बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
२०४६ सालको जनआन्दोलनपछि देशमा बहुदलिय व्यवस्था पुनर्स्थापना भयो। अहिलेको जेनजी आन्दोलनजस्तै त्यतिबेलाको जनआन्दोलनले पनि राज्यसत्ता नै बदलिएको थियो। प्रजातन्त्रको पुनर्स्थापनाले जनतामा खुसीयाली र वाक स्वतन्त्रता बढाएको थियो। ४६ सालको आन्दोलन र त्यसपछिका देशका विभिन्न घटनाक्रमले युवाअवस्थामा प्रवेश गर्दै गरेका बद्री रिजालमा राजनीतिप्रति रुचि, चासो र चेत बढाउँदै लग्यो। पछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा एमबीबीएस पढ्दै गर्दा उनले विद्यार्थीका समस्यामा आवाज उठाउन थाले।
विद्यार्थी साथीहरुसँग मिलेर आफ्नो हकका लागि बोल्ने, आन्दोलन गर्नुपरे अगाडि सर्ने र कलेज प्रशासनसँग वार्तामा बसेर समस्या समाधानका लागि पहल गर्ने- आईओएममा हुँदा चिकित्सा शिक्षाका ठूला पुस्तक पढ्ने बाहेक उनको अर्को मुख्य काम यही थियो।
अहिलेको जेनजी आन्दोलनपछि नयाँ पार्टीमा युवापुस्ताको ध्यान गएजस्तै त्यतिबेला लोकतान्त्रिक शक्तिप्रति जनताको आकर्षण थियो। विद्यार्थी साथीहरुको समस्यामा बोल्ने र समाधानका लागि पहलमा लागिरहने भएकाले रिजालले लोकतान्त्रिक पक्षधरमार्फत स्ववियु चुनाव उठ्ने अवसर पाए। चुनाव जितेर उनी स्ववियु उपसभापति पनि बने। यसले राजनीतिप्रतिको उनको दक्षता र क्षमता अझ फराकिलो बनाउँदै गयो।
एमबीबीएसमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका रिजाल डाक्टर बनेपछि नेपाल चिकित्सक संघको सदस्य बने। एमएस अध्ययन गर्दै गर्दा उनी रेजिडेन्ट डाक्टर्स एसोसिएसनको अध्यक्ष बने। नेपाल चिकित्सक संघमा महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षमा निर्वाचित भएका छन्।
चिकित्सा पेसामा जति उनको अनुभव छ, त्यति नै योगदान यस क्षेत्रका समस्या समाधानमा पनि रहेको देखिन्छ। उनी चिकित्सकहरुको सुरक्षा र हकहितका लागि निरन्तर आवाज उठाउने तथा ती समस्या समाधानका लागि नीतिगत पहलमा लामो समयदेखि सक्रिय छन्। यही सक्रियताले उनलाई नेपाल चिकित्सक संघको ३३औं अध्यक्षका रूपमा चिकित्सकहरुले निर्वाचित गराएका छन्।

‘मास्टरको छोरा अनुशासित र जान्ने’
२०३२ सालमा रुपन्देहीमा जन्मिएका रिजालको बाल्यकाल सुखद नै बित्यो। कक्षा ८ सम्म उनले गाउँकै जनता मावि अमुवामा पढे। उनका बुबा त्यही स्कुलका शिक्षक थिए। स्कुलमा सबैले ‘मास्टरका छोरा’ भनेर चिन्ने भएकाले स्कुले जीवनमा उनले आफ्नो छवि अनुशासित विद्यार्थीको रूपमा बनाएका थिए।
‘सबैले सरको छोरा भनेर चिन्ने भएपछि स्कुलमा चकचके हुने कुरै भएन। म अनुशासित विद्यार्थी थिएँ, पढाइ पनि राम्रै थियो। स्कुलमा कि प्रथम कि दोस्रो हुन्थेँ, कहिल्यै तेस्रो हुन परेन,’ रिजालले सुनाए।
कक्षा ८ सम्म जनता माविमा अध्ययन गरेपछि उनले कक्षा ९ र १० ज्ञानोदय माविमा पढे। त्यहीबाट २०४८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्दै जिल्ला टपर बने।
