भर्खरै एमबीबीएस सकेर इन्टर्नसिपमा रहेको एउटा युवा जोस। त्यही समय देशभरका इन्टर्न डाक्टरहरूको सामूहिक बल र न्यायका लागि भएको आन्दोलन। सन् २००० को त्यो रापिलो समयमा आफ्ना पेसागत मागहरू राख्ने क्रममा नै अनिलविक्रम कार्कीले बुझेका थिए- एकता र संगठनको वास्तविक महत्व के हो? त्यतिबेला नेपाल चिकित्सक संघ (एनएमए) को भनाइ र त्यसको गरिमाको ओझलाई उनले निकै नजिकबाट नियाले। त्यहीँबाट उनको मनमा एउटा बलियो अठोटले जन्म लियो- 'कुनै दिन म यो गरिमामय संस्थाको नेतृत्व गर्नेछु।'
ठिक त्यसको २३ वर्षपछि, सन् २०२३ (२०७९ फागुन २१) मा डा. कार्कीले सोही संस्थाको ३२औँ अध्यक्षको रूपमा बागडोर सम्हाल्ने जिम्मेवारी पाए। २३ वर्षअघि एउटा जुझारु इन्टर्न डाक्टरको रूपमा जुन जोस र ऊर्जा थियो, अध्यक्ष बन्दा पनि सोही जोसका साथ संघमा काम गरिरहेको उनी बताउँछन्। आफ्नो कार्यकालमा थुप्रै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको बताउँदै डा. कार्की भन्छन्, 'देशका समग्र चिकित्सकहरूको छाता संस्थाको नेतृत्व गर्न पाउनुलाई जीवनकै सबैभन्दा ठूलो गर्व र गौरवको विषय हो,।'
लाइसेन्सको लडाइँ र 'इन्टर्न डाक्टर' को आन्दोलन
सन् १९९५ मा पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएसको अध्ययन सुरु गरेका अनिलले सन् २००० मा सफलतापूर्वक उपाधि हासिल गरे। त्यसपछि उनी एक वर्षको अनिवार्य इन्टर्नसिपका लागि काठमाडौँको वीर अस्पताल आए।
सन् २००० भन्दा अगाडि एमबीबीएस उत्तीर्ण गर्दा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिन कुनै परीक्षा दिनुपर्ने व्यवस्था थिएन। तर, ठिक डा. अनिलको ब्याचले उत्तीर्ण गर्ने समयमा काउन्सिलले परीक्षा प्रणाली सुरु गर्ने निर्णय गर्यो। निर्णय त भयो, तर काउन्सिल आफैँ परीक्षा लिन पूर्ण रूपमा तयार थिएन। यसैबीच एउटा ठूलो विभेदकारी घटना घट्यो- अघिल्लो दिन धरान (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) बाट आएका १८ जना विद्यार्थीले बिनाकुनै परीक्षा रजिस्ट्रेसन (लाइसेन्स) पाए। तर, अन्य कलेजका विद्यार्थीलाई भने परीक्षा दिएपछि मात्र लाइसेन्स दिइने भनियो। एकातिर विभेद, अर्कोतिर परीक्षा लिने काउन्सिलको आफ्नै तयारी शून्य।
यही अन्यायका विरुद्ध मेडिकल विद्यार्थीहरू आन्दोलनमा होमिए। इन्टर्न डाक्टरहरुले आफ्नो छुट्टै ‘अलाएन्स’ बनाएर आन्दोलनलाई कानुनी लडाइँमा परिणत गरे। मुद्दा अदालतसम्म पुग्यो। अन्ततः अदालतको आदेश र विद्यार्थीको दबाबपछि काउन्सिलले परीक्षा लियो।
त्यतिबेला उनले नेपाल चिकित्सक संघको महत्व नजिकबाट बुझे। संघको भनाइ कति बलियो र वजदार हुने रहेछ भन्ने नजिकबाट हेरे। एमबीबीएस अध्ययन सकेर करिअरको सुरुवातमै भोग्नुपरेको यो न्यायको लडाइँले डा. कार्कीभित्र चिकित्सक संघमा आबद्ध भएर परिवेश परिवर्तन गर्ने तीव्र इच्छा जगायो।
