काठमाडौं– विश्वभर मानिसको औसत आयु बढेर ७३.३ वर्ष पुगे पनि स्वस्थ भएर बाँच्ने अवधि भने ६२.८ वर्षमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।
डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ अनुसार सन् २०२३ मा विश्वको औसत आयु ७३.३ वर्ष पुगेको हो। यो सन् २०१९ मा रहेको ७३.४ वर्षको महामारीपूर्व अवस्थाको लगभग बराबर हो।
कोभिड–१९ महामारीका कारण विश्वको औसत आयुमा ठूलो गिरावट आएको थियो। तर महामारीपछि औसत आयु पुनः सुधार हुँदै महामारीपूर्व अवस्थाको नजिक पुगेको डब्लूएचओले जनाएको छ। यद्यपि स्वस्थ जीवन अवधि भने सोही गतिमा फर्किन सकेको छैन। सन् २०२३ मा स्वस्थ जीवन अवधि ६२.८ वर्ष पुगे पनि यो सन् २०१९ को तुलनामा अझै ०.४ वर्ष कम हो।
मृत्युको ठूलो हिस्सा नसर्ने रोगका कारण
डब्लूएचओको पछिल्लो अनुमानले विश्वमा स्वास्थ्य समस्याको स्वरूप पनि तीव्र रूपमा परिवर्तन भइरहेको देखाएको छ। सन् २०२३ मा विश्वभर भएका कुल मृत्युमध्ये ७४ प्रतिशत नसर्ने रोग (एनसीडी) का कारण भएका थिए। सन् २००० मा नसर्ने रोगको हिस्सा ५८ प्रतिशत थियो।
विश्वका १० प्रमुख मृत्युकारकमध्ये आठ वटा नसर्ने रोग रहेका छन्। मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, क्यान्सर र डिमेन्सियाजस्ता दीर्घरोगले विश्व स्वास्थ्यमा बढ्दो भार थपिरहेका छन्।
कम आय भएका मुलुकमा पनि स्वास्थ्य समस्याको स्वरूप परिवर्तन हुँदै गएको छ। सन् २०२३ मा पहिलोपटक ती मुलुकमा सरुवा रोगका कारण हुने मृत्यु कुल मृत्युको आधाभन्दा कममा झरेको डब्लूएचओले जनाएको छ।
मुटुरोग अझै मृत्युको प्रमुख कारण
मुटु तथा रक्तनलीसम्बन्धी रोग विश्वभर मृत्यु र रोगको भारको प्रमुख कारण बनेका छन्। सन् २०२३ मा इस्केमिक हार्ट डिजिजका कारण मात्रै करिब ९५ लाख मानिसको मृत्यु भएको डब्लूएचओको अनुमान छ।
यस रोगका कारण २१ करोड ‘डिसएबिलिटी एडजस्टेड लाइफ इयर्स’ (डीएएलवाई) अर्थात् रोग, अशक्तता र समयअगावै मृत्युका कारण गुमेका स्वस्थ जीवन वर्ष पुगेका छन्।
सन् २००० यता विश्वका धेरै क्षेत्रमा इस्केमिक हार्ट डिजिजको भार घटे पनि दक्षिण–पूर्वी एसियासहित केही क्षेत्रमा व्यक्तिगत जोखिम अझै बढिरहेको डब्लूएचओले जनाएको छ। यसले विभिन्न जनसंख्याबीच मुटु स्वास्थ्यमा रहेको असमानता कायमै रहेको देखाउँछ।
मधुमेह र डिमेन्सियाको जोखिम बढ्दो
मधुमेहका कारण मृत्यु हुने जोखिम पनि सन् २००० यता उल्लेख्य रूपमा बढेको छ। दक्षिण–पूर्वी एसियामा यसको वृद्धि अझ बढी देखिएको डब्लूएचओले जनाएको छ।
अल्जाइमर रोग तथा अन्य डिमेन्सियाको समस्या पनि तीव्र रूपमा बढिरहेको छ। सन् २०२३ मा डिमेन्सिया विश्वमा मृत्युको पाँचौँ प्रमुख कारण बनेको थियो। सन् २००० मा यो १९औँ स्थानमा थियो। यस अवधिमा डिमेन्सियाका कारण हुने विश्वव्यापी मृत्यु तीन गुणाले बढेको छ।
मानसिक स्वास्थ्यमा पनि बढ्दो भार
डब्लूएचओका अनुसार सन् २०१९ देखि २०२३ बीच डिप्रेसिभ डिसअर्डरका कारण हुने स्वस्थ जीवन गुमाउने दर करिब २० प्रतिशत र एन्जाइटी डिसअर्डरको दर करिब ४५ प्रतिशतले बढेको छ।
डिप्रेसन र एन्जाइटीका कारण सन् २०२३ मा मात्रै समयअगावै मृत्यु तथा अशक्तताका कारण करिब ११ करोड स्वस्थ जीवन वर्ष गुमेको अनुमान छ।
लागूऔषध प्रयोगसम्बन्धी समस्याले पनि विश्व स्वास्थ्यमा थप भार सिर्जना गरिरहेको छ। सन् २००० देखि २०२३ सम्म अमेरिकासहितको क्षेत्रमा यसको कारण मृत्यु तथा स्वस्थ जीवन गुमाउने जोखिम सबैभन्दा बढी बढेको डब्लूएचओले जनाएको छ।
डब्लूएचओका तथ्यांक तथा विश्लेषण विभागका निर्देशक डा. एलेन ल्याब्रिकका अनुसार मानिस लामो समय बाँच्नु जनस्वास्थ्यको ठूलो उपलब्धि हो। अबको चुनौती भनेको थपिएका ती वर्ष स्वस्थ भएर बाँच्ने अवस्था सुनिश्चित गर्नु र जनसंख्याको बदलिँदो स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीलाई तयार पार्नु हो।
डब्लूएचओको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ ले सन् २००० देखि २०२३ सम्म विभिन्न देश र क्षेत्रमा औसत आयु, मृत्युका कारण र रोगको भारमा आएको परिवर्तनको चित्र प्रस्तुत गरेको छ। यसले स्वास्थ्य नीति र प्राथमिकता निर्धारणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने डब्लूएचओले जनाएको छ।