सरको छोरा, त्यसमाथि जिल्ला टप गरेको विद्यार्थी। कक्षाकोठामा सबैभन्दा जान्ने विद्यार्थी भएकाले स्कुल, घर–गाउँ र परिवारमा सबैले रिजाल भविष्यमा डाक्टर बनोस् भन्ने चाहनु स्वाभाविक थियो।
सबैले भविष्यमा डाक्टर बन्नुपर्छ भनेको सुन्दै जाँदा रिजाललाई पनि आफू डाक्टर नै बन्नुपर्छ भन्ने लागिसकेको थियो।
‘भविष्यमा के बन्ने भन्ने कुरा आउँदा सबैले डाक्टर भनिरहन्थे। एकपटक “अब पाइलट बन्छु” भनेको त गाली पो खाएँ,’ डा. रिजालले हाँस्दै भने, ‘त्यतिबेला माहोल नै डाक्टर, इन्जिनियर पढ्नेहरूको थियो। ठूलो आमाको छोराले इन्जिनियर पढ्न थालेपछि मैले डाक्टरी पढ्ने सोच बनाएँ।’
डाक्टर बन्ने सपना लिएर रिजाल एसएलसीपछि काठमाडौं आए- महाराजगञ्ज क्याम्पस अन्तर्गतको नरदेवी क्याम्पसमा। त्यतिबेला डाक्टर बन्ने पहिलो खुड्किलो हेल्थ असिस्टेन्ट कोर्स थियो। आयुर्वेद र जनरल मेडिसिनलाई समेटेर संयुक्त रूपमा पढाइ हुने गर्थ्यो।
‘मैले आयुर्वेद र जनरल मेडिसिनको हेल्थ असिस्टेन्ट कोर्स पढेँ। त्यतिबेला आयुर्वेद र जनरल मेडिसिन संयुक्त रूपमा पढ्ने हामी अन्तिम ब्याच थियौँ,’ रिजाल सम्झन्छन्, ‘तीन वर्षको कोर्स पूरा गरेपछि म नुवाकोटको हेल्थ पोस्टमा काम गर्न गएँ।’
हेल्थ असिस्टेन्ट भएर हेल्थ पोस्टमा बिरामी हेर्दा उनले आयुर्वेदिक र एलोपेथिक दुवै विधिबाट उपचारमा काम गरे। तर रिजालको चाहना भने डाक्टर बन्ने नै थियो। केही वर्ष काम गरेपछि उनी काठमाडौं फर्किए र एमबीबीएस प्रवेश परीक्षाको तयारीमा जुटे।
त्यतिबेला उनी पारामेडिक्स विद्यार्थीहरुलाई ट्युसन पनि पढाउँथे। २०५६ सालमा आईओएममा एमबीबीएस अध्ययनका लागि उनको नाम निस्कियो।
उनी आईओएमका २०औं ब्याचका विद्यार्थी हुन्। एमबीबीएस र इन्टर्नसिपसहित उनले साढे पाँच वर्ष आईओएममा बिताए।
‘आईओएममा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा पनि लागियो। स्ववियु उपसभापति बन्ने मौका पनि पाएँ,’ रिजालले भने, ‘४६ सालको आन्दोलन देखियो, बहुदलको लहर आयो। त्यसैले राजनीतिमा रुचि बढ्यो।’
एमबीबीएस अध्ययन पूरा गरेपछि उनले मेडिकल अफिसरका रूपमा पहिलो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै काम सुरु गरे। उनको पहिलो ड्युटी नै आइसियुमा थियो। टिचिङमा एक वर्ष काम गरेपछि उनी सरकारी सेवामा प्रवेश गरे।

२०६३ सालमा लोकसेवा मार्फत सरकारी चिकित्सक बनेपछि उनको पहिलो पोस्टिङ बागलुङमा भयो। त्यतिबेला एमबीबीएस गरेका मेडिकल अफिसरको सातौं तह हुन्थ्यो। उनले साढे दुई वर्ष बागलुङमा मेडिकल अफिसर भएर काम गरे। त्यही समयमा नेपाल चिकित्सक संघले चिकित्सकहरुको तह आठौं बनाउन पहल गरिरहेको थियो। चिकित्सक संघको दबाब र सुझावपछि सरकारले मेडिकल अफिसरको तह आठौं बनायो। डा. रिजालले पनि आठौं तहमा समायोजन गरिएको चिठी पाए।
डा. रिजालले २०६३ सालमै चिकित्सक संघको सदस्यता लिएका थिए।
‘टिचिङमा काम गर्दै गर्दा किरण दाइहरुको एउटा टोली नै आएर हामीलाई सदस्य बनाएको थियो,’ डा. रिजालले हाँस्दै भने, ‘म त संघका पूर्वअध्यक्ष डा. लोचनभन्दा पनि अगाडिको सदस्य पो हुँ त !’