उनले त्यही बेला सङ्कल्प गरेका थिए, ‘म पनि कुनै दिन यो संस्थाको अध्यक्ष बन्छु र चिकित्सकहरूको हकहितमा काम गर्छु।’ उनको त्यो सपना २३ वर्षपछि अन्ततः साकार भयो। डा. कार्कीको तीन वर्षे कार्यकाल यही जेठ १७ गतेबाट सकिएको छ।
डा. कार्कीले सन् २००१ मै नेपाल चिकित्सक संघको आजीवन सदस्यता लिएका थिए। तर, सन् २००७ मा चीनबाट फर्किँदा प्राविधिक कारणवश उनको सदस्यता नै रेकर्डमा नरहेको अनौठो कुरा भनियो। उनले हिम्मत हारेनन्, फेरि सदस्यता लिए र संघको काममा सक्रिय भए। कार्यकारिणी सदस्य, उपाध्यक्ष हुँदै उनी नेतृत्वको शिखर अध्यक्षसम्म भए।
'हामीले इन्टर्न गर्दाको समयमै थाहा भयो कि राज्यले चिकित्सक संघको धारणालाई आधिकारिक मान्छ। नयाँ पुस्ताको समस्या समाधान र समग्र स्वास्थ्य प्रणाली सुधारका लागि नीतिगत ‘इनपुट’ दिन सक्ने सबैभन्दा बलियो संस्था नै संघ हो भन्ने लागेर म यसमा होमिएँ,' डा. कार्की भन्छन्।

बाल्यकालको त्यो एउटा घटना: जसले डाक्टर बन्ने जग बसाल्यो
डा. अनिलविक्रम कार्की सानै थिए, तर आमा बिरामी परेर उपचारका लागि भारत लैजानुपरेको त्यो पारिवारिक संघर्षको क्षण उनको मानसपटलमा अझै पनि ताजै छ। वास्तवमा, उनले चिकित्सा क्षेत्र रोज्नुको मुख्य कारण नै उनकी आमाको स्वास्थ्य अवस्था र नेपालमा उपचार नपाएर भौंतारिँदै भारत पुग्नुपरेको त्यही कारुणिक घटना थियो।
उनकी आमाको पाठेघरमा गम्भीर समस्या देखिएको थियो, जसका कारण अत्यधिक रगत बग्ने समस्या भयो। विडम्बना, त्यतिबेला नेपालमा त्यसको उचित उपचार सम्भव भएन। आमाको छट्पटी देख्न नसकेर परिवारले उनलाई भारतको भेलोरस्थित 'क्रिष्टियन मेडिकल कलेज' पुर्याएर उपचार गरायो। त्यतिबेला अनिलविक्रमको कलिलो दिमागमा एउटा गम्भीर प्रश्नले डेरा जमायो, ‘बिरामी हुँदा उपचारकै लागि यसरी भारत नै जानुपर्ने बाध्यता कहिलेसम्म? म भविष्यमा आफैँ चिकित्सक बन्नेछु, नेपालमै बसेर नेपालीको उपचार गर्नेछु र नेपालीहरूले उपचारकै लागि विदेशिनुपर्ने यो बाध्यता सधैँका लागि अन्त्य गर्नेछु।’
२०३३ सालमा पहाडी जिल्ला तेह्रथुममा जन्मिएका डा. अनिल बुबा चन्द्रबहादुर कार्की र आमा लक्ष्मीदेवी कार्कीका कान्छा छोरा हुन्। उनको प्रारम्भिक शिक्षा विराटनगरबाट सुरु भयो, जहाँ उनले कक्षा तीनसम्म पढे। त्यसपछि कक्षा ४ देखि एसएलसीसम्मको अध्ययन उनले दीपेन्द्र प्रहरी स्कुलबाट पूरा गरे। विद्यालय तह पार गरेपछि प्लस टु (उच्च माध्यमिक शिक्षा) का लागि उनी भारतको केरलास्थित सत्यशाही विद्यापीठ पुगे।

