यो लेखको सुरुवात आफ्नै एउटा अनुभवबाट गर्दैछु। करिब एक वर्षअघि म नेपाल अर्थोपेडिक अस्पतालमा आफ्नो ड्युटीमा थिएँ।
एक जना बिरामीका आफन्तले ठूलो स्वरमा मलाई भने,
“तिमीहरू सिल्ली हौ!”
“के काम गरेको?”
“डाक्टर कहाँ छ?”
उहाँले लगातार हप्काइरहनुभयो। मैले नरम स्वरमै जवाफ दिएँ, तर उहाँको आवाज अझै चर्किंदै गयो। म जस्ता नर्सहरूका लागि यस्ता दृश्य दैनिकजस्तै थिए। बिरामीको सेवा गर्न सेतो कोट लगाएर उभिएपछि कहिले गाली त कहिले ताली पाउनु हाम्रो पेशाको स्वाभाविक हिस्सा बनिसकेको थियो। यी अपेक्षित हप्काइहरू सहेर फेरि बिरामीकै सेवामा जुट्नु नै हाम्रो धर्म र पेशा थियो।
कहिलेकाहीँ स्वास्थ्यकर्मीमाथि ठूलो स्वरले कराउने, अपमानजनक भाषा प्रयोग गर्ने, औँला ठड्याएर धम्क्याउने वा उपचारकै क्रममा अस्पताललाई रणमैदानजस्तै बनाउने घटना पछिल्ला वर्षहरूमा बढ्दो देखिएका छन्। यस्ता घटना आज हरेक नर्स, चिकित्सक र अस्पतालका कर्मचारीहरूले साझा रूपमा भोग्दै आएको दैनिकीको एक अङ्गजस्तै बन्न थालेका छन्।
केही दिनअघि पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भयो। अस्पताल परिसरमा तोडफोडसमेत गरियो। यस घटनाले देशभर आन्दोलनको रूप लियो। अन्ततः बिहीबार नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन टुङ्गियो।
तर चिकित्सकहरू आफ्नै ज्यानको सुरक्षाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउँदा अत्यावश्यक स्वास्थ्य सेवा नै प्रभावित भयो। फलस्वरूप, नचाहेर पनि हजारौँ बिरामी उपचारबाट वञ्चित हुनुपर्यो। केही क्षणको आक्रोश र त्यसपछिको आन्दोलनले स्वास्थ्य संस्थाहरूले वर्षौँदेखि गरेको मेहनत र विश्वास एकैछिनमा ध्वस्त पार्न सक्छ।
आक्रोशका केही शब्द बोल्न केही सेकेन्ड मात्र लाग्ला। ती शब्दले बोल्ने व्यक्तिलाई क्षणिक सन्तुष्टि पनि दिन सक्छन्। तर त्यही शब्दले स्वास्थ्यकर्मीको मनमा लामो समयसम्म असर छोड्छ। शरीरमा लागेको चोट समयसँगै निको हुन सक्छ, तर आत्मसम्मानमा लागेको घाउ सजिलै भरिँदैन। त्यस्तै, यस्ता घटनाको पीडित बनेका वा प्रत्यक्ष साक्षी रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू त्यसपछि हरेक बिरामीको उपचार गर्नुअघि एकपटक झस्किन बाध्य हुन्छन्। यस्तो मनोवैज्ञानिक त्रासले अन्ततः स्वास्थ्यकर्मी मात्र होइन, सम्पूर्ण स्वास्थ्य सेवा प्रणाली र त्यसमा आश्रित बिरामीहरूलाई पनि असर पुर्याउँछ।
स्वास्थ्यकर्मी पनि आखिर मानिस नै हुन्। उनीहरू पनि कसैका छोरा–छोरी, बुबा–आमा, श्रीमान्–श्रीमती वा परिवारका सदस्य हुन्। सेतो कोट लगाएको व्यक्तिभित्र पनि भावना हुन्छ, थकान हुन्छ, डर हुन्छ र पीडा महसुस गर्ने मन हुन्छ। त्यसैले उपचार गर्ने व्यक्तिलाई अपमान गरेर गुणस्तरीय उपचारको अपेक्षा गर्नु व्यवहारिक हुँदैन।
अस्पताल भनेको जीवन बचाउने ठाउँ हो। यहाँ आउने प्रत्येक बिरामी र उनका आफन्तको एउटै अपेक्षा हुन्छ—गुणस्तरीय उपचार पाउनु र आफ्ना प्रियजनलाई सुरक्षित घर फर्किएको देख्नु। यही अपेक्षा पूरा गर्न चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मी दिनरात आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेर खटिरहेका हुन्छन्। उनीहरू रात–दिन, निद्रा र व्यक्तिगत सुख–दुःखसमेत बिर्सेर सेवा गरिरहेका हुन्छन्। तर विडम्बना, पछिल्ला केही वर्षयता यिनै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, आक्रमण र ज्यानै लिने प्रयाससम्मका घटना भइरहेका छन्। नेपालमा यस्तो प्रवृत्ति वर्षेनि चिन्ताजनक रूपमा बढ्दै गएको देखिन्छ।