अर्थोपेडिक्समा नाम निस्केपछि अमेरिका जाने भूत हरायो

बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
अर्थोपेडिक्स पढ्ने रहर कसरी लाग्यो भन्ने प्रश्नमा उनी ठट्टा गर्दै भन्छन्, ‘अर्थोपेडिक्समा हड्डी जोड्ने, यता–उता मिलाउने काम रमाइलो लाग्थ्यो। बाँच्नका लागि सर्जरी नगरे पनि हुने, तर मलाई सर्जन बन्ने इच्छा थियो। अर्थोपेडिक्समा सर्जन र फिजिसियन दुवै हुन पाइने भएकाले रमाइलो लाग्यो।’
उनले अर्थोपेडिक्स सर्जरीमा एमएस गरे। तर एमएस गर्नुअघि अमेरिका जाने सोच पनि बनाएका थिए। झण्डै एक वर्ष उनले युएसएमएलईको तयारीमा समय खर्चिए। काठमाडौंको गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा बागलुङबाट सरुवा भएर आएपछि उनले युएसएमएलई पार्ट–वान परीक्षा पनि दिए। त्यही समयमा आईओएमको एमएस प्रवेश परीक्षा पनि दिए र अर्थोपेडिक्समा नाम निस्कियो।
आफ्नो रुचिको विषय नेपालमै पढ्न पाएपछि उनको दिमागबाट अमेरिका जाने सोच हट्यो।
‘अमेरिका जाने भनेर एक वर्ष पूरा तयारी गरेँ। आईओएममा नाम पनि निस्कियो, परिवारको दबाब पनि नेपालमै बस्नुपर्छ भन्ने थियो। त्यसपछि अमेरिका जाने भूत उत्रियो,’ डा. रिजालले सुनाए।
उनी एमएस दोस्रो वर्षमा अध्ययनरत हुँदा रेजिडेन्ट डाक्टर एसोसिएसनको अध्यक्ष भएर पनि काम गरे।
एमएस अध्ययन पूरा गरेपछि उनको सरुवा विराटनगरमा भयो। तर आफ्नो विशेषज्ञता अनुसारको कामका लागि उनी काजमा वीर अस्पतालमै रहेर काम गरे। २०७१ सालमा बढुवा भएर नवौं तहका विशेषज्ञ चिकित्सक बने। त्यसपछि २०७३ सालमा दशौं तह र २०७८ सालमा एघारौं तहमा बढुवा भए।
डा. रिजाल भन्छन्, ‘पेटको अप्रेसन गर्दा भित्र के भयो भन्ने देखिँदैन। तर अर्थोपेडिक्समा हात भाँचिएको छ भने अप्रेसनपछि बिरामीलाई देखाएरै बुझाउन सकिन्छ। बिरामीको सन्तुष्टि र खुसी सहजै महसुस गर्न पाइने विषय हो अर्थोपेडिक्स।’

आवासीय चिकित्सकको समस्या अझै छन्
डा. रिजालको ब्याच पढ्दै गर्दा आईओएममा होस्टलको अवधारणा आएको थियो। त्यसैले त्यतिबेलाका धेरै समस्या होस्टलसँगै जोडिएका थिए।
मेसको खानेकुरा, होस्टल शुल्कलगायतका समस्या त्यतिबेला आवासीय चिकित्सकहरुले भोग्थे। कतिपय समस्या अहिले पनि यथावत् रहेको डा. रिजाल स्वीकार गर्छन्। समस्या पटक–पटक दोहोरिरहने भएकाले समाधानका लागि निरन्तर पहल गर्नुपर्ने उनको तर्क छ।
‘हामीले भोगेका समस्या र अहिलेका समस्या खासै फरक छैनन्। समस्या दोहोरिरहन्छन् र समाधानका लागि आवाज उठाइरहनुपर्छ,’ डा. रिजालले भने, ‘राजनीतिमा छिर्ने सोच त थिएन, तर त्यतिबेलाको परिस्थितिले राजनीतिमा प्रवेश गरायो।’
डा. रिजाल आईओएममा आवासीय चिकित्सक हुँदा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशन चल्ने–खुल्ने क्रम जारी थियो। डा. रिजालसहित आवासीय चिकित्सकहरुले डा. केसीको आवाज सरकारसम्म पुर्याउन पहलकदमी गरेका थिए। उनीहरुले आवासीय चिकित्सकका समस्या र चिकित्सा शिक्षा सुधारका विषयमा निरन्तर आवाज उठाए।
त्यतिबेलाको आन्दोलन र दबाबका कारण मेडिकल अफिसरहरुको इन्टर्नसिप सम्बन्धी समस्या समाधान भएको डा. रिजाल बताउँछन्।

विद्यार्थी राजनीतिमा सक्रिय भए पनि चिकित्सक संघको राजनीति पेसागत हुनुपर्ने र आफूहरुले पनि पेसागत राजनीति गरेको उनको भनाइ छ।
