काठमाडौं – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का धनेन्द्र शाही डाक्टर बनेर गाउँ फर्किंदा स्वागतमा सिंगो गाउँ उर्लियो। बाजागाजा सहित गाउँलेले उनको स्वागत गरे। त्यो दृष्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ। जहाँ डाक्टर पुग्ने सपना देख्न सकिदैन अझै, कर्णाली पारीको विकट त्यही गाउँमा हुर्के-पढेको व्यक्ति डाक्टर बन्दा स्थानीय खुशी छन्। उनीप्रति गर्व गरिरहेका छन्। त्यसैले उनीहरु स्वस्फुर्त स्वागत गर्न आइपुगेका हुन्।
उनले अब कोल्टी आधारभूत अस्पतालबाट सेवा दिनेछन्। त्यो उनको अबको कार्यस्थल मात्र होइन, आफ्नो बाल्यकाल, संघर्ष र सपनासँग जोडिएको ठाउँ हो। यही माटोमा घाँस–दाउरा गर्दै हुर्किएका शाही अहिले त्यही ठाउँमा डाक्टरका रूपमा फर्किएका छन्।
भैरवनाथ प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले बाजुराकै जनप्रकाश माध्यमिक विद्यालय, कोल्टीबाट विद्यालय तहको पढाइ पूरा गरे। त्यसपछि काठमाडौं आएर जेभियर इन्टरनेशनल, कालोपुलबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुर्गम क्षेत्रका विद्यार्थीका लागि प्राप्त पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरेपछि उनको गन्तव्य फेरि आफ्नै गाउँ बनेको छ।
हाल उनी कोल्टी आधारभूत अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। करिब एक महिनादेखि अस्पतालमा सेवा दिइरहेका शाही पहिलोपटक घर फर्किँदा गाउँलेले गरेको भव्य स्वागतले भावुक बने।
उनी भन्छन्, ‘यहाँका प्रत्येक घरपरिवार र मानिससँग मेरो नजिकको सम्बन्ध छ। यहीँ घाँस–दाउरा गरेर हुर्किएको मान्छे डाक्टर बनेर फेरि आफ्नै ठाउँमा सेवा गर्न आउँदा गाउँलेहरूले गरेको स्वागतले म निकै खुसी भएँ। ’
घरबाट अस्पताल पुग्न करिब एक–दुई घण्टा लाग्ने भएकाले कोल्टीमा काम सुरु गरेपछि उनी पहिलोपटक घर पुगेका थिए। अस्पतालमा चिकित्सकको अभाव रहेकाले आफूले घर जानसमेत नपाएको उनको अनुभव छ।
डाक्टर देख्न शिविर कुर्नुपर्ने ठाउँ

डा. शाहीले दुर्गममै फर्किएर सेवा गर्ने निर्णय कुनै आकस्मिक निर्णय नभएको बताउँछन्। उनको बाल्यकालमै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव प्रत्यक्ष देखेका थिए।
कक्षा ९ मा अध्ययन गर्दा उनले पहिलोपटक डाक्टर देखेका थिए। गेटा आँखा अस्पताल, धनगढीबाट आएको चिकित्सकको टोलीले कोल्टीमा आँखा शिविर सञ्चालन गरेको थियो। तत्कालीन समयमा रेडक्रससँग जोडिएर स्वयंसेवकका रूपमा शिविरमा सहभागी भएका शाहीले त्यहीँ पहिलोपटक चिकित्सकलाई नजिकबाट देख्ने अवसर पाए।
त्यो दृश्यले उनको मनमा डाक्टर बन्ने हुटहुटी जगायो।