यो आक्रमण केवल कुटपिटमा मात्र सीमित छैन। गालीगलौज, धम्की, अपमान, सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास, गलत सूचना फैलाउने, सम्पादन गरिएका भिडियो सार्वजनिक गरेर बदनाम गर्ने, उपचार कक्षमा अनावश्यक भीड गर्ने, अस्पतालका उपकरणमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीलाई निरन्तर मानसिक दबाब दिने जस्ता व्यवहार पनि हिंसाकै रूप हुन्। यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउँछन्। फलस्वरूप, जटिल अवस्थाका बिरामीमा आवश्यक जोखिम उठाएर उपचार गर्नेभन्दा जोखिम लिनै नचाहने वातावरण सिर्जना हुन सक्छ, जसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्छ।
त्यसैले स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई व्यक्तिगत समस्याका रूपमा मात्र लिन सकिँदैन। यो सार्वजनिक स्वास्थ्य, स्वास्थ्य प्रणालीको स्थायित्व र बिरामी सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो। राज्यले पनि यसलाई यही गम्भीरताका साथ हेर्नु आवश्यक छ।
उपचार गर्ने हात नै असुरक्षित भयो भने सुरक्षित उपचारको प्रत्याभूति कसरी हुन सक्छ? यो प्रश्न गम्भीर रूपमा समीक्षा र बहसको विषय बन्नुपर्छ।
किन बढ्दै छ स्वास्थ्यकर्मीमाथिको आक्रमण?
स्वास्थ्यकर्मीमाथि हुने अधिकांश आक्रमणका पछाडि अनेक कारण छन्। यसमा अस्पताल व्यवस्थापन र उपचारमा संलग्न स्वास्थ्यकर्मीले सुधार गर्नुपर्ने पक्षहरू पनि छन् भने स्वास्थ्य प्रणालीका संरचनागत कमजोरीहरू पनि जिम्मेवार छन्।
बिरामीको गम्भीर अवस्था, परिवारको भावनात्मक तनाव, उपचार प्रक्रियाबारे पर्याप्त जानकारीको अभाव, अस्पतालमा हुने अत्यधिक भीड, सीमित जनशक्ति, अपर्याप्त स्रोत–साधन, सेवामा हुने ढिलाइ तथा पूरा हुन नसक्ने अपेक्षाले पनि यस्ता घटना निम्त्याउने गरेका छन्। बिरामीका आफन्त आफ्नो प्रियजनलाई बचाउने आशामा अस्पताल पुग्छन्, त्यसैले उनीहरूको अपेक्षा स्वाभाविक रूपमा उच्च हुन्छ। उता स्वास्थ्यकर्मीको पनि प्रत्येक बिरामीलाई बचाउने इमानदार प्रयास हुन्छ। तर जब अपेक्षा र वास्तविक परिणामबीच दूरी बढ्छ, त्यही क्षण असन्तोषले कहिलेकाहीँ अस्पताललाई रणभूमिजस्तै बनाइदिन्छ।
चिकित्सा विज्ञानले शतप्रतिशत सफलता कहिल्यै सुनिश्चित गर्न सक्दैन। कहिलेकाहीँ सबै उपचार विधि अपनाउँदा पनि बिरामीलाई बचाउन सम्भव हुँदैन। यस्तो वास्तविकतालाई स्वास्थ्यकर्मीले स्पष्ट रूपमा बुझाउन सक्नुपर्छ, र बिरामीका आफन्तले पनि बुझ्ने प्रयास गर्नुपर्छ। दुर्भाग्यवश, यस्ता अवस्थामा केही आफन्तले परिस्थितिलाई स्वीकार्नु वा बुझ्नुको सट्टा सम्पूर्ण दोष स्वास्थ्यकर्मीमाथि थोपर्ने गर्छन्।
सामाजिक सञ्जालले पनि यो समस्या थप जटिल बनाएको छ। कुनै घटना भएको केही मिनेटमै अपुष्ट सूचना, सम्पादन गरिएका भिडियो वा एकपक्षीय आरोपहरू तीव्र रूपमा फैलिन्छन्। अनुसन्धान पूरा नहुँदै स्वास्थ्यकर्मीलाई दोषी करार गर्ने प्रवृत्तिले जनविश्वास कमजोर बनाएको छ। वास्तविक तथ्य सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा हुने ‘जनअदालत’ले स्वास्थ्यकर्मीको प्रतिष्ठा, मानसिक स्वास्थ्य र पारिवारिक जीवनमा समेत गम्भीर असर पुर्याउन सक्छ।
किन बढ्दै छ स्वास्थ्यकर्मीमाथिको आक्रमण?