न्यूरोसर्जन बन्ने रहर, क्यान्सरका बिरामी देखेपछि बदलियो सपना
विद्यालय तहमा (कक्षा ८/९ मा) पढ्दा डा. अनिलको सपना भविष्यमा 'न्यूरोसर्जन' बन्ने थियो। तर, लाइसेन्स आन्दोलनको पटाक्षेपपछि सन् २००१ मा उनी चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेडिकल अफिसरका रूपमा जोडिए। त्यहाँ काम गर्न थालेपछि उनले नेपालको स्वास्थ्य क्षेत्रको अर्को तितो यथार्थ महसुस गरे। उनले देखे- क्यान्सर लागेका धेरैजसो गरिब बिरामीहरूले त नेपालमा उपचार नै पाउँदैनन्। सामान्यदेखि जटिल उपचारका लागि पनि भारत वा अन्य विदेशिनुपर्ने बाध्यता कायमै थियो, जसले उनलाई बाल्यकालमा आमा बिरामी हुँदाको क्षण सम्झायो।
त्यसपछि डा. कार्कीले आफ्नो पुरानो न्यूरोसर्जन बन्ने सपना त्यागे र क्यान्सरकै क्षेत्रमा विशिष्टीकरण गर्ने सोच बनाए। त्यही समयमा चिनियाँ सरकारको पूर्ण छात्रवृत्तिमा 'हेड एन्ड नेक क्यान्सर सर्जरी' (टाउको तथा घाँटीको क्यान्सर सर्जरी) मा स्नातकोत्तरका लागि आवेदन खुल्यो। उनी कडा प्रतिस्पर्धाबीच छात्रवृत्तिमा छनोट भए। सन् २००३ देखि २००७ सम्म उनले चीनको प्रतिष्ठित 'सनयाटसेन युनिभर्सिटी' मा अध्ययन गरेर विशेषज्ञता हासिल गरे।
अध्ययन सकेर डा. कार्की तुरुन्तै स्वदेश फर्किए। सन् २००७ देखि उनले भरतपुर क्यान्सर अस्पतालमै रजिस्ट्रारको रूपमा सेवा सुरु गरे। उनको दक्षता र कार्यकुशलताका कारण सन् २०१० देखि ३ वर्षका लागि उनी अस्पतालको सञ्चालक समिति सदस्य समेत मनोनीत भए। हाल उनी अस्पतालको सञ्चालक समिति सदस्यका साथै सिनियर कन्सल्टेन्टका रूपमा निरन्तर बिरामीको सेवामा समर्पित छन्।
डा. कार्की लगायतका विशेषज्ञ चिकित्सकहरूले भरतपुरमा सुरु गरेको सेवाकै कारण अहिले क्यान्सरका बिरामीहरू उपचारका लागि भारत जानुपर्ने बाध्यता धेरै हदसम्म कम भएको छ। अझ खुसीको कुरा, उनले जुन विषयमा चीनमा पढेर आएका थिए, अहिले भरतपुर क्यान्सर अस्पतालमा सोही 'हेड एन्ड नेक क्यान्सर सर्जरी' मा फेलोसिप कार्यक्रम चलिरहेको छ। यहाँबाट उत्पादित फेलोजहरूले अहिले विराटनगरदेखि पश्चिम नेपालका विभिन्न क्षेत्रमा पुगेर विशेषज्ञ सेवा दिइरहेका छन्। हाल अस्पतालमा चौथो ब्याचका फेलोजहरू अध्ययनरत छन्।
डा. कार्की विगत सम्झँदै भन्छन्, ‘मैले पढ्न जाँदा नेपालमा हेड एन्ड नेक क्यान्सर सर्जरीमा औपचारिक डिग्री गरेका चिकित्सक नै थिएनन्। आज आफैँले आर्जन गरेको ज्ञान र सिप नयाँ पुस्ताका चिकित्सकहरूलाई बाँड्न र सिकाउन पाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ।’

'नेपाल बन्द' गर्दाको त्यो समय
