काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य सूचना विज्ञानका दक्ष जनशक्तिका लागि राष्ट्रिय स्तरमा अवसर विस्तार गर्नुपर्ने बताएकी छन्। नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए)ले काठमाडौँमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस क्षेत्रका विज्ञहरूका लागि अवसरहरू सिर्जना गर्न संसद् तथा सम्बन्धित निकायहरूमा जोडदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
समारोहमा बोल्दै डा. कार्कीले स्वास्थ्य सूचना विज्ञानका जनशक्तिको योगदानलाई राष्ट्रिय नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रमका विभिन्न सत्र र छलफलबाट यस क्षेत्रका विद्यमान चुनौती, सम्भावना र आगामी प्राथमिकताहरूबारे महत्त्वपूर्ण दृष्टिकोण प्राप्त भएको उनको भनाइ थियो।
एसोसिएसनका अध्यक्ष दीपबहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य सूचना विज्ञान क्षेत्रका व्यावसायिक, शैक्षिक, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेल, काठमाडौं विश्वविद्यालयका प्रा. रवीन्द्र बिष्ट, टेली हेल्थ एक्सपर्टका रमेश भट्ट, एचसीएमएका अध्यक्ष डा. होमप्रसाद अधिकारी, स्वास्थ्य सेवा विभागका शेषकान्त रानाभाट तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नन्दबहादुर सिंहलगायतका विज्ञहरूको उपस्थिति थियो।
वक्ताहरूले नेपालको स्वास्थ्य सूचना प्रणालीलाई थप सुदृढ, प्रविधिमैत्री र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान तथा आधुनिक प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको औँल्याए।
कार्यक्रमका विभिन्न छलफल सत्रहरूमा डिजिटल स्वास्थ्य प्लेटफर्म, स्वास्थ्य तथ्याङ्कको सही उपयोग, स्वास्थ्य बीमा तथा सेवा प्रवाहमा प्रविधिको भूमिका, दक्ष जनशक्ति विकास र नीतिगत सुधारका विषयमा गहन मन्थनसमेत गरिएको थियो।
सहभागीहरूले देशको स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न डिजिटल स्वास्थ्यसम्बन्धी पहलहरूलाई राष्ट्रिय स्वास्थ्य रणनीति तथा नीतिहरूसँग प्रभावकारी रूपमा जोड्नुपर्ने धारणा राखे। स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई गति दिन सरकारी, शैक्षिक, निजी र प्राविधिक क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उनीहरूको जोड थियो।
आयोजक संस्था नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसनका अनुसार यो कार्यक्रमले स्वास्थ्य सूचना विज्ञानका सरोकारवालाहरूबीच संवाद, ज्ञान आदानप्रदान र सहकार्यका लागि साझा मञ्च प्रदान गरेको छ। कार्यक्रमका छलफल र सुझावहरूले आगामी दिनमा थप अनुसन्धान तथा दीर्घकालीन नीतिगत पहल अघि बढाउन ठोस आधार दिने अपेक्षा आयोजकको छ।