बिरामीको गम्भीर अवस्था, परिवारको भावनात्मक तनाव, उपचार प्रक्रियाबारे जानकारीको अभाव, अस्पतालको भीड, सीमित जनशक्ति र स्रोत–साधनका कारण यस्ता घटना बढिरहेका छन् । चिकित्सा विज्ञानले शतप्रतिशत सफलता कहिल्यै सुनिश्चित गर्न सक्दैन, तर दुर्भाग्यवश असफलताको दोष स्वास्थ्यकर्मीमाथि थोपरिन्छ । सामाजिक सञ्जालले अझ समस्या जटिल बनाएको छ—पुष्टि नहुँदै भाइरल हुने एकपक्षीय आरोपले जनविश्वास कमजोर बनाउँछ ।
पछिल्लो अनुसन्धानले के देखाउँछ?
स्वास्थ्यकर्मीमाथिको हिंसा नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा बढ्दो सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ। पछिल्ला अनुसन्धानहरूले यसले स्वास्थ्यकर्मीको सुरक्षा, मानसिक स्वास्थ्य, कार्यसम्पादन तथा समग्र स्वास्थ्य प्रणालीमा गम्भीर असर पारिरहेको देखाएका छन्।
नेपालका अनुसन्धानले देखाएका मुख्य तथ्य
Frontiers in Public Health (२०२५)
Violence Against Healthcare Workers in Nepal: A System Dynamics Perspective on a Growing Crisis शीर्षकको अध्ययनअनुसार करिब ५५ प्रतिशत स्वास्थ्यकर्मीले आफू वा आफ्ना सहकर्मीमार्फत स्वास्थ्यकर्मीमाथि हुने हिंसाको प्रत्यक्ष अनुभव गरेको बताएका छन्। अध्ययनले स्वास्थ्यकर्मीमाथिको हिंसा व्यक्तिगत समस्या मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको संरचनागत चुनौती बनिसकेको निष्कर्ष निकालेको छ।
नेपालमा गरिएको Cross-sectional Study (२०२५)
Workplace Violence in Health Care Settings and Adverse Mental Health Outcomes among Health Care Workers of Nepal शीर्षकको अध्ययनमा ४६ प्रतिशत स्वास्थ्यकर्मी कार्यस्थलमा हुने हिंसाबाट प्रभावित भएको उल्लेख गरिएको छ। तीमध्ये ४२.२ प्रतिशत ले मौखिक (Verbal) हिंसा सबैभन्दा बढी भोगेको बताएका छन्। अध्ययनले पुरुष स्वास्थ्यकर्मी, संयुक्त परिवारमा बस्ने तथा अत्यधिक कार्यचापमा रहेका स्वास्थ्यकर्मी बढी जोखिममा रहेको देखाएको छ। साथै, हिंसा भोगेका स्वास्थ्यकर्मीमा डिप्रेसन, चिन्ता र तनावको जोखिम उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ।
नेपालको २० वर्षे राष्ट्रिय समीक्षा (२०२६)
Violence Against Healthcare Workers: A 20-Year National Review from Nepal शीर्षकको अध्ययनअनुसार अधिकांश घटनामा बिरामीका आफन्त (७२.९ प्रतिशत) मुख्य आक्रमणकारी रहेका छन्। शारीरिक आक्रमण करिब ६७.१ प्रतिशत घटनामा भएको छ भने स्वास्थ्य संस्थामा सम्पत्ति तोडफोड ३.४ प्रतिशत घटनामा भएको उल्लेख गरिएको छ। अध्ययनले कमजोर कानुनी कार्यान्वयन, संस्थागत कमजोरी तथा दण्डहीनताको संस्कृतिका कारण स्वास्थ्यकर्मीमाथिको हिंसा बढ्दै गएको निष्कर्ष निकालेको छ।
विश्वको अवस्था
सन् २०२३ मा प्रकाशित विश्वव्यापी Umbrella Review and Meta-analysis अनुसार स्वास्थ्यकर्मीमाथि हुने कार्यस्थल हिंसाको आजीवन (lifetime) प्रचलन ७८.९ प्रतिशत सम्म पुगेको पाइएको छ। विशेषगरी मनोचिकित्सा (Psychiatric) वार्डमा कार्यरत नर्सहरू सबैभन्दा बढी प्रभावित भएको अध्ययनले देखाएको छ। यसले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै एक देशको मात्र समस्या नभई विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा स्थापित भइसकेको पुष्टि गर्छ।