उनी भन्छन्- ‘अहिले पनि यहाँका मानिसले डाक्टर भेट्न शिविर नै कुर्नुपर्ने अवस्था छ। यो अवस्थालाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो।'
उनका लागि दुर्गममा सेवा गर्नु केवल बिरामीको उपचार गर्नु मात्र होइन, समाजमा रहेको एउटा मानसिकता बदल्ने प्रयास पनि हो।
‘यहाँका विद्यार्थीले डाक्टर बन्ने सपना देख्नसमेत कठिन मान्छन्। ‘हामीजस्तो मान्छे डाक्टर बन्न सक्दैनौँ’ भन्ने मानसिकता छ। मैले यहीँ घाँस–दाउरा गर्दै पढेर डाक्टर बन्न सक्छु भने अर्को विद्यार्थीले पनि सपना देख्न सकोस् भन्ने मेरो चाहना हो,’ उनी भन्छन्।
अन्धविश्वासविरुद्ध पनि लड्ने लक्ष्य
स्वास्थ्य सेवाको अभावसँगै दुर्गम क्षेत्रमा अन्धविश्वास र रुढिवाद पनि ठूलो चुनौती रहेको डा. शाही बताउँछन्।
त्यसैले आफ्नो भूमिका औषधि लेख्ने र बिरामी उपचार गर्नेमा मात्र सीमित नरहने उनको भनाइ छ। स्वास्थ्यसम्बन्धी गलत धारणा र अन्धविश्वास हटाउन पनि आफूले भूमिका खेल्नुपर्ने उनी ठान्छन्।
विशेषगरी महिलाहरूले आफ्नो स्वास्थ्य समस्या खुलेर भन्न नसकिरहेको अवस्था देख्दा आफूलाई थप जिम्मेवारी महसुस हुने उनी बताउँछन्।
‘धेरै आमा, दिदीबहिनीहरू रोग लुकाएर बस्न बाध्य हुनुहुन्छ। आफ्नो समस्या खुलेर भन्न सक्ने वातावरण बनाउन पनि स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ,’ उनी भन्छन्।
स्थानीय भाषा नबुझ्दा उपचारमै समस्या
कोल्टी क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहको अर्को चुनौती स्थानीय भाषा पनि हो। स्थानीय मानिसले आफ्नै भाषामा कुरा गर्ने तर बाहिरबाट आएका चिकित्सकले भाषा नबुझ्दा बिरामी र चिकित्सकबीच प्रभावकारी संवाद हुन नसक्ने डा. शाही बताउँछन्।

उनी भन्छन् – ‘बिरामीले आफ्नो कुरा राम्रोसँग भन्न नसक्ने र डाक्टरले पनि नबुझ्ने अवस्था भयो भने परामर्शको अर्थ नै रहँदैन,’ ।
आफू स्थानीय भएकाले बिरामीको भाषा, जीवनशैली, सामाजिक अवस्था र समस्यालाई बुझ्न सहज हुने उनको विश्वास छ।
एमबीबीएस अध्ययनकै क्रममा उनले आफ्ना साथीहरूलाई अध्ययन पूरा गरेपछि आफ्नै ठाउँमा फर्किएर सेवा गर्ने बताउने गरेका थिए। अहिले त्यो प्रतिबद्धता पूरा गर्न पाउँदा उनी सन्तुष्ट छन्।
पहिलोपटक डाक्टर देख्दा जन्मिएको सपना
डा. शाहीको डाक्टर बन्ने सपना पनि यही दुर्गम भूगोलबाट सुरु भएको थियो।
‘हामीले देख्ने स्वास्थ्यकर्मी भनेकै अनमी र स्वास्थ्य स्वयंसेविका हुनुहुन्थ्यो। कक्षा ९ मा पढ्दा आँखाको उपचारका लागि शिविरमा गएको थिएँ। आँखामा सुई लगाएको देखेँ। त्यतिबेला यस्तो काम गर्ने मान्छे पनि बन्न सकिने रहेछ भन्ने लाग्यो,’ उनी सम्झन्छन्।