‘चिकित्सक संघ चिकित्सकहरुको छाता संगठन हो। यसले चिकित्सकहरुको प्रोफेसनल राइट्सका लागि लड्छ। पहिलादेखि नै सिनियर डाक्टरहरुसँग चिनजान भएर संघमा लागियो,’ डा. रिजालले संघमा आबद्ध भएको समय सम्झिए, ‘त्यो हिसाबले पार्टी पोलिटिक्सभन्दा प्रोफेसनल पोलिटिक्स राम्रो हो भनेर यता लागियो।’
आफू रेजिडेन्ट चिकित्सक हुँदा भोगेका समस्या अहिलेका नयाँ चिकित्सकहरुले पनि भोगिरहेको उनी स्वीकार गर्छन्। यसको पछाडि अस्थिर राज्यव्यवस्था रहेको उनको तर्क छ।
‘हाम्रो देशमा लामो समयदेखि अस्थिर सरकार रहेकाले समस्या जस्ताको तस्तै देखिन्छ। धेरै समस्यामा हामीले बोल्दै, लबिङ गर्दै आएका हुन्छौँ, फेरि सरकार परिवर्तन भइसक्छ। नयाँ सरकारलाई समस्या फेरि सुनाउनुपर्छ,’ डा. रिजाल भन्छन्, ‘चिकित्सक संघको काम पहलकदमी गर्ने हो। हामी यो काम निरन्तर जारी राख्छौँ।’
डा. रिजाल संघमा महासचिव हुँदा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनको पहिलो र दोस्रो संशोधन आएको बताउँछन्। सोही कानुनी व्यवस्थाका कारण चिकित्सकहरुले कार्यक्षेत्रमा सुरक्षित वातावरण महसुस गर्न थालेको उनको भनाइ छ।
कन्जुमर कोर्टको विषय उठिरहेको भन्दै डा. रिजाल यसलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राज्यले अनावश्यक दबाब दिने प्रयासका रूपमा हेर्छन्। ‘लाइफ–डेथको छोटो स्पेसमा काम गर्ने चिकित्सकहरुलाई राज्यले सधैँ तनावमा राखेको छ। त्यो हुनु हुँदैन भन्ने हाम्रो धारणा हो,’ उनी भन्छन्। आफ्नै विशेषज्ञताको उदाहरण दिँदै उनले थपे, ‘म स्पाइन सर्जन हुँ। स्पाइनल कर्डमा काम गर्नुपर्ने डाक्टरको हात थोरै यताउता भयो भने जीवन–मृत्युको अवस्था आउन सक्छ। त्यस्तो संवेदनशील काम गर्ने जनशक्तिलाई कन्जुमर कोर्ट लगाइरहेको छ।’
उपचारका क्रममा आउने जटिलताका कारण बिरामीको मृत्यु हुँदा चिकित्सकमाथि हेलचेक्र्याइँको आरोप लाग्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनी भन्छन्, ‘त्यस्तो किसिमको तनावले चिकित्सक क्षेत्र आतंकित छ। काम गरे पनि पूर्ण रूपमा उत्प्रेरित भएर काम गर्न सक्ने वातावरण छैन। यो राज्यको कमजोरी हो। अब राज्यले पनि आफ्नो कमजोरी सुधार गर्नुपर्छ।’
डा. रिजाल संघको अध्यक्ष पदमा निर्वाचित भए पनि उनले पदभार ग्रहण गरिसकेका छैनन्। पदभार सम्हालेपछि यसअघिका अध्यक्ष तथा पदाधिकारीले उठाउँदै आएका मुद्दालाई निरन्तरता दिने उनको सोच छ।
‘संघको काम भनेको “उसले गरेन, मैले गर्छु” भन्ने होइन। यसअघि भएका कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने हो,’ उनी भन्छन्, ‘संघका मुद्दा जहिले पनि चिकित्सकहरुको सुरक्षा, आवासीय चिकित्सकहरुको तलब–सुविधा र पेसागत समस्यासँग सम्बन्धित हुन्छन्। यी क्षेत्रमा देखिने समस्यामा हामी बोलिरहन्छौँ, समाधानका लागि पहल गरिरहन्छौँ।’
युवाको अपेक्षा र वरिष्ठ चिकित्सकहरुको अनुभवको बीचमा आफू रहेको डा. रिजाल बताउँछन्। उनी नयाँ पुस्ताका चिकित्सकहरुलाई ‘जुनियर’ भन्दा ‘योङ डाक्टर’ भन्न रुचाउँछन्। योङ डाक्टर र सिनियर चिकित्सकबीच संवादको वातावरण बनाउने तथा चिकित्सकहरुलाई उत्प्रेरित गर्ने योजनामा उनी छन्।
उनी भन्छन्, ‘अनुभवी चिकित्सकको होस र योङ चिकित्सकको जोशलाई समन्वय गरेर अधिकतम आउटपुट निकाल्ने गरी चिकित्सकहरुको हकहितका लागि काम गर्ने हाम्रो सोच छ।’