चिकित्सक संघमा उनको सक्रियता ऐतिहासिक जनआन्दोलनदेखि विनाशकारी भूकम्पको महाविपत्तिका समयमा समेत उत्तिकै रहेको छ। डा. कार्की संघको कार्यकारिणी परिषद् सदस्य रहँदा (डा. केदारनरसिंह केसी अध्यक्ष भएको समयमा) भरतपुर अस्पतालका तत्कालीन निर्देशकसमेत रहेका प्रतिष्ठित चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण भएको थियो। त्यो घटनाले समग्र चिकित्सा क्षेत्र स्तब्ध बन्यो। चिकित्सकहरूको सुरक्षाका लागि स्वास्थ्य संस्थाहरू मात्र होइन, इतिहासमै पहिलो पटक देशभरका चिकित्सकहरूले 'नेपाल बन्द' को कडा आह्वान गरे।
त्यस ऐतिहासिक आन्दोलनमा पर्सा र सो वरपरको क्षेत्रको कमान्डर डा. अनिलविक्रम कार्की थिए। चिकित्सकहरू आफ्ना स्टेथोस्कोप र सेतो कोट लगाएरै सडकमा उत्रिए, ठूला राजमार्गका मुख्य नाकाहरू ठप्प पारे। सुरुमा चिकित्सकले किन नेपाल बन्द गरेको भन्नेबारे भ्रममा परेका सर्वसाधारणले जब घटनाको गम्भीरता र चिकित्सकहरूको सुरक्षाको संवेदनशीलता बुझे, तब नागरिक समाजले पनि स्वस्फूर्त रूपमा बन्दलाई सफल पार्न साथ दियो।
'हामीले पहिलो पटक चिकित्सकको सुरक्षाका लागि नेपाल बन्द गर्यौँ र झन्डै डेढ महिना लामो आन्दोलन चलायौँ,' डा. कार्कीले त्यो कठिन समय सम्झिए, 'चिकित्सकहरूको त्यही कडा आन्दोलन र दबाबपछि मात्र सरकारले डा. भक्तमानको सकुशल खोजीका लागि ठोस पहल गर्न बाध्य भएको थियो।'
चिकित्सकहरुको आवाज
संघमा रहँदा होस् वा नरहँदा उनी सधैं चिकित्सकहरुको आवाज बनिरहे। डा कार्की चिकित्सकहरुको हकहित र अधिकारका लागि मात्र होइन, समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि लागिरहेको बताउँछन्।
उनले आफ्नो कार्यकालमा स्वास्थ्य संवेदनशीलतामा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै स्वास्थ्य पत्रकारका लागि तालिम, सर्पदंश र दुर्लभ रोगको विषयमा सरकारले गर्नुपर्ने काम लगायतका विषयमा एक दिने वर्कसप सञ्चालन गरे।
उनले चिकित्सा शिक्षाका समस्याहरुमा सरकारसामु विभिन्न विषयमा आवाज उठाउँदै आएका छन्। संघकै पहलमा सरकारले चिकित्सा शिक्षामा छात्रवृत्तिको दायरा बढाउँदै लगेको छ। संघकै निरन्तर खबरदारी र पहलमा चिकित्सा सेवा ऐनको मस्यौदा बनेको छ।
नेपाल पहिलो पटक सिमाओ भन्ने संस्थाको अध्यक्ष भएर सिमाओ सम्मेलन नेपालमै आयोजना गर्न सफल भए।
स्वास्थ्य सेवा ऐनको मस्यौदामा चिकित्सकको दरबन्दी बढाउन आफूहरुले लविइङ गरिरहेको डा कार्कीले बताए। एमबीबीएस अध्ययनपछि एक वर्ष कार्य अनुभव भएपछि मात्र एमडी गर्न पाउने व्यवस्था हटाउनुपर्ने भन्दै चिकित्सा शिक्षा आयोगसँग संघले आवाज उठाइरहेको छ। यस्तै नेपाल मेडिकल काउन्सिलले दिने अस्थायी लाइसेन्सको व्यवस्था हटाउन पनि पहल भइरहेको छ। लोकसेवामा प्रवेशको उमेर ४५ पुर्याउन पनि आफूहरुले पहल गरिरहेको डा कार्कीले बताए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन कार्यन्वयनका लागि हेटौंडामा चिकित्सकमाथि कुटपिट हुँदा डा कार्की नेतृत्वकै संघले मुद्दा दर्ता गरेर चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही भएको छ। डा कार्कीले सो ऐन कार्यान्वयनमा संघले गरेको पहलले पनि चिकित्सकमाथिको आक्रमणका घटनामा कमी आउन थालेको बताए।