स्वास्थ्यकर्मीमाथिको आक्रमणको असर: केवल व्यक्तिमा होइन, सम्पूर्ण स्वास्थ्य सेवामा
स्वास्थ्यकर्मीमाथि हुने हिंसाको असर तत्काल देखिने शारीरिक चोटभन्दा धेरै गहिरो हुन्छ। यसले मानसिक, व्यावसायिक र सामाजिक जीवनमा दीर्घकालीन प्रभाव पार्छ। कुनै स्वास्थ्यकर्मीले एकपटक भोगेको अपमान, धम्की वा आक्रमणको अनुभव लामो समयसम्म मानसपटलमा रहिरहन्छ। कार्यस्थलमा फर्किने प्रत्येक दिन त्यो त्रास फेरि जाग्छ। परिणामस्वरूप, बिरामीको उपचारमा केन्द्रित हुनुपर्ने स्वास्थ्यकर्मी आफ्नै सुरक्षाको चिन्तामा अल्झिन बाध्य हुन्छ। यस्तो अवस्थाले उपचारको गुणस्तरमा कस्तो असर पर्ला भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यस्ता घटनाले काम गर्ने उत्साह घटाउँछन्, आत्मविश्वास कमजोर बनाउँछन् र प्रत्येक बिरामीसँग काम गर्दा अनावश्यक त्रास महसुस गराउँछन्। बारम्बार अपमान र दुर्व्यवहार सहनुपर्दा धेरै स्वास्थ्यकर्मी मानसिक तनाव, चिन्ता, डिप्रेसन, निद्रा नलाग्ने समस्या, अत्यधिक थकान, आत्मग्लानि तथा भावनात्मक रूपमा थाक्ने अवस्थाबाट गुज्रिन्छन्। उपचार गर्ने व्यक्ति नै मानसिक रूपमा अस्वस्थ र असुरक्षित भएमा त्यसको प्रत्यक्ष असर उपचार सेवामै पर्छ।
कतिपय अवस्थामा उनीहरू आफ्नो पेशाप्रति नै वितृष्णा महसुस गर्न थाल्छन्। आफूले सक्दो प्रयास गर्दा पनि सम्मानको सट्टा गाली र धम्की पाइरहँदा, “के मैले यही पेशा रोज्नु ठीक थियो?” भन्ने प्रश्नसमेत मनमा उठ्न सक्छ।
स्वास्थ्यकर्मी निरन्तर डरको वातावरणमा काम गर्न बाध्य हुँदा त्यसको प्रत्यक्ष असर उपचार सेवाको गुणस्तरमा पर्छ। निर्णय लिन हिच्किचाउने, आवश्यक जोखिम लिन नचाहने, बिरामीसँग खुलेर संवाद गर्न डराउने तथा हरेक निर्णयपछि आरोप लाग्ने चिन्ताले उपचार प्रक्रिया प्रभावित हुन सक्छ। यसको अन्तिम असर बिरामीमै पुग्छ।
विशेषगरी आकस्मिक कक्ष, सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष, प्रसूति सेवा तथा अत्यधिक भीड हुने वार्डहरूमा कार्यरत स्वास्थ्यकर्मी बढी जोखिममा हुन्छन्। यी स्थानमा बिरामीको अवस्था जटिल हुने भएकाले आफन्तको तनाव पनि स्वाभाविक रूपमा बढी हुन्छ।
स्वास्थ्यकर्मीमाथिको हिंसाले एउटा व्यक्तिलाई मात्र होइन, सम्पूर्ण स्वास्थ्य संस्थालाई असर गर्छ। यसले अस्पतालभित्रको कार्य वातावरण बिगार्छ, सहकर्मीहरूमा असुरक्षाको भावना फैलाउँछ र नयाँ पुस्ताका स्वास्थ्यकर्मीलाई समेत निरुत्साहित बनाउँछ। सुरक्षित वातावरण नहुँदा दक्ष जनशक्ति सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट पलायन हुने सम्भावना बढ्छ। यसको दीर्घकालीन असर अन्ततः सम्पूर्ण स्वास्थ्य प्रणालीले भोग्नुपर्छ।
