नेपालमा क्षयरोग (टीबी) अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोग विश्वव्यापी रूपमा संक्रामक रोगबाट हुने मृत्युका प्रमुख कारणहरूमध्ये एक हो। नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरे पनि औषधि प्रतिरोधी क्षयरोग (ड्रग–रेजिस्टेन्ट ट्युबरकुलोसिस : डीआर–टीबी) ले स्वास्थ्य प्रणालीलाई थप चुनौती दिइरहेको छ।
औषधि प्रतिरोधी क्षयरोग भनेको क्षयरोगको उपचारमा प्रयोग हुने फर्स्ट–लाइन एन्टी–टीबी औषधिहरूले काम नगर्ने अवस्था हो। यस्तो रोगको उपचार लामो, जटिल र खर्चिलो हुने भएकाले बिरामी, परिवार तथा स्वास्थ्य प्रणाली सबैका लागि चुनौतीपूर्ण हुन्छ। समयमै पहिचान र उपचार नभएमा यस्ता बिरामीबाट अन्य व्यक्तिहरूमा समेत औषधि प्रतिरोधी क्षयरोग सर्न सक्ने भएकाले यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिइन्छ।
मधेश प्रदेश नेपालमै क्षयरोगको उच्च भार भएको प्रदेश हो। आर्थिक वर्ष २०८१/८२ मा नेपालभर ३८ हजार ६०६ जना औषधि–संवेदनशील क्षयरोग (डीएस–टीबी) का बिरामीहरू पत्ता लागेकोमा ९ हजार ५९६ जना बिरामी मधेश प्रदेशका थिए। यो संख्या राष्ट्रिय कुल बिरामीको करिब एक चौथाइ हो। यसले मधेश प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विशेष प्रयास आवश्यक रहेको स्पष्ट देखाउँछ।
औषधि प्रतिरोधी क्षयरोगको अवस्था झन् चिन्ताजनक छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालभर ४०० जना एमडीआर/आरआर–टीबी बिरामी उपचारमा दर्ता भएकोमा ६४ जना मधेश प्रदेशका थिए। राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्सी सर्भे २०२० अनुसार मधेश प्रदेशमा वार्षिक करिब ३०६ नयाँ डीआर–टीबी बिरामी हुने अनुमान गरिएको छ। तर वास्तविकतामा तीमध्ये केवल ६४ जना मात्र पहिचान भएका छन्। यसले समुदायमा अझै पनि उल्लेखनीय संख्यामा क्षयरोगका बिरामीहरू पहिचान हुन बाँकी रहेको संकेत गर्दछ।
डीआर–टीबी बिरामीहरूको पहिचानका लागि जीन एक्सपर्ट, कल्चर तथा ड्रग ससेप्टिबिलिटी टेस्ट र लाइन प्रोब एसेजस्ता आधुनिक प्रविधिहरू उपलब्ध छन्। तथापि यी सेवाहरूको पहुँच सबै स्थानमा समान रूपमा पुग्न सकेको छैन। भौगोलिक पहुँच, जनचेतनाको कमी, सामाजिक लाञ्छना र भेदभाव, आर्थिक अवस्था तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने कठिनाइले धेरै बिरामी समयमै परीक्षण गराउन नसक्ने अवस्था देखिन्छ।
मधेश प्रदेशमा डीआर–टीबी बिरामीहरूको उपचारका लागि पाँच वटा डीआर–टीबी केन्द्र स्थापना गरिएका छन्। साथै बिरामीहरूको पहुँच अभिवृद्धि गर्न १६ वटा सब–सेन्टर सञ्चालनमा ल्याइएको छ। यी केन्द्रहरूमा उपचार, परामर्श तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ। तर सबै सब–सेन्टरहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा बिरामीहरूले सहज रूपमा सेवा प्राप्त गर्न सकेका छैनन्। फलस्वरूप उपचारमा निरन्तरता कायम राख्न समस्या देखिएको छ।
हालै सम्पन्न आर्थिक वर्ष २०८२/८३ को कोहोर्ट विश्लेषणले थप चिन्ताजनक अवस्था उजागर गरेको छ। चैत मसान्तसम्म उपचारमा दर्ता भएका ६० जना डीआर–टीबी बिरामीमध्ये ५ जनामा पुनःरोग (रिल्याप्स) देखिएको छ भने ३ जना उपचारबाट छुटेका (लस टु फलो–अप) छन्। डीआर–टीबी बिरामी उपचारबाट छुट्नु भनेको व्यक्तिगत स्वास्थ्य जोखिम मात्र नभई समुदायमा थप संक्रमण फैलिने खतरा पनि हो। यसले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको प्रभावकारितामाथि समेत प्रश्न उठाउँछ।
यस्ता चुनौतीहरूको समाधानका लागि सक्रिय बिरामी खोजखोजपडताल कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ। उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ, आधुनिक निदान सेवाको पहुँच विस्तार, समुदायस्तरमा स्वास्थ्य शिक्षा, बिरामी परामर्श तथा उपचार अनुगमनलाई सुदृढ बनाउनुपर्छ। साथै स्थानीय सरकार, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन आवश्यक छ।
विश्वले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको वर्तमान समयमा पनि हामी क्षयरोगजस्तो रोकथाम र उपचार सम्भव भएको रोगबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनौं। विशेषगरी औषधि प्रतिरोधी क्षयरोग नियन्त्रणका लागि समयमै पहिचान, प्रभावकारी उपचार र उपचारमा निरन्तरताको सुनिश्चितता अपरिहार्य छ। “स्वस्थ नेपाली, समृद्ध नेपाल” को लक्ष्य हासिल गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र सम्पूर्ण नागरिक समाजको साझा प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक छ।
औषधि प्रतिरोधी क्षयरोग नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो।
(जनस्वास्थ्य अधिकृत के.सी. मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत छिन्)