काठमाडौं– बीपी नेत्र प्रतिष्ठानको ३८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रतिष्ठानको सशक्तीकरण तथा पुनस्र्थापना केन्द्रबाट तालिम तथा शिक्षा पूरा गरेका बालबालिकालाई औपचारिक रूपमा दीक्षित गरिएको हो।
समारोहमा पुनर्स्थापना केन्द्रबाट दीक्षित हुने बालबालिकालाई प्रमाणपत्र तथा आवश्यक सामग्री वितरण गरिएको थियो। प्रतिष्ठानमा रहेका १८ मध्ये १२ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको हो। उनीहरूलाई प्रतिष्ठानकै खाने–बस्ने सुविधासहित ३ महिनाको दैनिक जीवनमा व्यक्तिगत कार्यको उपयोगी तालिम तथा शिक्षा दिइएको थियो। उक्त तालिम तथा शिक्षाबाट दृष्टिविहीन तथा अल्पश्रवण शक्ति भएका बालबालिकाहरूको जीवन र विद्यालय जान सहज हुनेछ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पूर्णचन्द्र कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको समारोहमा दृष्टिविहीन तथा अल्पश्रवण शक्ति भएका बालबालिकाले आफ्ना अनुभव पनि सुनाएका थिए। उनीहरूले पुनर्स्थापना केन्द्रमा प्राप्त गरेको शिक्षा, सीप र अवसरले आफ्नो दैनिक जीवनमा ल्याएको परिवर्तनबारे अनुभव सुनाएका थिए।
यस्तै अभिभावकका तर्फबाट दृष्टि अपाङ्गता भएका बालबालिकाका अभिभावक चित्रा घर्ती र शोभा खत्रीले आफ्नो अनुभव सुनाएका थिए। उनीहरूले बालबालिकाको शिक्षा, पुनर्स्थापना तथा आत्मनिर्भर बन्ने यात्रामा प्रतिष्ठानले सहयोग गरेको भन्दै खुसी व्यक्त गरे।
सो अवसरमा पुनस्र्थापना सेवाबाट दीक्षित भई देशका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाका अनुभव, चुनौती, सिकाइ तथा उपलब्धि समेटिएको विशेष भिडियोसमेत प्रदर्शन गरिएको थियो। भिडियोमा बालबालिकाले बीपी नेत्र प्रतिष्ठानबाट प्राप्त सहयोग र अवसरप्रति व्यक्त गरेका धन्यवाद तथा कृतज्ञताका भावनासमेत समेटिएका थिए।
-1791104405.jpeg)
-1791104419.jpeg)