काठमाडौं– नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा लगाएको आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।
एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएकाले यस्ता आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने जनाएको छ। अनियमितता भएको प्रमाणित भएमा सम्बन्धित नियामक निकायबाट कानुनअनुसार कारबाही हुनुपर्ने र त्यस्तो कार्यको संरक्षण नगर्ने एसोसिएशनको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।
तर, ‘आरोप र प्रमाणित तथ्य एउटै नभएको’ भन्दै एसोसिएशनले अधिकारप्राप्त निकायको छानविन र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ। यसले सम्बन्धित संस्थाको प्रतिष्ठासँगै विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा र बिरामीको विश्वासमा समेत असर पार्न सक्ने एसोसिएशनको भनाइ छ।
एसोसिएशनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठेका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।
साथै, विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन एसोसिएशनले अनुरोध गरेको छ।