चिकत्सा शिक्षा ऐन, स्वास्थ्य बीमाको परिमार्जन, स्वास्थ्यकर्मी र चिकित्सकको शारीरिक र मानसिक स्वास्थ्यका लागि चिकित्सक कल्याणकारी कोष वा अस्पताल स्थापना गर्न सरकारलाई दबाब दिइएको डा कार्कीले बताए।
चिकित्सकको समस्या सुन्ने र सरकारसमक्ष आवाज पुर्याउने पेशागत संस्था–संघ भएकाले सबै चिकित्सकलाई संघमा आवद्ध हुन डा अनिलले आह्वान गरे। संघले राजनीतिभन्दा माथि उठेर चिकित्सकको पेसागत हकहितको लागि लड्दै आएको उनले बताए।
‘संघ पोलिटिकल होइन, पेसागत संस्था हो, चिकित्सकको पेसागत सुरक्षाका लागि सबै चिकित्सक संघमा आवद्ध र एकजुट हुनुपर्छ,’ उनले भने, ‘चिकित्सकको समस्यामा बोलिदिने संघ हो, त्यो बोलेको सरकारले सुन्ने पनि संघकै कुरा हो, नेपालमा पढेका वा प्राक्टिस गरेका चिकित्सकलाई संघको सदस्य हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि फाइदा पुग्ने गर्छ।’ यसका साथै चिकित्स संघले आम नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नीतिगत सुधारदेखि जनचेतनामुलक कार्यक्रमहरु समेत निरन्तर गरिरहेको उनी बताउँछन्।

चिकित्सकहरूका थुप्रै समस्याहरू अझै पनि राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्। चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन, स्वास्थ्य बीमाको व्यावहारिक परिमार्जन र चिकित्सकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य रक्षाका लागि 'चिकित्सक कल्याणकारी कोष' वा छुट्टै विशिष्टीकृत अस्पताल स्थापना गर्न सरकारलाई लगातार दबाब दिइरहेको डा. कार्की बताउँछन्।
चिकित्सकका समस्या सुन्ने र त्यसलाई सिंहदरबारसम्म पुर्याएर कार्यान्वयन गराउने एक मात्र वैधानिक र बलियो पेसागत संस्था नेपाल चिकित्सक संघ नै भएकोले डा. कार्की देशका सम्पूर्ण चिकित्सकहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर संघमा आबद्ध हुन आह्वान गर्छन्।
'संघ कुनै राजनीतिक अखडा होइन, यो विशुद्ध पेसागत र प्राज्ञिक संस्था हो। चिकित्सकको पेसागत र भौतिक सुरक्षाका लागि हामी सबै एकजुट हुनुको विकल्प छैन। नेपालमा पढेका वा अभ्यास गरिरहेका चिकित्सकहरू संघको सदस्य बन्दा उनीहरूलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ठूलो व्यावसायिक फाइदा पुग्छ,' डा. कार्कीले दृढताका साथ भने।