काठमाडौं— गर्भाशयसम्बन्धी रोगको उपचारमा प्रयोग हुने ‘माइक्रोवेभ एब्लेसन’ प्रविधिबारे नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला काठमाडौंस्थित ब्लुक्रस अस्पतालमा सम्पन्न भएको छ।
आधुनिक माइक्रोवेभ एब्लेसन प्रविधिका अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ तथा दूरबिन प्रविधिमार्फत स्त्रीरोग उपचार र बाँझोपन विशेषज्ञ डा. रङ्गिना लाइकाङबामको सहभागितामा कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा नेपाल तथा विदेशका २० जना चिकित्सक सहभागी भएका थिए। सहभागीमध्ये १० जना नेपाली चिकित्सक थिए भने बाँकी चिकित्सक बंगलादेश, भारत, संयुक्त अरब इमिरेट्स, दुबई तथा म्यानमारलगायतका देशबाट सहभागी भएका थिए।
कार्यशालामा गर्भाशयसम्बन्धी विभिन्न रोगको उपचारमा प्रयोग हुने माइक्रोवेभ एब्लेसन प्रविधिको सिद्धान्त र प्रयोग, बिरामी छनोट, उपचारका विभिन्न चरण, उपकरणको प्रयोग, उपचारका क्रममा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक पक्षबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ।
माइक्रोवेभ एब्लेसन गर्भाशयसम्बन्धी केही रोगमा प्रयोग गरिने न्यून आक्रामक उपचार प्रविधि हो। बिरामीको अवस्था, रोगको प्रकृति र चिकित्सकीय मूल्याङ्कनका आधारमा उपचार विधि छनोट गरिने चिकित्सकहरूले बताएका छन्।
गर्भाशयसम्बन्धी विभिन्न रोगले महिलाको प्रजनन स्वास्थ्यमा असर पार्न सक्ने भएकाले समयमै परीक्षण, रोगको पहिचान र आवश्यक उपचार महत्वपूर्ण हुने चिकित्सकहरूको भनाइ छ।
नेपालमा आधुनिक तथा विशेष उपचारका लागि बिरामी विदेश जानुपर्ने अवस्था रहेकाले नयाँ उपचार प्रविधि, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको विकासमा जोड दिनुपर्ने अस्पतालले जनाएको छ।
अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागितामा आयोजना हुने यस्ता कार्यशालाले नेपाली चिकित्सकलाई नयाँ उपचार प्रविधिबारे प्रत्यक्ष ज्ञान र व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ब्लुक्रस अस्पतालले कार्यशालाले माइक्रोवेभ एब्लेसन प्रविधिबारे नेपाली चिकित्सकको ज्ञान तथा सीप अभिवृद्धि गर्न सहयोग पुगेको जनाएको छ।