काठमाडौं — नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनील कुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका सञ्चालक हुन्।
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्। उनले कांग्रेसको शक्ति काठमाडौंमा हुने बैठक र पार्टी कार्यालयमा मात्र नभई गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा तथा प्रत्येक मतदातासँगको सम्बन्धमा रहेको बताएका छन्।
महामन्त्रीका रूपमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने, उनीहरूका समस्या सुन्ने र जनताका मुद्दालाई पार्टीको राजनीतिक एजेन्डा बनाउने संगठन निर्माण गर्ने आफ्नो लक्ष्य रहेको शर्माको भनाइ छ।
“कांग्रेसको शक्ति काठमाडौंका बैठक र पार्टी कार्यालयमा होइन, गाउँको नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा र प्रत्येक मतदातासँगको सम्बन्धमा छ,” शर्माले भनेका छन्।
उनले आफू महामन्त्री बनेमा जनतासँग प्रत्यक्ष संवाद बढाउने र पार्टीको संगठनलाई जनताका दैनिक समस्या तथा सरोकारसँग जोड्ने बताएका छन्।