तर सपना देखे पनि आफूजस्तो बाजुराको विद्यार्थीले डाक्टर बन्न सक्छ भन्ने आत्मविश्वास त्यतिबेला थिएन।
काठमाडौं आएपछि भने उनको सोच बदलियो। जेभियर इन्टरनेशनलमा अध्ययन गर्दा मेहनती र पढाइमा अब्बल साथीहरूबाट उनले थप प्रेरणा पाए। त्यहीँबाट ‘म पनि डाक्टर बन्न सक्छु’ भन्ने आत्मविश्वास पलाएको उनी बताउँछन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुर्गम क्षेत्रका विद्यार्थीलाई केन्द्रमा राखेर तयार गरिएको शैक्षिक वातावरण पनि आफ्नो सफलताका लागि महत्वपूर्ण भएको उनको अनुभव छ।
‘दुर्गमबाट आएका विद्यार्थीलाई कसरी पढाउने, कसरी नयाँ वातावरणमा घुलमिल गराउने भन्ने कुरामा त्यहाँ विशेष ध्यान दिइन्थ्यो। त्यो मेरो लागि वरदानजस्तै भयो,’ उनी भन्छन्।
अमेरिका जाने सोचबाट आफ्नै गाउँ फर्किने यात्रासम्म
कक्षा १२ उत्तीर्ण गरेपछि पारिवारिक आर्थिक अवस्थाका कारण डा. शाही अमेरिका जाने सोचमा थिए। अमेरिका जाने प्रक्रियासँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका लागि प्रवेश परीक्षा पनि लगभग एउटै समयमा भएको थियो।
त्यतिबेला परिवारले उनलाई देश–विदेश पछि पनि घुम्न सकिने भन्दै नेपालमै बसेर पढ्न प्रेरित गरे।
अन्ततः उनले दुर्गम कोटाबाट छात्रवृत्ति पाएर एमबीबीएस अध्ययन गरे। अहिले भने उनको लक्ष्य केवल डाक्टर बन्नेमा सीमित छैन।
‘एमडीजीपी पढेर फेरि गाउँ फर्किन चाहन्छु’
भविष्यमा एमडीजीपी वा हाडजोर्नीसम्बन्धी विधा अध्ययन गर्ने उनको इच्छा छ। दुर्गम क्षेत्रमा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी धेरै देखेकाले यही क्षेत्रमा थप विशेषज्ञता हासिल गरेर आफ्ना मानिसको सेवा गर्ने उनको चाहना छ।
आफ्नै खर्चमा विशेषज्ञता अध्ययन गर्न आर्थिक चुनौती भए पनि छात्रवृत्तिको अवसर पाए एमडीजीपी अध्ययन गर्ने उनको योजना छ।
तर उनको अन्तिम गन्तव्य भने फेरि गाउँ नै हो। ‘मेरो लक्ष्य गाउँमै फर्किने हो, तर मैले चाहेर मात्र हुँदैन,’ उनी भन्छन्– ‘गाउँ र समाजले पनि मलाई कसरी सहयोग गर्छ भन्ने महत्वपूर्ण हुन्छ।’
डा. धनेन्द्र शाहीको कथा एउटा व्यक्तिले कठिन परिस्थितिलाई पार गरेर डाक्टर बनेको कथा मात्र होइन। यो दुर्गम भूगोलमा जन्मिएको एउटा बालकले देखेको सपना, त्यही सपनालाई पछ्याउँदै गरेको संघर्ष र अन्ततः आफू जन्मिएको माटोमै फर्किएर समाज बदल्ने प्रयास हो।
कुनै समय डाक्टर हेर्न स्वास्थ्य शिविर कुर्नुपर्ने बालक आज आफैं त्यही गाउँका मानिसका लागि डाक्टर बनेका छन्। उनी चाहन्छन्- अब उनका गाउँका बालबालिकाले डाक्टर देख्न शिविर कुर्नु नपरोस्, र डाक्टर बन्ने सपना देख्न पनि काठमाडौं पुग्नैपर्छ भन्ने नसोचून्।