विभिन्न अध्ययनहरूले स्वास्थ्यकर्मीमाथिको हिंसाले मानसिक तनाव बढ्ने, कामप्रतिको सन्तुष्टि घट्ने, पेशा छोड्ने इच्छा बढ्ने, उपचारमा त्रुटिको जोखिम बढ्ने तथा बिरामी सुरक्षामा नकारात्मक प्रभाव पर्ने देखाएका छन्। त्यसैले स्वास्थ्यकर्मीको सुरक्षा केवल उनीहरूको व्यक्तिगत अधिकार मात्र होइन, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आधार पनि हो।
हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—स्वास्थ्यकर्मी पनि आखिर मानिस नै हुन्। उनीहरू कुनै चमत्कार गर्ने पात्र होइनन्। आफ्नो ज्ञान, सीप, अनुभव र उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरेर बिरामीलाई बचाउने प्रयास गर्नु नै उनीहरूको दायित्व हो। उपचार सफल हुँदा सबै खुसी हुन्छन्, तर उपचार सफल हुन नसकेको प्रत्येक क्षण स्वास्थ्यकर्मी स्वयं पनि पीडित हुन्छन्। त्यसैले दुःखको घडीमा दोषारोपण र आक्रमण होइन, संयम, संवाद र पारस्परिक सम्मानको आवश्यकता हुन्छ।
समाधानको बाटो
स्वास्थ्यकर्मीमाथि हुने हिंसा रोक्न घटना भएपछि दोषीलाई कारबाही गर्नु मात्र पर्याप्त हुँदैन। यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रोकथामका उपाय आवश्यक छन्। यसका लागि सरकार, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिक सबैको साझा जिम्मेवारी हुन्छ।
सुरक्षित स्वास्थ्य सेवा वातावरण निर्माण गर्न सबै पक्षबीच समन्वय, विश्वास र पारस्परिक सम्मान आवश्यक छ। साथै, विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण छ। नेपालमा **‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन’** ले स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, उपचारमा अवरोध, अस्पताल तोडफोड तथा स्वास्थ्य सेवा प्रभावित गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ।
ऐनअनुसार स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्यबाट हानि–नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट वा शारीरिक चोट पुर्याउने व्यक्तिलाई **तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय** हुने व्यवस्था छ। यस्तै, गम्भीर प्रकृतिका घटनामा पुर्पक्षका लागि थुनामा राख्ने कानुनी व्यवस्था पनि गरिएको छ।
त्यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्न, उपचारमा अवरोध पुर्याउन, स्वास्थ्यकर्मीलाई हातपात गर्न, धम्की दिन, गालीगलौज गर्न वा अभद्र तथा अपमानजनक व्यवहार गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ। यस्तो कसुर गरेमा **एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय** हुन सक्छ।
तर कानुन हुनु मात्र पर्याप्त हुँदैन। प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण हुन्छ। प्रत्येक घटनामा निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडित स्वास्थ्यकर्मीलाई न्याय सुनिश्चित गर्न सकिए मात्र कानुनप्रति विश्वास बढ्छ र स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवामा समर्पित हुन सक्छन्।
