काठमाडौं– राजनीतिक सभा-सम्मेलन, खेलकुद, धार्मिक तथा सांस्कृतिक कार्यक्रमजस्ता ठूला जमघटमा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्या रोकथाम तथा व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ निर्देशिका सार्वजनिक गरेको छ।
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।
डब्लूएचओले सन् १९८० देखि २०२५ सम्म प्रकाशित अध्ययनहरूको समीक्षा गरेको थियो। समीक्षामा ठूला जमघटका क्रममा झन्डै पाँच लाख स्वास्थ्यसम्बन्धी घटना समेटिएका थिए। तीमध्ये २२ हजारभन्दा बढी गर्मीका कारण भएका स्वास्थ्य समस्या थिए।
तर कार्यक्रमस्थलमै स्वास्थ्य सेवा राम्रोसँग व्यवस्थापन गरिएको अवस्थामा ९० प्रतिशतभन्दा बढी बिरामीलाई त्यहीँ उपचार गर्न सकिने अध्ययनहरूले देखाएका छन्। यसले स्थानीय अस्पताल र एम्बुलेन्स सेवामाथिको चापसमेत घटाउन सक्ने डब्लूएचओले जनाएको छ।
गर्मीका कारण हुने मृत्यु बढ्दो
डब्लूएचओका अनुसार सन् १९९० को दशकको तुलनामा गर्मीका कारण हुने मृत्यु करिब ६३ प्रतिशतले बढेको अनुमान छ। सन् २०१२ देखि २०२१ सम्म प्रत्येक वर्ष औसत पाँच लाख ४६ हजार मानिसको गर्मीसम्बन्धी कारणबाट मृत्यु भएको अनुमान गरिएको छ।
ठूला जमघटमा गर्मीको जोखिम अझ बढ्न सक्छ। लामो समय खुला स्थानमा घाम र गर्मीमा बस्नुपर्ने, भीडभाड, सुरक्षित खानेपानीको सीमित पहुँच, यात्राका कारण हुने थकान तथा तनाव, स्थानीय मौसमबारे अपरिचित हुनु र स्वास्थ्य सेवामाथि एकैपटक पर्ने चापले जोखिम बढाउन सक्छ।
जलवायु परिवर्तनका कारण विश्वका अधिकांश भूभागमा अत्यधिक गर्मी र तातो हावाको लहर (हिटवेभ) पछिल्ला दशकमा थप लगातार र तीव्र बन्दै गएको अन्तरसरकारी जलवायु परिवर्तनसम्बन्धी प्यानल (आईपीसीसी) ले जनाएको छ। विश्वको तापक्रम बढ्दै जाँदा यस्तो जोखिम अझ बढ्ने अनुमान छ।
कार्यक्रमस्थलमै स्वास्थ्य सेवा तयारी गर्नुपर्ने
गर्मीका कारण हुने स्वास्थ्य समस्या रोक्न कार्यक्रम सुरु हुनुअघि नै तयारी गर्नुपर्ने डब्लूएचओले जनाएको छ। यसका लागि एउटै उपायमा निर्भर नभई विभिन्न उपाय एकसाथ लागू गर्नुपर्ने उसको सुझाव छ।
डब्लूएचओले सुरक्षित खानेपानी र पर्याप्त शौचालय, गर्मीबाट बच्ने तथा चिसो हुने व्यवस्था, कार्यक्रमको समयसम्बन्धी आवश्यक समायोजन, भीडको आवागमन व्यवस्थापन, कर्मचारी तथा स्वयंसेवकको सुरक्षा, जनचेतनामूलक सूचना, वास्तविक समयको स्वास्थ्य निगरानी र कार्यक्रमस्थलमै तयारी अवस्थामा स्वास्थ्य टोली राख्न सुझाव दिएको छ।
कार्यक्रमको समग्र योजनामै गर्मीको जोखिम समेट्न सुझाव
डब्लूएचओले गर्मीबाट हुने स्वास्थ्य जोखिमलाई व्यक्तिको व्यवहारमा मात्र सीमित गरेर हेर्न नहुने जनाएको छ। कार्यक्रमस्थलको संरचना, भीड व्यवस्थापन, खानेपानी तथा सरसफाइ, यातायात, सुरक्षा, सूचना प्रवाह र कर्मचारी व्यवस्थापनले पनि गर्मीबाट बच्ने तथा समयमै उपचार पाउने अवस्थालाई प्रभावित गर्ने भएकाले समग्र कार्यक्रम व्यवस्थापनमै यसलाई समेट्नुपर्ने डब्लूएचओको सुझाव छ।
नयाँ निर्देशिका दर्शक, सहभागी, स्वयंसेवक तथा कार्यक्रमका कर्मचारी सबैलाई लक्षित गरिएको छ। यसलाई राष्ट्रिय तथा स्थानीय ‘हिट–हेल्थ एक्सन प्लान’, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा मापदण्ड, आपत्कालीन तयारी र उपचारसम्बन्धी निर्देशिकासँग समन्वय गरेर कार्यान्वयन गर्न सकिने डब्लूएचओले जनाएको छ।
डब्लूएचओले सरकार, कार्यक्रम आयोजक तथा सम्बन्धित साझेदारलाई ठूला जमघटको स्वास्थ्य योजना, पूर्वतयारी र व्यवस्थापनमा गर्मीसम्बन्धी जोखिमलाई अनिवार्य रूपमा समेट्न आग्रह गरेको छ।