काठमाडौं– अस्पतालको ओपिडी सेवा कक्षमा एक जना चिकित्सक कुर्सीमा छन्। अर्को कुर्सीमा उनको प्लास्टर गरिएको खुट्टा छ भने तेस्रो कुर्सीमा बिरामी छन्। उपचारका लागि आएका बिरामी डाक्टरको प्लास्टर गरिएको खुट्टातिर हेर्दैछन् भने चिकित्सक प्रेस्क्रिप्सनमा औषधि लेख्दैछन्।
यो तस्बिरमा देखिएका चिकित्सक हुन्- इन्द्रायणी नगर अस्पतालका डा. गौरव पौडेल। डा. पौडेल शङ्खरापुर नगरपालिकाअन्तर्गत सञ्चालित इन्द्रायणी नगर अस्पतालका ९औँ तहका एमडीजीपी चिकित्सक हुन्। उनी त्यहाँ करार सेवामा कार्यरत छन्। उनी उक्त अस्पतालमा काम गर्न थालेको डेढ वर्ष भयो।
गत जेठ ३० गते घरमै रहेका बेला लडेर उनको खुट्टा भाँचियो। उनले केही दिन अस्पताल भर्ना भएर उपचार गराए भने दुई साता घरमै 'बेडरेस्ट'मा बसे।
चिकित्सकले कम्तीमा साढे दुई महिना हिँडडुल नगरी आराम गर्न सुझाव दिएका छन्। तर, अस्पतालबाट प्रवाह हुने सेवा प्रभावित नहोस् भनेर उनी कहिले ह्विलचियर त कहिले वैशाखीको सहारामा अस्पताल पुगेर बिरामीको सेवामा खटिए।
चिकित्सकको सुझावअनुसार अझै उनले खुट्टालाई आराम दिनुपर्ने थियो, तर उनले थप बिरामी बिदा पाएनन्। उल्टै बिरामी भएर बसेको भन्दै तलबसमेत काटेर आयो।
'पर्याप्त बिरामी बिदा बस्न पाइनँ, वैशाखी टेकेरै बिरामीको सेवामा खटिएँ,' उनले भने, 'असारको तलब अग्रिम आयो, तर बिरामी भएर बसेको दिनको तलब काटियो।'