यस्ता घटनामा अस्पताल प्रशासनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। कुनै घटना हुँदा स्वास्थ्यकर्मीलाई एक्लै छोड्ने होइन, संस्थाले नै उनीहरूको सुरक्षा र मनोबलको जिम्मेवारी लिनुपर्छ। अस्पतालमा पर्याप्त सुरक्षा व्यवस्था, प्रवेश नियन्त्रण, जोखिमयुक्त क्षेत्रमा निगरानी क्यामेरा, आकस्मिक अवस्थाका लागि स्पष्ट कार्यविधि तथा हिंसापछि मनोसामाजिक परामर्शको व्यवस्था आवश्यक छ। साथै, बिरामी र उनका आफन्तलाई उपचार प्रक्रिया, सम्भावित जोखिम तथा उपचारका सीमाबारे समयमै सरल भाषामा जानकारी दिन सके धेरै गलतफहमी कम गर्न सकिन्छ।
स्वास्थ्यकर्मीले पनि बिरामी र उनका परिवारसँग सम्मानजनक, धैर्यपूर्ण र स्पष्ट संवाद गर्नुपर्छ। बिरामीको अवस्था, उपचारको प्रगति तथा सम्भावित परिणामबारे समयमै जानकारी दिँदा विश्वासको वातावरण निर्माण हुन्छ। राम्रो संवादले धेरै विवाद सुरुमै समाधान गर्न सहयोग पुर्याउँछ। यद्यपि, राम्रो संवाद हुँदाहुँदै पनि हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन।
सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका पनि अत्यन्त संवेदनशील छ। कुनै घटना घट्नेबित्तिकै आधिकारिक पुष्टि नहुँदै एकपक्षीय समाचार, अपुष्ट भिडियो वा भ्रामक सूचना सार्वजनिक गर्दा जनमानसमा गलत धारणा बन्न सक्छ। त्यसैले तथ्य पुष्टि नगरी समाचार वा सामग्री सार्वजनिक नगर्नु सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको नैतिक जिम्मेवारी हो। सत्य तथ्य बाहिर आउनुअघि कसैलाई दोषी वा निर्दोष घोषणा गर्नु न्यायको सिद्धान्तविपरीत हुन्छ।
विश्वका धेरै देशले स्वास्थ्यकर्मीमाथिको हिंसाप्रति ‘शून्य सहनशीलता’ (Zero Tolerance)को नीति अपनाएका छन्। स्वास्थ्य संस्थामा हिंसा गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने, अस्पतालभित्र सुरक्षा प्रणाली सुदृढ बनाउने, स्वास्थ्यकर्मीलाई हिंसाको जोखिम व्यवस्थापनसम्बन्धी तालिम दिने तथा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभ्यास प्रभावकारी मानिएको छ। नेपालले पनि यस्ता सफल अभ्यासबाट सिकेर आफ्नो स्वास्थ्य प्रणालीलाई अझ सुरक्षित बनाउन आवश्यक छ।
नेपालमा भएका अध्ययनहरूले पनि स्वास्थ्यकर्मीमाथिको हिंसा व्यक्तिगत घटना मात्र नभई संस्थागत कमजोरी, अपर्याप्त सुरक्षा व्यवस्था र कानुनी कार्यान्वयनको कमजोरीसँग जोडिएको गम्भीर समस्या भएको औँल्याएका छन्। अनुसन्धानहरूले सरकार, अस्पताल प्रशासन, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय गरेर मात्र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिने निष्कर्ष निकालेका छन्। साथै, सन् २०२५ मा नेपालमा गरिएको एक अध्ययनले कार्यस्थलमा हुने हिंसा स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्यका लागि गम्भीर जोखिम बन्दै गएको उल्लेख गरेको छ।
अन्ततः स्वास्थ्यकर्मीको सुरक्षा भनेको केवल एउटा पेशागत समूहको सुरक्षा होइन, प्रत्येक नागरिकको सुरक्षित उपचार पाउने अधिकारको सुरक्षा पनि हो। आज उपचार गर्ने व्यक्तिमाथि हिंसा भयो भने भोलि उपचार खोज्ने प्रत्येक नागरिक त्यसको असरबाट अछुतो रहन सक्दैन। त्यसैले सम्मान, संवाद, विश्वास र कानुनी उत्तरदायित्वलाई सँगसँगै अघि बढाउन सके मात्र स्वास्थ्य संस्था सबैका लागि सुरक्षित, विश्वासिलो र प्रभावकारी बन्न सक्छ।