित्रले आजको नेपाली स्वास्थ्य क्षेत्रले भोगिरहेका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई निकै नजिकबाट स्पर्श गर्छ।
चलचित्रको कथा एउटा आधुनिक र परोपकारी अस्पताल ‘आर्ट हस्पिटल’ र त्यसलाई चलाउने दुई डाक्टर (बुबा-छोरा) को वरिपरि घुम्छ। डा. सिद्धार्थ सिन्हा (अमिताभ बच्चन) एक यस्ता समर्पित र आदर्शवादी चिकित्सक हुन्, जसको जीवनको एउटै मात्र ‘अरमान’ (चाहना) छ- आफ्नो अस्पताललाई अत्याधुनिक बनाउने, जहाँ गरिबभन्दा गरिब बिरामीले पनि पैसाको अभावमा उपचार नपाई मर्नु नपरोस्।
उनीपछि उनका धर्मपुत्र डा. आकाश सिन्हा (अनिल कपुर) पनि बुबाकै पदचिह्नमा हिँड्दै एक कुशल न्यूरोसर्जनका रूपमा अस्पतालमा समर्पित हुन्छन्। तर, अस्पताललाई आर्थिक संकटबाट बचाउन र बुबाको सपना पूरा गर्न डा. आकाशले आफ्नो व्यक्तिगत खुसी र प्रेमलाई समेत दाउमा राखेर एक कर्पोरेट घरानाकी घमण्डी महिला सोनिया कपूर (प्रिटी जिन्टा) सँग विवाह गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुन्छ। सोनियाका बुबा (रन्धीर कपूूर) को आर्थिक साम्राज्य र अस्पतालको व्यवस्थापनभित्र छिर्ने स्वार्थले डाक्टरहरूको पेसागत स्वतन्त्रता र अस्पतालको सेवाभावमाथि ल्याउने भुँवरी नै फिल्मको मुख्य द्वन्द्व हो।
‘अरमान’ का ३ मुख्य विषय
१. चिकित्सा नैतिकता भर्सेज कर्पोरेट दबाब
आजका अधिकांश निजी अस्पतालहरू लगानीकर्ता र बोर्ड सदस्यहरूको 'रिटर्न अन इन्भेस्टमेन्ट' (नाफाको दर) को दबाबमा चल्ने गरेका छन्। फिल्मले अस्पतालभित्र व्यापारिक घरानाको प्रवेश भएपछि कसरी स्वास्थ्य सेवा ‘उपभोक्तावादी बजार’ मा परिणत हुन्छ र डाक्टरहरू कसरी दबाबमा पर्छन् भन्ने कुरालाई मिहिन ढंगले देखाएको छ।
२. स्वास्थ्य क्षेत्रमा सार्वजनिक-निजी साझेदारी र च्यारिटीको संकट
डा. सिद्धार्थ सिन्हाको पात्रले देखाउँछ कि कसरी राज्यले ध्यान नदिएको अवस्थामा निजी तवरबाट च्यारिटी अस्पताल चलाउनु फलामको च्युरा चपाउनुसरह हुन्छ। अत्याधुनिक प्रविधि (जस्तै न्यूरोसर्जरीका उपकरणहरू) भित्र्याउन ठूलो पुँजी चाहिन्छ, तर त्यो पुँजी भित्र्याउँदा सेवाको भावना मर्न दिनु हुँदैन भन्ने नीतिगत बहस यो फिल्मले छेड्छ।
३. चिकित्सकहरूको व्यक्तिगत जीवन र मानसिक तनाव
चिकित्सकहरू केवल सेतो कोट लगाएका मेसिन होइनन्, उनीहरूका पनि व्यक्तिगत भावना, परिवार र सामाजिक जीवन हुन्छन्। डा. आकाशको पात्रमार्फत फिल्मले देखाउँछ कि कसरी एउटा डाक्टरले समाजको स्वास्थ्यका लागि आफ्नो व्यक्तिगत जीवन र खुसीको बलिदान दिनुपर्ने स्थिति आउँछ।
स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीले किन हेर्ने?
नेपालको सन्दर्भमा पनि मेडिकल कलेज र निजी अस्पतालहरूको द्रुत विकास भइरहँदा ‘अरमान’ ले एउटा महत्त्वपूर्ण ऐनाको काम गर्छ। डाक्टर र अस्पताल प्रशासनबीचको सम्बन्ध कस्तो हुनुपर्छ र अस्पतालको नेतृत्व लिने चिकित्सकमा कस्तो व्यवस्थापकीय क्षमता एवं नैतिक अडान चाहिन्छ भन्ने कुरा यो फिल्मबाट सिक्न सकिन्छ।
अमिताभ बच्चन, अनिल कपुर, प्रिटी जिन्टा र ग्रेशी सिंह को सशक्त अभिनय र शङ्कर-अहसान-लोयको उत्कृष्ट सङ्गीत रहेको ‘अरमान’ एउटा पारिवारिक ड्रामा मात्र होइन, यो स्वास्थ्य सेवाको आदर्श र व्यावसायिक यथार्थ देखाउने सशक्त चलचित्र हो।
स्वास्थ्य क्षेत्रका नीति-निर्माता, अस्पताल संचालक र चिकित्सकहरूले फुर्सदको समयमा हेर्नैपर्ने फिल्म हो 'अरमान'।